२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

नासुकै भरमा मालपोत कार्यालय

देशभरिका अधिकतर मालपोत कार्यालय नायब सुब्बा (नासु) का भरमा चल्दै आएका छन्। ५० भन्दा बढी जिल्लाका मालपोत कार्यालय नासुका भरमा चल्दा त्यहाँबाट हुने सेवा प्रवाह प्रभावित बनेको छ।

भूमि व्यवस्थापन विभागका अनुसार अहिले देशभरि प्रमुख मालपोत अधिकृत (उपसचिवसरह) र मालपोत अधिकृत (शाखा अधिकृतसरह) का कर्मचारीहरूको अभाव एक तिहाइभन्दा बढी छ। जसका कारण देशभरि आधाभन्दा बढी मालपोत कार्यालय कायममुकायम (कामु) कर्मचारीहरूले चलाएका छन्।कामुका प्रायः नासु नै हुने गरेका छन्।

भूमि व्यवस्थापन विभागका महानिर्देशक विदुर खनालले दरबन्दीअनुसार कर्मचारी नहुँदा आधाभन्दा बढी मालपोत कार्यालय कामुका भरमा चलेको बताए। यसबाट सेवा प्रवाह प्रभावित भएको उनले स्वीकार गरे। कामुका भरमा चलेका मालपोत कार्यालयहरूमा सेवा प्रवाहमा ढिलासुस्ती भएको उनको भनाइ छ।

विभागका एक कर्मचारीका अनुसार मालपोत कार्यालयमा कार्यरत भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको मुद्दा लाग्ने र रंगेहात पक्राउ पर्ने सम्भावना बढी हुने भएकाले पनि त्यस्ता कार्यालयहरूमा अधिकृत तहका कर्मचारीहरू जान डराउँछन्।

 ‘अन्य कार्यालयहरूमा जागिरबाट अवकाश पाउनेबित्तिकै भ्रष्टाचारको मुुद्दा लाग्ने अथवा रंगेहात पक्राउ पर्ने सम्भावना अन्त्य हुन्छ। तर मालपोत कार्यालय त्यस्तो ठाउँ हो, जहाँ सेवाबाट अवकाश लिए पनि कसलाई कति बेला मुद्दा लाग्छ थाहा हुँदैन,’ ती कर्मचारी भन्छन्, ‘काम गर्दै जाँदा कुन बेला कहाँ हस्ताक्षर गरिएको हुन्छ, थाहा हुँदैन। त्यही एउटा हस्ताक्षरका कारण बाँच्दासम्म मुद्दा लाग्ने डर हुन्छ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सरुवा माग्न चाहने प्रशासन सेवाका कर्मचारीमध्ये माथिल्लो तहमा रहेकाहरू मालपोत कार्यालयमा जान डराउँछन्।

 ‘अधिकृत र अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीहरूमा सकेसम्म मालपोत कार्यालयमा जान नपरे हुन्थ्यो भन्ने चाहना देखिन्छ तर सुब्बा र खरिदार तहका कर्मचारीहरू भने मालपोत कार्यालयमा जान चाहेका देखिन्छन्। उनीहरूको हकमा भने मालपोत कार्यालयमा छुट्टै आकर्षण छ,’ संघीय मामिला मन्त्रालयका एक उपसचिवले भने। हाल देशभरि १३५ वटा मालपोत कार्यालय छन्। तीमध्ये १२८ कार्यालय सञ्चालनमा छन्।

विभागका अनुसार हाल देशभरिका मालपोत कार्यालयहरूमा कर्मचारीहरूको कुल दरबन्दी ३ हजार १८४ छ तर २ हजार १३८ कर्मचारी मात्र कार्यरत छन्। यसबाट देशभरिका मालपोत कार्यालयहरूमा एक तिहाइभन्दा बढी कर्मचारीहरूको अभाव देखिएको छ।

देशभर प्रमुख मालपोत अधिकृतको दरबन्दी ६२ छ तर हाल ४२ जना मात्र कार्यरत छन्। यसैगरी देशभरि २५५ मालपोत अधिकृतको दरबन्दी छ तर १२६ जना मात्र कार्यरत छन्। नासु तहका कर्मचारीहरू भने झन्डै दरबन्दीअनुसार नै छन्।

विभागका अनुसार देशभरि नासुको दरबन्दी ८१२ छ तर हाल ७६२ जना कार्यरत छन्। विभागका महानिर्देशक खनालका अनुसार दरबन्दीअनुसार कर्मचारी नहुँदा प्रमुख मालपोत अधिकृत कार्यालय प्रमुख हुनुपर्ने कार्यालयमा मालपोत अधिकृतले कामु चलाएका छन् भने मालपोत अधिकृत प्रमुख हुनुपर्ने कार्यालयमा नासुले कामु चलाएका छन्।

विभागका अनुसार नासुले कामु भई चलाएका मालपोत कार्यालयहरू अधिकतर हिमाली र पहाडी जिल्लामा छन्। सिम्रौनगढ, लहान, रामेछाप, रसुवा, चितवन माढी, शिखरकोट मकवानपुर, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जाका दुवै कार्यालय, रूपन्देहीका मझुवा र राकमकोट, पाल्पा, अघाँखाची, गुल्मी लगायत जिल्लाका मालपोत कार्यालय सुब्बाले चलाएको विभागले जनाएको छ।

विभागका अनुसार गुल्मीका दुवै कार्यालय, रुुकुम पश्चिम, रोल्पाका दुवै कार्यालय, प्युठान, बर्दिया, डोल्पा, जुम्ला, हुम्ला, जाजरकोट, दैलेख, बाजुरा, बझाङ, अछाम, दार्चुला, बैतडी, डडेलधुरालगायत जिल्लाहरूका मालपोत पनि सुब्बाले चलाएका छन्। यसैगरी पूर्वी पहाडी जिल्ला इलाम, संखुवासभाका दुवै कार्यालय, तेह्रथुम, सोलु, खोटाङ, उदयपुर, ओखलढुंगाका दुवै मालपोत कार्यालय सुब्बाले चलाएका छन्।

विभागका अनुसार ४२ कार्यालय मात्र प्रमुख मालपोत अधिकृतले प्रमुख भई चलाएका छन्। काठमाडौं, ललितपुर, भक्तपुर, विराटनगर, पोखरा, चितवन, सुनसरीलगायत सुगम जिल्लाका मालपोत कार्यालयहरूमा भने प्रमुख मालपोत अधिकृतको अभाव छैन।

संघीय मामिला मन्त्रालय स्रोतका अनुसार लोकसेवाबाट सिफारिस भएका नयाँ कर्मचारीलाई चाप बढी भएका र अत्यावश्यक कार्यालयमा खटाउँदा मालपोतमा कर्मचारीको अभाव भएको हो।

मन्त्रालयले नयाँ कर्मचारीहरूमध्ये धेरैजसोलाई स्थानीय तह, इलाका प्रशासन कार्यालयमा खटाउने गरेको छ। यसबाट मालपोत कार्यालय पहिलो प्राथमिकतामा परेका छैनन्। ‘एकातिर भएका कर्मचारीहरू सकेसम्म मालपोतमा नजाने अर्कातिर नयाँ कर्मचारीलाई सकेसम्म मालपोतबाहेक अन्य कार्यालयमा पठाउने प्रवृत्तिले पनि मालपोतमा कर्मचारीको अभाव भएको हो,’ विभागका एक अर्का एक कर्मचारी भन्छन्।

प्रकाशित: १८ कार्तिक २०८० ००:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App