मन्डला नाटकघर थापागाउँमा भानु बोखिमकाे निर्देशन र मच्छेदेवी गुरुङको सहनिर्देशनमा तयार भएकाे वृत्तचित्र ‘मुक्कुमलुङहरू’ प्रदर्शन भएकाे छ।
कार्यक्रममा लेखक, साहित्यकार तथा आदिवासी अभियन्ताहरूले वृत्तचित्रको विषयवस्तु र यसको महत्त्वबारे धारणा राखेका थिए। एक घन्टा जति लामो यस वृत्तचित्रले ‘मुक्कुमलुङ’ को धार्मिक, सांस्कृतिक महत्त्वसँगै त्यसमाथि आदिवासी समुदायको ऐतिहासिक अपनत्व उजागर गरेको छ।
वृत्तचित्रमा केबलकार निर्माणका कारण जीवजन्तु, वनस्पति तथा समग्र पर्यावरणमा पर्न सक्ने प्रभावका साथै यस विषयमा सरकारको भूमिकाप्रति उठाइएका प्रश्नहरू पनि समेटिएको छ। साथै मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत विभिन्न व्यक्तिहरूका आवाज दस्तावेजीकरण गरिएको छ।
लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ‘यसले दमित भाषा, संस्कृति र इतिहास बोकेको समुदायको आन्दोलनको कथा बोलेको’ बताए।
त्यस्तै, किरात राई यायोख्याका उपाध्यक्ष युवराज राईले संविधानमा आदिवासीअधिकारका विषय समेटिए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए। ‘संविधानमा सकारात्मक प्रावधान धेरै छन् तर व्यवहारमा आदिवासीहरूको हित सुनिश्चित हुन सकेको छैन,’ उनले भने।
किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले दस्तावेजीकरणलाई आन्दोलनको महत्त्वपूर्ण प्रमाणका रूपमा उल्लेख गर्दै यस्ता प्रमाणहरूले संरक्षणविरोधी सोच परिवर्तन गर्न सक्ने सम्भावना औंल्याए।
उक्त वृत्तचित्र रविनकुमार नाल्वो र जीवनप्रकाश शेर्माले निर्माण गरेका हुन्। यसमा पाथिभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबलकार र त्यसविरुद्ध भइरहेको आन्दोलन समेटिएको छ।
प्रकाशित: १५ माघ २०८२ १२:३८ बिहीबार





