१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपरथी पाण्डेकाे राजीनामा: प्रधानसेनापतिमाथि नैतिक प्रश्न

प्रधानसेनापति प्रभुराम शर्मा/ उपरथी ताराध्वज पाण्डे

रथीमा बढुवा हुने प्रक्रियामा रहेका उपरथी ताराध्वज पाण्डेले उमेर विवादका कारण राजीनामा दिएपछि प्रधानसेनापति प्रभुराम शर्मामाथि नैतिक प्रश्न उठेको छ।

सबै प्रकारका कागजात चुस्तदुरुस्त बनाएर मात्र सिफारिस गर्नुपर्नेमा उमेर विवादमा परेका उपरथी पाण्डेलाई आफ्नो उत्तराधिकारीको रोलक्रममा राखेर बढुवा सिफारिस गरेपछि प्रधानसेनापतिमाथि नैतिक प्रश्न उठेको हो।

त्यति मात्र होइन, सहायक रथीबाट उपरथीमा बढुवा भइसकेपछि २०७६ सालमै पाण्डेको उमेर विवाद निरूपण गर्ने समितिमा हालका प्रधानसेनापति शर्मासमेत रहेका कारण पनि उनीमाथि नैतिक प्रश्न उठेको हो।

जागिर खान नक्कली प्रमाणपत्र पेस र माथिल्लो पदसम्म पुग्न नागरिकता किर्ते गर्नेहरूविरुद्ध २०७६ सालमा तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालीन उपरथी पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको जन्ममिति र नागरिकतामा भएको जन्ममितिको विषयमा निक्र्योल गरी उन्मुक्ति दिएका थिए।

त्यतिबेला हालका अवकाश प्राप्त रथी गौरव तण्डुल र प्रधानसेनापति शर्मा सदस्य रहेको समितिले पाण्डेलाई मात्र होइन, अर्का उपरथी अशोकराज सिग्देललाई पनि उन्मुक्ति दिएको थियो।

आफैंले रथीमा बढुवा सिफारिस गरेका उपरथी पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति शर्माले बाध्य भएर सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए। 

सो समितिले उनको नागरिकता दुईवटा भएको प्रमाणित गरेपछि बिहीबार साँझ प्राड विवाकको बैठक बसेको थियो। बैठकमा रहेका उच्च अधिकारीहरूले पाण्डेलाई राजीनामा दिन वा कोर्ट मार्सल सहन सुझाव दिएपछि पाण्डेले राजीनामा दिएको स्रोतले जनाएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले ताराध्वज थापाको राजीनामा आएको पुष्टि गरेका छन्।

तीन दिनअघि मात्रै बलाधिकृत रथी खड्को नेतृत्वमा कानुनका उपरथीसहित तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले तीन दिनदेखि काम गरिरहेका बेला उनको नागरिकतामा उमेर समस्या देखिएको थियो। पाण्डेको राजीनामा र बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागिसकेको छैन।

पुस ३ मा बालाधिकृत रथी खड्काले पनि अवकाश पाउँदैछन्। सैनिक ऐनअनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ। सोहीअनुसार वरिष्ठ उपरथी पाण्डेको बढुवा प्रक्रियामा सैनिक मुख्यालयले प्रक्रिया थालेको थियो। उनको बढुवा सिफारिसपछि उमेर विवाद बाहिर आएको थियो।

अनिवार्य अवकाशका लागि तत्कालीन रथी सरोजप्रताप राणा बिदामा बसेपछि सैनिक मुख्यालयले उपरथी पाण्डेलाई रथीमा बढुवा सिफारिस गरेको थियो। पाण्डे रथीमा बढुवा सिफारिस भएसँगै हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने लाइनमा पुगेका थिए।

नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी सात दिने सूचनामा सैनिक सेवा नियमावली, २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी) मा बढुवा सिफारिसका लागि पाण्डेलाई सिफारिस गरिएको उल्लेख थियो। तर उनको उमेर विवादले राजीनामा गर्न बाध्य बनायो।

पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक परेको भन्दै बढुवा सिफारिसप्रति प्रश्न उठाइएको थियो। पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्म २०२३ मंसिर २३ उल्लेख छ। तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्ममिति १२ माघ २०२१ उल्लेख भएको नागरिकता बाहिर आएको थियो।

 पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्ममिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्ममिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको तथ्य सार्वजनिक भएको थियो। 

त्यति मात्र होइन, परीक्षा नियन्त्रण कार्यालयमा रहेको सरकारी ढड्डा पनि केरमेट गरेको पाइएको थियो। २०७६ सालमा उपरथी पाण्डेको जस्तै विवाद रहेका ११ जनालाई कारबाही गरेर सैनिक मुख्यालयले घर पठाएको थियो। तर पाण्डे भने बचेका थिए।

नेपाली सेनाका उच्च अधिकृतहरूको बढुवाका बेला सधैं शैक्षिक योग्यता, नागरिकतालगायत विषयमा विवाद हुने गरेको छ। सैनिक अधिकारीहरूको बढुवाका बेला नागरिकता, जन्ममिति र शैक्षिक योग्यताको प्रमाणपत्रमाथि कैफियत देखाएर लफडा सिर्जना गर्ने परम्पराजस्तै बनेको छ।

पाण्डेको राजीनामासँगै अर्का उपरथी अशोक सिग्देल भावी प्रधानसेनापतिको रोलक्रममा देखिएका छन्। तर उनको पनि उमेर विवाद रहेको नेपाली सेना स्रोतले जानकारी दिएको छ। उनी उपरथीमा बढुवा हुने बेलामा पनि शैक्षिक योग्यताको प्रमाणपत्र र दुईवटा नागरिकता रहेको भन्दै विवाद सिर्जना गरिएको थियो। 

सिग्देलको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रलाई लिएर विवाद भएपछि हालका पाण्डेसहितका केही सैनिक अधिकृतको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताका विषयमा छानबिन भएको थियो। तत्कालीन प्रधानसेनापति थापाले सिग्देलको शैक्षिक योग्यता र नागरिकतामा देखिएको विवाद निरूपण गर्ने जिम्मेवारी पनि हालका प्रधानसेनापति शर्मालाई दिएका थिए।

‘त्यतिबेला नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र विवादमा मुछिएका अधिकारीहरूको प्रमाणपत्र र विवरण सम्परीक्षण एवं निक्र्योल गर्ने जिम्मेवारी तत्कालीन रथी प्रभुराम शर्मा (हालका प्रधानसेनापति) लाई दिइएको थियो,’ सैनिक स्रोतले भन्यो, ‘उहाँले नै पाण्डेलाई झैं सिग्देललाई पनि उन्मुक्ति दिनुभएको हो।’

प्रमाणपत्र छानबिन हुँदा सैनिक सचिव विभागको प्रमुख तत्कालीन सहायक रथी (हाल उपरथी) निर्मल थापा थिए। उपरथी पाण्डेले राजीनामा दिनु र सिग्देलको पनि नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र विवाद हुनुले त्यसको फाइदा थापालाई हुने स्रोतको दाबी छ।

‘पाण्डेले राजीनामा दिए, सिग्देलको पनि विवाद छ, अब प्रधानसेनापति हुने कोर्स उपरथी थापासम्म पुग्ने सम्भावना छ,’ सैनिक स्रोतले भन्यो। 

तत्कालीन प्रधानसेनापति थापाका पालामा सिग्देल र गोकुल भण्डारी उपरथीमा बढुवा सिफारिस भएपछि त्यसविरुद्ध उजुरी परेको थियो। उजुरीपछि हेटौंडामा पृतनापति रहेका पाण्डेलाई सैनिक मुख्यालयमा बोलाएर छानबिन गरिएको थियो।

सैनिक अधिकारीहरूको व्यक्तिगत फाइल रहने सैनिक सचिव विभागको प्रमुख तत्कालीन सहायक रथी निर्मल थापा थिए। 

सैनिक स्रोतका अनुसार थापा काठमाडौंको कलेजमा पढेको थिए। तर उनको शैक्षिक योग्यताको प्रमाणपत्रबारे पनि प्रश्न उठिरहेको छ। थापाको उच्च माध्यमिक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नेपालको नभएको स्रोतको दाबी छ।

प्रकाशित: २५ कार्तिक २०८० ००:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App