२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा विदेशी पदयात्री बढ्न थालेका छन्।

भूकम्प, कोरोना महामारी लगायत कारणले सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा यो याममा भएको विदेशी पदयात्रीको आगमनले उत्साह थपिएको हो। पदयात्राको याम सुरु भएसँगै विभिन्न समूहमा विदेशी पदयात्रीको टोली यस क्षेत्रमा पदयात्रा गरिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए।

“यो याम सुरु भएयता विभिन्न समूहमा विदेशी पदयात्री यो पदमार्गमा आइरहेका छन्”, उनले भने, “विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको चाप पनि बढिरहेको छ।”

समितिले यसअघि सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिंडाउने लक्ष्यका साथ काम थालेकामा कोरोना महामारीको प्रभावका कारण त्यसयता पर्यटकको आगमन हुन सकेको थिएन। तत्कालीन समयमा नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल-२०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेकामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माण लगायत काममा सक्रियता देखाएको थियो।

सहस्राब्दी पदमार्गको समग्र विकास एवं प्रवर्द्धनलाई लक्षित गरी बृहत् गुरुयोजना अनुसार काम अघि बढाइएको बताउँदै महासचिव गुरुङले गुरुयोजना अनुसार पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीको संरक्षण र उपयोग जोड दिइएको बताए।

समितिले पदयात्रा पर्यटनको विकासका लागि पहिचान गरिएका क्षेत्र सुनिश्चित गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य लिएको छ।

पदमार्ग क्षेत्रमा पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा होमस्टे लगायत पूर्वाधारमा पनि स्थानीयले लगानी बढाइरहेको मिलेनियम भैंसेगौँडा सामुदायिक घरबासका अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए।

पदमार्ग क्षेत्रमा विभिन्न १७ वटा होमस्टे सञ्चालनमा रहेका बताउँदै उनले पर्यटकको आगमनले होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ भएको बताए। यस पदमार्ग क्षेत्रमा मिलेनियम भैंसेगौँडा सामुदायिक होमस्टेसहित वालिङ नगरपालिका-३ स्थित सिङ्गारकोट, बुढाकोट र राम्चे, वडा नं ४ स्थित गहते मनकामना, सुन्तलाबारी, भिरकोट नगरपालिका-५ स्थित केघा, शुक्लागण्डकी-१० स्थित रजस्थल, वडा १२ स्थित घरेडीमा घरबास सञ्चालनमा छन्।

त्यसैगरी, स्याङ्जाको पुतलीबजार नगरपालिका-७ स्थित सादीखोला, वडा ११ स्थित राईपुर, वडा १२ का चन्द्रकोट र डाँडागाउँलगायत स्थानमा घरबास सञ्चालनमा आइसकेका कारण पदयात्री र पर्यटकलाई खानबस्नको कुनै असुविधा नहुने मिलेनियम भैंसेगौँडा सामुदायिक घरबासका अध्यक्ष बालकुमार गुरुङले बताए।

मिलेनियम ट्रेकको प्रवद्र्धनलाई नेपाल पर्यटन बोर्डले पनि प्राथमिकतामा राखेको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोखरेलले बताए।

बोर्डको सहयोगमा पदमार्ग क्षेत्रका विभिन्न स्थानमा गन्तव्य ३५ वटा सङ्केत पाटी राखिएका छन्। पर्यटन बोर्डले चालु आर्थिक वर्षमा यस पदमार्गको प्रव का लागि १० लाख रुपैयाँ र पूर्वाधार विकासमा ५० लाख रुपैयाँ छुट्याएको महासचिव गुरुङले बताए।

पर्यटन पूर्वाधार विकासका लागि गण्डकीको प्रदेश पर्यटन मन्त्रालयले २० लाख रुपैयाँ छुट्याएको उनले बताए।

पदमार्ग अन्तर्गतका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिनु यहाँको विशेषता हो। यो पदमार्गमा विश्वका कुनै स्थानमा नपाइने तर नेपालमा मात्र पाइने काँडे भ्याकुर पर्याप्त मात्रामा देख्न सकिन्छ।

लोपोन्मुख प्रजातिका गिद्ध लगायत धेरै प्रजातिका चरासमेत अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए।

पदमार्ग क्षेत्रअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा जङ्गल पर्ने भएकाले वन, वन्यजन्तु चराचुरुङ्गी अवलोकनका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य बनेको छ। पछिल्लो समयमा पदमार्ग क्षेत्रमा वन र वन्यजन्तुको अवलोकन, अध्ययन अनुसन्धानका लागि पनि अध्येताहरू आउने गरेका छन्।

पदमार्ग क्षेत्रअन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका-२ स्थित भैंसेगौंडामा ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले वन्यजन्तु अनुसन्धान तालिम समेत सञ्चालन गर्दै आएको संस्थाका निर्देशक राजु आचार्यले बताए।

उनका अनुसार वन्यजन्तु अनुसन्धान तालिमका क्रममा यस स्थानमा एक सय ७४ प्रजातिका चरा, ५७  प्रजातिका पुतली र १४ प्रजातिका स्तनधारी प्राणी फेला परेका छन्। यस स्थललाई वनस्पति एवं वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा विकास गर्न सकिने उनले बताए।

तालिममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधि लगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उनले बताए। पर्यावरण लगायत वन्यजन्तु र वातावरण सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यस क्षेत्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने देखिएको उनले बताए।

प्रकाशित: १५ मंसिर २०८० ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App