९ फाल्गुन २०८० बुधबार
समाज

‘पृथ्वीलाई बाँच्नलायक बनाउन नेतृत्व अक्षम’

दक्षिणी सुडानमा बाढीले डुबानमा परेको खेतमा हिँड्दै एक बालिका। तस्बिर स्रोत : युनिसेफ

जलवायु संकट समाधानमा विश्वले हाल गरेको प्रयास अपुग रहेको र पृथ्वीलाई तातो बनाउन जिम्मेवार हरित गृह ग्यासको उत्सर्जन कटौतीको प्रयास अत्यन्त कमजोर रहेको देखिएको छ।संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन हुन केही दिन मात्र बाँकी रहँदा सार्वजनिक गरिएका विभिन्न अध्ययनले यस्तो देखाएका हुन्।  

राष्ट्र संघीय विश्व मौसम संगठनका अनुसार वायुमण्डलमा पृथ्वीको तापमान बढाउन जिम्मेवार हरित गृह ग्यास कार्बन डाइअक्साइडको घनत्व (कन्सन्ट्रेसन) सन् २०२२ मा सर्वाधिक रहेको पाइएको छ। संगठनका अनुसार औद्योगिक क्रान्ति सुरु हुनुअघिको तुलनामा यो ग्यासको घनत्व ५० प्रतिशतले बढेको छ। ‘निकट भविष्यमा यो ग्यासको बढ्दो प्रवृत्तिको अन्त हुने छाँट देखिँदैन,’ संगठनले प्रतिवेदनमा भनेको छ। यसैगरी पृथ्वीको तापमानलाई बढाउन जिम्मेवार मानिने मिथेन र नाइट्रस अक्साइडजस्ता हरित गृह ग्यासको उत्सर्जन पनि सन् २०२२ मा बढेको पाइएको छ।

यसैगरी केही दिनअघि मात्र सार्वजनिक भएको ‘दी स्टेट अफ क्लाइमेट एक्सन–२०२३’ प्रतिवेदनले विश्वको तापमान वृद्धिलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित गर्ने लक्ष्य हासिल गर्न कोइला प्रयोगलाई विस्थापन गर्ने दिशामा भएको वर्तमान प्रयासलाई ७ गुणाले बढाउनुपर्ने, वनविनाश रोक्ने प्रयासलाई ४ गुणाले बढाउनुपर्ने र विश्वको दु्रत सार्वजनिक यातायात सुधारको प्रयासलाई ७ गुणाले बढाउनुपर्ने देखाएको छ।

वल्र्ड रिसोर्सेस इन्स्टिच्युटलगायत पाँच अन्तर्राष्ट्रिय संस्थाले तयार पारेको सो प्रतिवेदनमा विश्वले यसो गर्न सके मात्र जलवायु संकटका गम्भीर प्रभावलाई रोक्न सक्ने उल्लेख छ।

‘विश्वका देशहरूले नवीकरणीय ऊर्जा र विद्युतीय साधनको प्रयोगलाई प्रोत्साहन गरे पनि हरित गृह ग्यास कटौतीको लक्ष्य हासिल गर्न आवश्यक पर्ने ठोस नीति अख्तियार गर्न विश्व असफल बनेको छ,’ सो प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनले वायुमण्डलमा हरित गृह ग्यास उत्सर्जन कटौती गर्न हरेक वर्ष विश्वले २४० वटा कोइलामा आधारित विद्युत् गृह बन्द गर्नुपर्ने, कुल विद्युत् उत्पादनमा सौर्य र वायु ऊर्जाको योगदानलाई सन् २०३० सम्म हरेक वर्ष २४ प्रतिशतले बढाउनुपर्ने आवश्यकता औंल्याएको छ। ‘दशकौंदेखि चेतावनी र ठोस कार्य गर्न अनुरोध गरिए पनि जलवायु संकट सम्बोधन गर्न यथेष्ट प्रयास गर्न विश्वका नेता असफल रहेका छन्। अझ ढिलाइ हुने हो भने भविष्यमा पृथ्वी बाँच्न लायक हुनेछैन,’ प्रतिवेदनका लेखकले भनेका छन्।

यसैगरी गत साता सार्वजनिक गरिएको अर्काे प्रतिवेदनले विश्वको तापमान बढाउन जिम्मेवार हरितगृह ग्यासको उत्सर्जनलाई सन् २०१० को तुलनामा सन् २०३० सम्म ४५ प्रतिशतले घटाउने लक्ष्य लिइएकोमा यो अवधिमा यी ग्यासको उत्सर्जन घट्नुको साटो झन् ९ प्रतिशतले बढ्ने देखिएको छ। विश्वका देशहरूले तय गरेका कार्बन उत्सर्जन कटौतीका लक्ष्यहरूको समीक्षात्मक अध्ययनसहितको राष्ट्र संघीय क्लाइमेट चेन्ज प्रतिवेदनले यस्तो देखाएको हो।

‘ग्लोबल स्टकटेक’ नामक सो प्रतिवेदनको नतिजालाई इंगित गर्दै राष्ट्र संघका महासचीव एन्टिनिओ गुटेरेसले विश्वका देशले अगाडि बढाएका जलवायु योजनाहरू जलवायु विज्ञानले दिएको चेतावनीलाई सम्बोधन गर्न नसकेको प्रतिक्रिया दिए। ‘संकटलाई टार्न इन्च–इन्चको प्रगति पर्याप्त छैन। हरेक देश, सहर र क्षेत्रले जलवायु संकट टार्न सुपरनोभा गतिमा काम गर्नु आवश्यक छ,’ उनले भनेका छन्। धनी राष्ट्रले जलवायु वित्तमा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने, नवीकरणयी ऊर्जाको लगानी बढाउनुपर्ने र खनिज इन्धनलाई विस्थापन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

जलवायुसम्बन्धी राष्ट्र संघीय संरचना महासन्धि (युएनएफसिसी) का कार्यकारी सचिव सिमोन स्टेलले तापमान वृद्धिका हरेक डिग्रीले अर्थ राख्ने चर्चा गर्दै विश्वका सरकारले जलवायु संकट सम्बोधन गर्न केटाकेटी कदम (बेबी स्टेप्स) चालेको बताएका छन्। ‘हामी सही ट्र्याकमा छैनौं, कोप–२८ मा यसलाई बदल्नुपर्छ,’ उनले भनेका छन्। यही मंसिर १४ देखि २६ गतेसम्म दुबईमा आयोजना हुन लागेको कोप–२८ मा विश्वका झन्डै २०० देशका नेता तथा प्रतिनिधि सहभागी हुँदैछन्। सम्मेलनले विश्वको सरदर तापमान थप बढ्न नदिन, जलवायु वित्तको प्रभावकारी परिचालन गर्न, जलवायु संकट थेग्न समुदायको अनुकूलन क्षमता बढाउन तथा जलवायु संकट समाधानमा विश्वव्यापी सहकार्य बढाउने दिशामा छलफल र निर्णय गर्ने अपेक्षा गरिएको छ। 

प्रकाशित: ५ मंसिर २०८० ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App