१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन: विवरण सङ्कलन जारी:

जाजरकोट भूकम्प

गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ। जिल्लाका छवै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो।

प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए।

उनका अनुसार लाभग्राहीको विवरण सङ्कलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ।

हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्न  प्रतिघर २५ हजारका दरले ४३ करोड ७५ लाख रूपैयाँ रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ।

अब सङ्घीय सरकारले पठाएको ५० करोडमा छ करोड २५ लाख रूपैयाँ रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले बताए।

“पच्चीस हजार लाभग्राहीको प्रहरी मुचुल्का तयार भइसकेको छ, विवरण सङ्कलनको काम केही ठाउँमा बाँकी रहेकाले पाँच हजार लाभग्राही थपिने अनुमान हामीले गरेका छौँ, सङ्घीय सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको ५० करोड रकमले नपुग्ने देखिएपछि  ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौँ”, उनले भने।

घर क्षति भएका लाभग्राहीको विवरण सङ्कलनको काम एक महिना बढी हुँदा पनि अझै पूर्ण विवरण आएको छ। सबै पालिकाबाट लाभग्राहीको विवरण आउन अझै तीनचार दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भूकम्पले बढी मानवीयसँगै भौतिक संरचनामा ठूुलो क्षति पुर्‍याएको आठबीसकोट नगरपालिकाको भने अस्थायी आवास निर्माण गर्नुपर्ने क्षतिको पूर्ण विवरण आएको छ। नगरपालिकाभर नै हजार नौ सय ६२ लाभग्राही यकिन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए।

उनका अनुसार तीमध्ये साढे चार हजार लागग्राहीको रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा जम्मा भएको छ।

केही लाभग्राहीको खातामा रकम गइसके पनि केही लाभग्राहीको खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ। आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडित परिवारको गुनासो छ।

आठबीसकोट नगरपालिकामा यकिन भएका लाभग्राहीमध्ये पाँच हजार चार सय ६२ जनाको भने पहिलो किस्तावापतको रकम आउन बाँकी रहेको शाहले बताए।

कति भूकम्पपीडितका अस्थायी आवास बने कतिका बन्न बाँकी छन्। त्यसको विवरण स्थानीय तहले सङ्कलन गरेका छैनन्। चौरजहारी नगरपालिकाले भने हालसम्म आठवटा अस्थायी आवास निर्माण भएर पीडित परिवार बस्न थालेको जनाएको छ।

नगरपालिकाभित्र चार सय ३५ अस्थायी आवास निर्माणको अन्तिम चरणमा पुगेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीकय अधिकृत शेरप्रसाद ढकालले बताए।

उनका अनुसार अन्य लाभग्राही पनि स्थानीय कच्चा पदार्थ, काठ, बाँस लगायत जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण जुटेका छन्।

नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राहीका लागि विपद् जोखिम न्यूनीकरण कोषमा पहिलो किस्ताबापतको २५ हजारका दरले १५ करोड ६९ लाख ७५ हजार रूपैयाँ रकम प्राप्त भएको छ। त्यसमध्ये बैंकमा खाता खोलेका साढे सात सय लाभग्राहीको खातामा रकम पठाएको छ। बाँकी लाभग्राहीको पनि खाता सञ्चालन भएमा तत्काल रकम पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए।

लाभग्राहीको विरण सङ्कलनको काम नसकिएकाले अझै नगरपालिकामा आठ सय लाभग्राही थपिने नगरपालिकाले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८० ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App