८ असार २०८१ शनिबार
image/svg+xml
समाज

विकास गाउँमा बसाइँ भने शहरमा

घोराही उपमहानगरपालिका-९ कि ८३ वर्षीया सुमित्रा शर्मालाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। सामान्य हिंडडुल गर्नसक्ने उनलाई घरको आँगन पनि परदेश हुन थालेको छ।

दिनभरि घरमा एक्लै बस्दा दिन काट्न मुस्किल हुने गरेको र दुःखसुखका कुरा गर्ने छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेकाले  सुमित्राले एक्लो महसुस गरेकी हुन्। अब गाउँमा मान्छे नै नहुने हो कि भन्ने चिन्ता उनलाई छ।

अहिले दिनप्रति दिन गाउँ छोड्नेको सख्या बढ्दो छ आफू सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँबाट बसाइँ सरेका छन्।

पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीयवासी दुःख गरेर पनि गाउँमै बस्थे। अहिले गाउँका टोलटोलमा विकास पुगे पनि मान्छे भने छैनन्।

गाउँका घर रित्तिएर सुनसान बन्दै गएका छन्। खेतीयोग्य जमिन झाडीले ढाकिन थालेका छन्। दशक अगाडिसम्म निकै रमाइलो रहेका गाउँ अहिले बसाइँसराइका कारण चहलपहल हुनै छोडेको छ।

पहिले गाउँमा बिजुली, पानी बाटोघाटोको सुविधा थिएन। अहिले घरघरमा पानीका धारा छन् आँगनीको बाटो कालोपत्रे गरेर चिल्लो भएका छन्। गाउँमा अहिले विकासले गति लिंदै गएको छ तर उपभोग गर्ने स्थानीय बासिन्दा भने थप सेवासुविधा खोज्दै गाउँ छोडेर शहर पसेका छन्।

गाउँमा एकै परिवारले प्रशस्त गाईवस्तु पाले  खेती किसानी गर्ने गर्थे। आवश्यक सामान लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटेको छ। तीन पाङ्ग्रे अटोरिक्सा गाउँका घरघरमा पुग्ने गरे पनि स्थानीयवासी महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको सुमित्रा बताउँछिन्।

उनी भन्छिन्, “हाम्रा पालामा अहिलेको जस्तो खानेपानी, विद्युत् र यातायातको सहज पहुँच नभए पनि गाउँमा मान्छेको बसाइ बाक्लो थियो। अहिले सुविधा भएर पनि बसाइसराइ गर्ने क्रम बढेको छ।”

स्थानीय ६८ वर्षीय पूर्णबहादुर बस्नेत सुविधा खोज्नका लागि युवा शहर पसेपछि परिवार पनि उतै लैजाने गरेको बताउँछन्। विदेशमा रोजगारमा रहेका अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै बसाइ सर्ने गरेका हुन्। पछिल्लो दस वर्षमा यहाँका अधिकांश गाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको उनी बताउँछन्।

बस्नेत भन्छन्, “पहिले युवा गाउँमा खेतीपाती र गाउँमै कामधन्दा गर्ने गर्थे, पछिल्लो समय विदेश जान थाले, पैसा कमाउन थाले त्यसले गर्दा उनीहरूलाई गाउँभन्दा शहर बजार मन पर्न थाल्यो, कमाएको पैसाले बजारमै घर बनाएर बस्न थाले त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी नागरिकको मागलाई मध्यनजर गरी सडक निमार्णका लागि महत्व दिएको बताउँछन्।

सडक सञ्जाल नपुगेको स्थानमा नयाँ ट्रयाक खोल्नेदेखि कालोपत्र गरेर सडक सुविधा पुराउने काम गरिएको छ।

सडकसँग मानिसको जीवनशैली पनि जोडिएको छ। सडकको पहुँच भएका ठाउँका मानिसको बसाइँसराइ बढेको पनि छ। यसरी जिल्ला बाहिर र भित्रबाट पनि सुविधा भएका ठाउँमा बसाइँसराइ गर्ने क्रम बढेको उनी उल्लेख गर्छन्।

“जनताको माग पनि सडकको विकासमै हुने गरेको र उपमहानगरपालिकाले पनि सडकको स्तरोन्नतिमै जोड दिइरहेको छ,” नगरप्रमुख चौधरी भन्छन्,“सडकले गाउँको विकास र अर्थतन्त्रमा टेवा पुगेको छ। सडकले गाउँ र सहरलाई जोडेको छ।”

राष्ट्रिय जनगणना-२०७८ अनुसार दाङ जिल्लाको जनसङ्ख्या छ लाख ७४ हजार नौ सय ९३ छ।

यसमा ५२ दशमलव ४० प्रतिशत अर्थात् तीन लाख ५४ हजार तीन सय ७६ महिला र ४७ दशमलव ५९ प्रतिशत अर्थात् तीन लाख २१ हजार नौ सय एक पुरुष छन्। कूल जनसङ्ख्यामध्ये एक लाख २७ हजार नौ सय ७३ जना अन्य जिल्लाबाट बसाइँसराइ गरी आएका हुन्।

यसैगरी ६४ हजार तीन सय ७५ जना जिल्लाभित्रै एक पालिकाबाट अर्काे पालिकामा बसाइँसराइ गरेका छन्। यो जिल्लाको कूल जनसङ्ख्याको नौ दशमलव पाँच प्रतिशत हो।  

प्रकाशित: २२ मंसिर २०८० ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App