१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

हात्ती धपाउने क्रममा एकजनाको मृत्यु

बस्तीमा पसेको हात्ती धपाउँदा एकजनाको मृत्यु भएको छ। जङ्गली हात्तीको आक्रमणबाट इटहरी वडा नं. २ का २५ वर्षीय रविन खड्काको मृत्यु भएको हो। 

बस्तीमा २० देखि २५ वटाको समूहमा हात्ती प्रवेश गरेपछि बुधवार हात्ती धपाउने क्रममा उनको मृत्यु भएको बताइएको छ।

‘वस्तीमा हात्ती प्रवेश गरेपछि धपाउने क्रममा गाउँले जुटेछन्, त्यसरी हात्ती धपाएपछि पर पुगेको एउटा हात्ती फेरि फर्किएर रविनलाई आक्रमण गरेको खुलेको हो,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले भने, ‘हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका रविनको उपचार गर्न अस्पताल पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका थिए।’ खड्कालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । 

हात्तीको समूहले मंगलबार बिहान इटहरी वडा नं. २ कै नैनाकुमारी राईको घर भत्काएर क्षती पुर्‍याएको थियो। दुई महिनाअघि पनि इटहरी वडा नं. २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो। 

इटहरी वडा नं. २ मा जङ्गली हात्ती मानव वस्तीमा प्रवेश गरि विध्वंस मच्चाएको तीन महिना विति सकेको छ।

विशषेगरी, जङ्गल क्षेत्र आसपासका वस्तीमा तीनवटा कारणले हात्ती लोभिने गरेको पाइएको छ। पहिलो जङ्गल क्षेत्रमा वग्रेल्ती बास झयाङ्ग भएकाले बासको मुना (तामा) हात्तीका लागि लोभिने आहारा भएकाले गर्दा बढी मात्रमा आउने गरेको स्थानीयको अनुभव छ। अर्कातिर ग्रामीण क्षेत्रमा कतिपय परिवारले घरेलु रक्सी बनाउने भएकाले गर्दा त्यसको वासनाले गर्दा पनि बढी मात्रमा हात्ती वस्तीमा प्रवेश गर्न खोज्ने गरेका छन्। तेस्रो इटहरी वडा नं. २ क्षेत्रमा केरा खेती भएकाले गर्दा पनि हात्ती त्यसतर्फ लोभिने गरेका छन्। 

भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै चारकोसे जंगलमा आएर बसेका हात्तीले यसरी आतंक मच्चाउने गरेका हुन्। इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आंतक मच्चाउने गरेका छन्।

नेपालमा कुल दुई सयदेखि ३३० वटासम्म जङ्गली हात्ती रहेका छन्। यीमध्ये चारकोसे जङ्गल क्षेत्र आसपास हिँडडुल गर्ने हात्तीको सङ्ख्या सयदेखि १५० सम्म रहेको हात्ती विज्ञ अशोक रामले बताए।  

प्रकाशित: १४ मंसिर २०८० ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App