बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन्। बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो।
बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा १० वर्षदेखि बस्दै आएका थिए।
चौहानले डुडुवा गाउँपालिका-१ टेपरीस्थित रामकुमार बाहुनको खेतमा गत कात्तिक १४ गते साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भन्ने शिलाबति चमारको मुख थुनेर हत्या गरेको प्रहरी प्रवक्ता डाँगीले बताए।
उनका अनुसार अभियुक्त चौहानले प्रहरीसमक्ष आफूले शिलाबति चमारलाई खेतमा साग टिपिरहेको बेला मुख थुनेर हत्या गरेको स्वीकारेका छन्। शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ।
चौहानले चमारको हत्यापछि नजिकै ट्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्याक्टरको फालीले हिर्काइ खेतमा एउटा खुट्टा बाहिर देखिने गरी पुर्ने प्रयास गरेका थिए।
अभियुक्त चौहानले घट्नालाई तोडमोड गर्न खेत जोत्दा शव फेला परेको भन्ने भ्रम फैलाएका थिए। अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट करिब एक दशमलव पाँच किलोमिटर टाढाबाट भाग्दै गरेको अवस्थामा अभियुक्त चौहानलाई पक्राउ गरेका थिए।
पीडकविरुद्ध गत कात्तिक १६ गते म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले नाबालिकाको मृत्यु शङ्काास्पद देखिएकाले अनुसन्धान गर्न बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहरा एसओसिओ अफिसर र तालिम प्राप्त कुकुरसहितको टोली लिएर घटनास्थल पुगेका थिए।
अभियुक्तविरुद्ध पीडित परिवारले जाहेरी नदिएकै कारण प्रहरी आफैंले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रमुख बोहोराले बताए। बाँके प्रहरीका अनुसार शिलाबति चमारको शव माटोमुनि गाडिएको अवस्थामा भेटिएको थियो।
प्रकाशित: १२ मंसिर २०८० ०६:०५ मंगलबार