८ असार २०८१ शनिबार
image/svg+xml
समाज

‘लालटिन’ ले घटायो लागुऔषध प्रयोग र कारोबार

प्रहरीले सञ्चालन गरेको लागुऔषधविरुद्धको विशेष अभियान ‘लालटिन’ ले लागुऔषध कारोबार र प्रयोग घट्दो अवस्थामा रहेको छ।

वीरेन्द्रनगरमा सीमित लागुऔषधको जालो हिमाली जिल्ला जुम्ला, मुगुसम्म फैलिएपछि यसको न्यूनीकरणका लागि यो अभियान थालेको हो। प्रहरीले कर्णाली प्रदेशभर लागुऔषध बरामद र प्रयोगकर्ता पक्राउ गरी कानुनी कारबाहीलाई तीव्रता दिएसँगै विगतभन्दा घट्दो अवस्थामा रहेको हो।

लालटिन अभियानअन्तर्गत प्रहरीको सक्रियतामा जिल्लादेखि पालिका हुँदै वडा, बस्ती स्तर हुँदै स्कुल कलेजसम्म लालटिन समूह गठन भइरहेको छ। तत्काल कानुनी कारबाही प्रभावकारी रूपमा गर्न विशेष निर्देशन प्रहरी युनिटसम्म पुगेको छ, जसका कारण ओसारपोसार र प्रयोगकर्ता घट्दो अवस्थामा रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

 प्रहरीले लागुऔषधविरुद्ध प्रशिक्षक तयार गर्दै छ, जसका लागि कलेज पढ्ने विद्यार्थी, टोल र संघसंस्थाका युवा छनोट भइरहेका छन्। उनीहरूलाई तयार पारेर बस्ती तथा विद्यालयहरूमा प्रशिक्षणका लागि पठाइने कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

टे«नर तयार पार्न युवा छनोट भइरहेको र प्रभावकारी रूपमा कानुनी कारबाहीलाई प्राथमिकता दिइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख भीमप्रसाद ढकालले बताए। ‘प्रहरीले जिल्लादेखि वडा हुँदै बस्ती विद्यालयसम्म लालटिन समूह गठन भइरहेको छ।’

ढकालले भने, ‘लागुपदार्थ ओसारपोसार हुन सक्ने र सम्भावना भएका ठाउँमा कडाइ गरेको छ। कानुनी कारबाही प्रभावकारी भइरहेको छ। विगतभन्दा अभियान थालेसँगै लागुऔषध कारोबार र प्रयोगमा कमी आएको छ।’ कर्णालीमा प्रहरी चेक प्वाइन्ट थप्ने तयारीसमेत भइरहेको उनले बताए।

पहिलो चरणमा ओसारपोसार र प्रयोगकर्ता धमाधम समातेको प्रहरीले दोस्रो चरणमा समुदाय, विद्यालय तथा अन्य सार्वजनिक स्थानमा लागुऔषधविरुद्धको सचेतना कार्यक्रम समुदायसँग मिलेर गर्ने तयारी गरिरहेको छ।

प्रदेशमा लागुऔषध कारोबारी र प्रयोगकर्ता वितरण संकलन, निगरानी तथा कानुनी कारबाहीका कार्यक्रम धमाधम चलेको छ, यसकारण पछिल्लो एक महिनामा लागुऔषधका घटनामा कमी आएको हो।

लालटिन अभियानले प्रदेशमा लागुऔषध कारोबार र प्रयोग नगर्न युवामाझ सचेतनाका कार्यक्रम हुने कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ढकालले बताए। २०८० वैशाख १ बाट सुरु गरेको सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत लागुऔषधविरुद्धको लालटिन अभियान थालिएको हो।

ढकालले कर्णालीमा आएसँगै समुदायसँंग मिलेर विभिन्न कार्यक्रम गरेर जागरण अभियान चलाएका छन्, जसका कारण कर्णालीमा पछिल्लो महिनामा अन्य घटना कम हुने र हुनुअघि प्रहरीमा खबर धेरै आउने गरेको प्रहरी टिपोर्टमा उल्लेख छ। यसअघि प्रहरीले नम्बरसहितको सूचना टाँस अभियान गरेको थियो। यसले गर्दा प्रहरीमा उजुरी आउने संख्या बढ्दो छ।

प्रहरीका अनुसार कर्णालीमा सबैभन्दा बढी राजधानी वीरेन्द्रनगर, भेरीगंगा र दैलेखको नारायण र दुल्लु नगरपालिका, सल्यानको शारदा नगरपालिका, जाजरकोटको भेरी नगरपालिका, रुकुम पश्चिमको मुसिकोट र चौरजहारी, कालिकोटको खाँडाचक्र र तिलागुफा नगरपालिका र जुम्लाको चन्दननाथ, मुगुको छाँयानाथ रारा नगरपालिकामा लागुऔषध कारोबार प्रयोगकर्ता बढी भएको पाइएको छ। यहाँ मुख्यतः सहरीकरण, सडक सञ्जालका कारण कारोबारी र प्रयोगकर्ता बढिरहेको प्रहरीको अनुसन्धानबाट पाइएको छ।

लालटिन अभियानमा लागुपदार्थ उत्पादन, ओसारपसार, बिक्री र सेवनविरुद्ध प्रहरी परिचालन गरी कानुनी दायरामा ल्याउने, आगुऔषध दुव्र्यसनले प्रभाव पारेका क्षेत्र, समुदाय वा वर्ग पहिचान गर्ने र बढी प्रभाव परेका क्षेत्र वा वर्गलक्षित नियन्त्रणका उपाय अपनाउने, विभिन्न लक्षित वर्गका लागि निरन्तर रूपमा प्रभावकारी तवरले लागुऔषधविरुद्ध सचेतना अभिवृद्धि कार्यक्रम गर्ने र आम नागरिकलाई सचेत बनाई सक्रिय रूपमा सहभागी गराउँदै लागुऔषध दुर्व्यसन र अपराधलाई निरुत्साहित पारी समाज र नागरिकमा सुरक्षा अनुभूति बढाउने अभियानको मुख्य लक्ष्य रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता गोपाल चन्द्र भट्टराईले बताए।

कर्णालीमा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल आएसँगै प्रहरीहरूले नागरिकसँग मिलेर नागरिक सुरक्षाका लागि काम सुरक्षित कर्णाली विशेष सुरक्षा अभियान २०८० नाम दिएर विभिन्न क्रियाकलाप थालिएको हो, जसअन्तर्गत प्रहरीले जनताकै रायसुझावअनुसार काम गर्न थालेको हो। 

प्रकाशित: ६ मंसिर २०८० ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App