१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बाक्लो हिमपातले मुस्ताङ र मनाङमा सकस

कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध

हिमाली जिल्ला मुस्ताङमा परेको हिमपात। तस्बिरः नागरिक

सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा यो वर्षकै पहिलो पटक हिमपात भएको प्रहरीले बताएको छ। मुस्ताङको माथिल्लो भेगमा एक फिटसम्मको बाक्लो हिउँ परेको छ। हिमपातले ती जिल्लामा चिसो पनि बढेको छ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार सोमबार बिहानैदेखि हिउँ पर्न थालेको हो। बाक्लो हिउँ परेका कारण कागबेनी–मुक्तिनाथ सडक समेत अवरुद्ध भएको छ। कागेबेनीदेखि मुक्तिनाथ उक्लिो बाटोको सेल्फीडाँडा क्षेत्रमा हिमपातका कारण सडक अवरुद्ध भएको डिएसपी पाण्डेले बताए।

‘मुक्तिनाथ–कागबेनी सडक अवरुद्ध भएको छ। खुलाउने प्रयास भइरहेको छ। त्यो खण्डमा कालोपत्रे सडक रहेको र हिउँमा चिप्लिएर गाडी गुड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सडक खुलाउन सहजीकरण गर्नका लागि प्रहरीको टिम नै खटिएको छ।’ 

उनका अनुसार सोमबार बिहान ६ बजेदेखि परेको हिमपात अझै रोकिएको छैन। चिसो पनि अधिक नै बढेको छ।

डिएसपी पाण्डेका अनुसार मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ। सदरमुकाम जोमसोम भन्दा तलको भेगमा भने खासै हिउँ परेको छैन। त्यस्तै माथिल्लो भेग लोमान्थाङ क्षेत्रमा पनि एकफिट बाक्लोसम्म हिउँ परेको उनले बताए। 

‘माथिल्लो क्षेत्रमा त झनै बाक्लो हिउँ परेको छ,’ उनले भने। उनका अनुसार हिमपात भएपछि तापक्रम पनि निकै नै घटेको छ। सदरमुकाम जोमसोम क्षेत्रको तापक्रम माइनस ४ मा झरेको छ। त्यसैगरि पोखरा–जोमसोम उडान पनि प्रभावित भएको छ। दुईवटा उडान तालिका भएपनि सोमबार एउटा मात्र उडान भएको छ। मौसम बिग्रेपछि एक उडान रोकिएको छ।

‘डाँडाभरि सेताम्य हिउँ परेको छ, डाँडाकाँडा सेताम्य भएका छन्। तल्लो भेगमा हिमपातले खासै असर नपरे पनि माथिल्लो भेगमा भने जनजीवन प्रभावित भएको छ,’ उनले भने, ‘हिमपात भएपनि सदरमुकाम जोमसोमदेखि तल भने गाडी पनि नियमित चलिरहेका छन्।’

त्यस्तै अर्को हिमाली जिल्ला मनाङमा पनि हिमपात भएको प्रहरीले बताएको छ। मनाङका प्रहरी निरीक्षक विजय तिमिल्सेनाका अनुसार सदरमुकाम चामेमा केही र माथिल्लो भेगमा हिमपात बढी छ। माथिल्लो मनाङ क्षेत्रमा झनै बाक्लो हिमपात भएको उनले बताए। 

‘सदरमुकाम क्षेत्रमा ६/७ इन्चसम्म हिमपात भएको छ। चिसो पनि बढेको छ,’ उनले भने।

प्रकाशित: १८ मंसिर २०८० ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App