४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिद्धबाबाको पक्षमा भएको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको पक्षमा जिल्ला अदालत सुनसरीले गरेको फैसलाविरुद्ध फेरि उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ। गिरीलाई जिल्ला अदालत सुनसरीले पछिल्लो समय भदौ २७ मा सफाइ दिने फैसला गरेको थियो।

सिद्धबाबा गिरीलाई अभियोग दाबी नपुग्ने भन्दै पछिल्लो समय सुनसरीका जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाले सफाइ दिने ठहर गरेका थिए। तर जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले अदालतले गरेको फैसलाको खण्डनसहित सुरुवात चरणमा माग दाबी गरेअनुसार नै उच्च अदालतमा पुनरावेदन दर्ता गरेको सहायक जिल्ला न्यायाधिवक्ता सूचना अधिकारी कृष्णप्रसाद रिमालले बताए। उनका अनुसार ७० दिनभित्र पुनरावेदन गर्नुपर्ने नियम रहेकोमा त्यसअनुसार समयमै दर्ता गरिएको हो।

उच्च अदालत विराटनगरका सूचना अधिकारी निधिराम दाहालका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले पठाएको पुनरावेदन दर्ता भइसकेको र सुरु मिसिल झिकाउने प्रक्रिया अघि बढाइएको बताए। उनका अनुसार मिसिल झिकाएपछि त्यसबारे थप प्रक्रिया अगाडि बढाइने छ।

गिरीलाई २०७७ साल मंसिर २२ मा पनि तत्कालीन सुनसरीका मुख्य जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सफाइ दिने फैसला गरेका थिए। त्यतिबेला पनि उच्च अदालत विराटनगरमा फैसलाविरुद्ध पुनरावेदन गरिएको थियो। त्यतिबेला अर्थात् २०७७ साल मंसिर २२ मा जिल्ला सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै निवेदन दिएको थियो। तर आरोपित पक्षको मात्र बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा फैसला गरेको भन्दै उच्च अदालतमा पुनरावेदन गरेको थियो।

उच्च अदालतले गिरीको जिल्ला अदालतले गरेको फैसला उल्टाएर फेरि निर्णय लिन जिल्ला अदालतमा पठाएको थियो। त्यसपछि फेरि जिल्ला अदालतले आवश्यक प्रमाण जुटाउँदा पनि नपुगेको भन्दै पछिल्लो भदौ २७ मा सफाइ दिने फैसला गरेको थियो।

गिरीले आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको घटनामा सुरुमा २०७६ कात्तिकमा काठमाडौं प्रहरीपरिसरमा उजुरी परेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइभी) ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको थियो। प्रहरीले कृष्णदासलाई पक्राउ गरेर अनुसन्धान थाले पनि बिरामी भएको बहाना गरेर विराट नर्सिङहोम विराटनगरमा भर्ना भएका थिए ।

उनी अस्पतालमै भएका बेला तत्कालीन जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । त्यस आदेशउपर पनि जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो, जसमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले कृष्णदासलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

उच्च अदालतले गर्ने आदेशकै दिन उनी आफ्नो सुरक्षा गार्डलाई जोगबनीछेउमा छाडेर भारत भागेका थिए। पछि अदालतमा हाजिर भएर क्षेत्रीय कारागार झुम्कामा चलान गरिएको थियो। कारागारमा केही समय बसेर उनी छुटे पनि मुद्दाको टुंगो भने लागेको थिएन। तर भदौ २७ को फैसलाबाट उनले सफाइ पाएका थिए।

प्रकाशित: २९ मंसिर २०८० ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App