१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गैँडा संरक्षणमा चुनौती: २५ वर्षमा १ सय ८३ गैँडा तस्करले मारे

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मार्न तस्कर सक्रिय बन्दै गएका छन्। आधा दशक चोरी सिकारी शून्य रहेको निकुञ्जमा पछिल्ला तीन वर्ष तस्कर सक्रिय देखिएका छन्। यो अवधिमा उनीहरुले आठ वटा गैंडा मारिसकेको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।

बिहीबार मात्र निकुञ्जको कोर क्षेत्रमा पर्ने चपचुली पोस्टबाट करिब साढे तीन किलोमिटर दक्षिणमा तस्करले अन्दाजी १८ र छ वर्षको दुई वटा पोथी गैंडा खाल्टोमा पारेर मारेका भेटिएको छ। नेपाली सेनाको पोष्ट नजिकै पुरानै शैलीमा तस्करले गैंडा मारेका छन्। दुई वटा गैँडाको खाग समेत लगिसकेका छन्।

सुरक्षा निकाय चनाखो नहुँदा वि.स.२०५५ सालदेखि हालसम्म यहाँ एक सय ८३ वटा गैँडा सिकारीले मारेका छन्। तर, पछिल्लो दश वर्षमा १३ वटा गैंडा चोरी सिकारी भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। 

चितवन राष्ट्रिय निकुञ्जको स्थापना पछि झन्डै डेढ दशक रोकिएको चोरी सिकार सन् १९९० को दशकबाट पुनः सुरु भई द्वन्द्व कालमा बढेको देखिन्छ। चितवनमा सन् २००० देखि सन् २०१० बिचको ११ वर्षको अवधिमा एक सय ५८ वटा गैंडा सिकारीले मारेका थिए। सन् २००२ मा एकै वर्षमा ३८ वटा गैंडा चोरी सिकारीले मारेका छन्। यो नै एक वर्षमा सबैभन्दा बढी गैँडा मरेको बर्ष मान्ने गरिएको छ।

आर्थिक वर्ष २०६९/२०७० मा एक, २०७०/०७१ मा एक र आव २०७३/०७४ मा एक वटा गैँडा चोरी सिकारीले मारेका थिए। त्यसपछि केही बर्ष रोकिएको चोरी सिकारी आव २०७७/०७८ मा एक्कासी चार वटा गैंडा तस्करले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। आव २०७९/२०८० मा दुई वटा गैंडा सिकारीले मारे। यी गैँडालाई सिकारीले अमलटारी सेक्टरमा विद्युतीय धरापमा पारेर मारेका थिए। त्यस कार्यमा संलग्न व्यक्ति समेत पक्राउ परेका छन्।  

आव २०७१/०७२, २०७२/०७३, २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा चितवनमा गैँडाको चोरी सिकार भएन। यद्यपि यस तथ्याङ्कमा यहाँका कर्मचारी नै विश्वस्त देखिँदैनन्। आर्थिक बर्ष २०७७ सालमा तस्करलाई समात्दा यो अवधिमा ११ वटा गैंडा मारेको खुल्न आएको त्यहाँका पूर्व कर्मचारी बताउँछन्। २०७७/०७८मा ४२ जना पक्राउ परेका थिए। त्यसपछि ठुलो संख्यामा तस्कर पक्राउ पर्न सकेका छैनन्। जेलबाट सजाय भुक्तान गरेर गएका व्यक्ति पनि तस्करमा संलग्न भएको पाइन्छ।

बाहिर सार्वजनिक भएभन्दा बढी गैंडा सिकारीले मारेको अवस्था छ। प्राकृतिक कारणले पनि गैँडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ। गैंडा बूढो भएर, एक आपसमा जुधेर, घोलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन्।  चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला वर्षमा गैंडा संरक्षणमा चुनौती थपिँदै गएको बताउँछन्।

‘गैँडाको सबैभन्दा ठुलो समस्या भनेको चोरी सिकारी नै हो। चोरी सिकारी निरन्तर भइरहने समस्या हो’ उनले भने, ‘सुराकी सञ्जाल कमजोर भएको अवस्थामा पनि यस्ता घटना घट्छन्।’ निकुञ्ज प्रशासन सक्रिय नभएको अवस्थामा तस्करहरू सलबलाउने गरेको उनले बताए। निकुञ्जको सुरक्षामा ठुलो संख्यामा आर्मी खटिएको छ। निकुञ्ज प्रशासन, आर्मी मध्यवर्ती व्यवस्थापन समिति सहयोगी संस्था माथि समेत प्रश्न उठ्दै आएको छ। सहयोगी संस्थाको काम समेत प्रभावकारी हुन सकेको छैन।

चितवन राष्ट्रिय निकुञ्जको गैँडाको संख्या पनि बढ्दो क्रममा छ। सन् २०२१को गणनामा देशभर सात ५२ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ वटा गैंडा भेटिएका थिए। बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन वटा गैंडा छन् । अघिल्लो २०१५को गणनामा चितवनमा छ सय ५ गैंडा थिए। यस्तो अवस्थामा चोरी सिकारी नियन्त्रणमा निकुञ्ज प्रशासन लागिपरेको बताउँछन् निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी। ‘सुरक्षा निकायलाई उच्च सतर्कता साथ रहन निर्देशन छ,’ उनले भने ‘व्यवस्थापन काम निकुञ्ज प्रशासनले गरेको छ।’ तस्करहरू खोज्ने काम पनि भइरहेको उनले बताए। बिहीबार मृत भेटिएका गैँडालाई तस्करले अलग अलग खाल्टो खनेर मारेका थिए।

‘नेपाली सेना, सिआइवि, नेपाल प्रहरीको सहयोगमा तस्करलाई खोज्ने क्रम जारी राखेका छौँ’–उनले भने । समुदायको सहभागिता विना संरक्षण गर्न चुनौती नै हुन्छ।  सोही अनुसार सरकारले पनि मध्यवर्ती व्यवस्थापन समिति मार्फत समुदायलाई संरक्षणमा लगाउने गरेको उनले बताए। 

प्रकाशित: १ मंसिर २०८० ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App