७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

बुढीगंगामा मेयर कप भलिबल जारी

१९ गते बाट सुरु बुढीगंगा नगरपालिकामा सर्वाधिक धनराशिको प्रथम मेयर कप भलिबल प्रतियोगिता जारी छ। कंचनपुर, बैतडी, अछाम, डोटी र बाजुराका गरी १६ टिम सहभागी प्रतियोगितामा विजेताले १ लाख ५७ हजार ७ सय ७७ रुपैयाँ पाउने छन्।

रुकुमपश्चिममा १६ हजार घर पूर्णरूपमा क्षतिग्रस्त

भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। तथ्याङ्क सङ्कलन जारी रहेकाले यो संख्या बढ्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको भनाइ छ।

दाङमा पहिलो पटक गैर आवासीय नागरीकता प्रदान

गृह मन्त्रालयको नयाँ नियम र परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय दाङबाट सोमबार पहिलो पटक गैर आवासीय नागरीकता प्रदान गरिएको छ। नागरीकता पाउने पहिलो गैर आवसीय नागरिकमा घोराही उपमहानगरपालिका–१७ का पुष्पराज आचार्यका छोरा किशोर कुमार आचार्य रहेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको भनाइ छ।

रोकिएका आन्तरिक उडान सुरु गर्न व्यवसायीको अनुरोध

नेपालका पूर्वी सहरसम्मको सिधा हवाई पहुँच नियमित गर्न ‘जाउँ है पोखरा अभियान’ चलाउन होटल संघ पोखराको माग गरेका छन्। पहिलेदेखि नै सञ्चालनमा रहेका विराटनगर, भद्रपुर, जनकपुर र सिमराका उडान नियमित भए आन्तरिक र भारतीय पर्यटकको आउजाउ बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ।

सयपत्री फूलको मालाको मूल्य निर्धारण

व्यवसायीबाट उपभोक्ता ठगिने सम्भावना बढी हुने भन्दै चितवनका किसानले तिहार लक्षित सयपत्री फूलको मालाको मूल्य निर्धारण गरेका छन्। बजारलाई एकरूपता ल्याउन होलसेल र खुद्रा मूल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाको भनाइ छ।

मूल्य निर्धारण नहुँदै चिनीमिल संचालनमा

सरकारले उखुको मूल्य निर्धारण नगर्दै रौतहटको कटहरिया नगरपालिका ९ डुमरियाको बाबा बैजुनाथ सुगर एन्ड केमिकल मिलले चलान वितरण कार्य सुरु गरेको छ। गत वर्षको मूल्यमा किसानलाई उद्योगले भुक्तानी गर्दै जाने र बाँकी रकम मूल्य निर्धारण भएपछि भुक्तानी गरिने उद्योगका महाप्रबन्धक बैजु बाबराको भनाइ छ।

एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने

केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने नेकपा एमाले संसदीय दलले निर्णय गरेको छ। विश्वासको मत कायमै राखे पनि विपक्षमा बस्ने निर्णय गरेको एमाले संसदीय दलका उपनेता रामबहादुर रानाको भनाइ छ।

प्रकाशित: २० कार्तिक २०८० १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App