६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ताप्ली र काठमाडौँ सोझो यातायातले जोडिए

सोझो रुटको बस सेवा उद्घाटन गर्दै अध्यक्ष बिक र उपाध्यक्ष मगर । तस्विरः महेश्वर

बिकट गाउँपालिका ताप्ली र संघीय राजधानी काठमाडौँ सोझो यातायातले जोडिएका छन् । ताप्ली गाउँपालिकाकै सबभन्दा बिकट र उचाइमा रहेको ३ नं. वडाको इनामेदेखि काठमाडौँ चल्ने सोझो यातायात सेवा आज बुधवारदेखि सुरु भएको हो।

ताप्लीबाट काठमाडौँ जोड्ने सोझो रुटको यात्रुवाहक ‘तराई पहाड यातायात प्रालि’को बस सेवा अव देखि हरेक दिन विहान ५ः०० बजे छुटेर दिउँसो ५ः०० बजे काठमाडौ पुग्ने प्रालिका सञ्चालक विकास पाख्रीनले बताए । ‘नमस्ते रुपाटार’ कम्पनीले सञ्चालनमा ल्याएको बस सेवा ताप्लीदेखि एउटा काठमाडौँका लागि तथा काठमाडौँदेखि अर्को ताप्ली आउने गरी २ वटा सञ्चालनमा ल्याइएको छ। 

बुधवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुंगराज बिक र उपाध्यक्ष धनमाया मगरले काठमाडौँ छुट्ने प्र २–०१–००५ ख ९५८९ नं. को यात्रुवाहक बस सेवाको संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष बिकले सङ्घीयता र गणतन्त्रले गाउँलाई सहरसँग जोड्दै सडकलगायत अन्य थुप्रै विकासे फल जनतालाई चखाउन थालेको बताए । गाउँपालिकाका ५ वटै वडा जोड्ने सडकहरू कच्ची नै भए पनि निर्माण भइसकेको बताउँदै अध्यक्ष बिकले अव देखि राजधानी आउजाउ गर्न सहज भएको बताए।

अध्यक्ष बिकका अनुसार गाउँका कच्ची सडकहरूमा हिउँद–बर्खा बाहै्र मास यातायात सञ्चालन गर्नका लागि स्तरोन्नति र कालोपत्रे गर्नुपर्ने बताउँदै त्यसतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताए । त्यसका लागि अहिलेदेखि नै लागिरहेको भए पनि सीमित स्रोतसाधनका कारण गाउँपालिकाबाट मात्र संभव नहुने हुँदा आवश्यक बजेट व्यवस्था गर्न प्रदेश र संघीय सरकारको सहयोग चाहिनेमा जोड दिए । संघ र प्रदेश सरकारले सहयोग गरेको खण्डमा गाउँलाई सहरसँग जोडेर उत्पादित कृषि उपज तथा पशु चौपाया बिक्री वितरण गरेर जनतालाई आत्मनिर्भर बनाउन सकिने उनको भनाई थियो। 

उपाध्यक्ष मगरले आन्तरिक कच्ची सडकहरू सबै वडा जोड्ने गरी निर्माण भइसकेको बताउँदै आगामी वर्षदेखि स्तरोन्नतिको कार्यमा लाग्ने प्रतिबद्धता जनाइन् । उनले जिल्लाको अत्यन्त बिकट भूगोल रहेको ताप्लीदेखि काठमाडौँ जाने सोझो यातायात सञ्चालनमा आउनु सम्पूर्ण गाउँपालिकावासीका लागि खुसीको कुरा भएको बताईन्।

यातायात व्यवसायी पाख्रीनका अनुसार ताप्ली ३ को इनामे निगालबासदेखि छुट्ने बस इनामे–ताप्लीपोखरी–नारीमाला–जोरढुंगा–ओल्ले–बेतिनी–घुर्मी हुँदै साँझमा काठमाडौँ पुग्नेछ । इनामेदेखि सिद्धिचरण लोक मार्गसँग जोडिने कटारी–घुर्मी खण्डको २२ किलोमिटर दूरीको बेतिनीसम्म नयाँ ट्«याक खुलेसँगै काठमाडौँसँग सोझो यातायात सम्बन्ध संभव भएको हो । यसअघि ताप्लीबासी नागरिकलाई राजधानी पुग्न घुर्मीसम्म पैदल पुग्नुपथ्र्यो भने कि कटारी बजार झरेर सिराहाको लाहान हुँदै काठमाडौँ जानुपर्ने बाध्यता थियो । सोझो यातायात जोडिएपछि त्यो समस्या टरेको स्थानीय शिक्षक मिलन लो तामाङले बताए । उनका अनुसार सोझो यातायात सम्पर्क स्थापित भएपछि ताप्लीबासी १४ हजार नागरिक लाभान्वित भएका छन्।त्यस्तै छिमेकी लिमचुङबुङ र रौतामाई गाउँपालिकाका केही वडालाई पनि यसले सहज बनाउने तामाङले बताए।  

बेतिनी भएर घुर्मी ओखलढुंगा जोड्ने सडक भने २ दशकअघि नै सञ्चालन भइसकेको छ । सिराहाको मिर्चयादेखि कटारी–बेतिनी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोक मार्ग ०६० सालदेखि नै सञ्चालन भएको हो । तत्कालीन शाही नेपाली सेनाले निर्माण गरेर सञ्चालनमा आएको कालोपत्रे सडक सिराहाको चन्द्रोदयस्थित मारुती सिमेन्ट उद्योगका लागि सिन्धुलीको ककुरखोलाको चुनढुंगा ओसार्न दिनरात अत्याधिक भारवहनका टिफर र ट्रक चल्दा केही वर्षपछि नै सडक बिग्रेको थियो।डिभिजन सडक कार्यालय लाहानले मर्मतको नाममा वर्षेनी करोडौँ रकम खर्च गर्दै आए पनि टिकाउ नभएपछि कटारीमा गत वर्षदेखि ‘कटारी घुर्मी सडक कार्यालय’ नामक छुट्टै कार्यालय खोलेर दिगो मर्मत संभारको प्रयास सुरु भएको छ। 

प्रकाशित: २२ कार्तिक २०८० १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App