१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

श्रीमानको कलेजो र भाउजूको मिर्गौलाले बाँचेकी सोनाकुमारी

मञ्जुकुमारी जीसी क्षेत्री (भाउजु), कलेजो र मिर्गौला प्रत्यारोपण गरेकी सोनाकुमारी थापा भुजेल र उनका श्रीमान नीरचन्द्र भुजेल (तस्बिरको पहिलो लाइनमा बायाँबाट)। पछिल्लो लाइनमा मा प्रत्यारोपणमा संलग्न चिकित्सकहरु। तस्बिर: राजिव खत्री/ नागरिक

चितवन भरतपुरकी सोनाकुमारी थापा भुजेल कलेजो र मिर्गौला दुवैको प्रत्यारोपण पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन्। मिर्गौला प्रत्यारोपण गर्न किष्ट अस्पताल पुगेकी थापालाई चिकित्सकहरूले कलेजो पनि प्रत्यारोपण गर्नुपर्ने बताए। त्यसपछि उनी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नतर्फ लागिन्।

अस्पतालको वातावरण देखेर बाच्छु होला भन्ने भुजेललाई लागेको थियो। अस्पतालले उनको अपरेसनका लागि कुनै कसुर बाँकी राखेको थिएन्। चिकित्सकहरूले दिएको आत्मविश्वासले उनमा आत्मबल बढ्यो। अस्पताल सँगसँगै उनलाई परिवारको पनि राम्रो साथ थियो। त्यसैले त आफूले नयाँ जीवन पाएको सोना कुमारी बताउँछिन्।

भुजेल भन्छिन्, ‘परिवार त मेरो साथमा थियो। परिवार पछिको दोस्रो परिवार बनेको छ अस्पताल।’ 

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कलेजो र मिर्गौला प्रत्यारोपण गरेकी भुजेललाई उनको श्रीमान् नीरचन्द्र भुजेलले कलेजो दान गरे भने भाउजू मञ्जुकुमारी जिसीले मिर्गौला दान गरिन्।  

सोनाकुमारीको मिर्गौला प्रत्यारोपण गर्न अस्पताल आएका उनका श्रीमान् नीरचन्द्र भुजेल श्रीमतीको मिर्गौला र कलेजो दुवै प्रत्यारोपण गर्नुपर्छ भन्दा छाँगाबाट खसेजस्तो भएको बताउँछन्। चितवनमै मेसेनरीको सानो पसल गर्दै आएका नीरचन्द्र ३ वर्षदेखि श्रीमती सोनाकुमारीको उपचारमा तल्लीन छन्। अहिले श्रीमतीले नयाँ जीवन पाएकी छिन तर नीरचन्द्रको पसल भने यता न उताको बनेको छ।

सोनाकुमारीकोे उपचार नीरचन्द्रले आफन्त र अन्य ठाउँबाट चन्दा उठाएर गरेका छन् भने केही छुट अस्पतालले पनि दिएको छ। बिरामी श्रीमतीलाई तीन वर्षदेखि लिएर हिँड्दा कुनै पसलबाट किनेर मिर्गौला प्रत्यारोपण गर्नेजस्तो कुरा समाजले गरेको उनी सुनाउँछन्।

‘बिरामी श्रीमतीलाई लिएर हिँड्दा समाजले समाजले कति के के भने भने। त्यो मैले कहिले सुनिन्। कतिपय व्यक्तिले पसलबाट मिर्गौला किनेर प्रत्यारोपण गर्ने सोचे र कुरा पनि गरे। तर त्यो कुरा चोट पर्नेलाई मात्र थाहा हुने रहेछ। नपर्नेले त के के भन्ने हुन्’, उनले भने।

अस्पतालले श्रीमतीको मिर्गौला र कलेजो प्रत्यारोपण गर्नुपर्छ भनेपछि आफै दिन्छु भनी नीरचन्द्रले काठमाडौं आएर स्वास्थ्य जाँच गराएका थिए। नभन्दै उनको कलेजो श्रीमतीलाई दिन मिल्यो पनि।

अहिले श्रीमती उठेर हिँडे्को देख्दा नीरचन्द्रको खुसीको सीमा छैन्। उनी भन्छन्, ‘तीन वर्ष अस्पताल धाउँदा यति धेरै खर्च भयो भनेर साध्य छैन्। त्यसरी उपचार गरेअनुसार अहिले श्रीमती उठेर हिँडे्को देख्दा एकदम खुसी लाग्छ। खुसीको सीमा नै छैन्।’

नीरचन्द्र भन्छन्, ‘उपचार लाग्दाको खर्च निकाल्नै बाँकी छ। कति उपचार खर्च लाग्ने हो त्यो कुरेर बसेका छन्।’ 

सोनाकुमारीलाई मिर्गौला दिएकी मञ्जु कुमारी जिसी क्षेत्री नाताले भाउजू पर्छिन्। आफ्नो नन्दलाई नयाँ जीवन दिनका लागि उनी मिर्गौला दिन तयार भइन्।

‘मैले मिर्गौला दिँदा नन्द बाच्नुहुन्छ भने किन नदिने भन्ने भयो, त्यसैले दिन तयार भए। म पनि त एउटा मिर्गौलाले बाच्छु। हामी दुवै जना बाच्छौँ भने किन नदिने भनेर दिन तयार भए,’ क्षेत्री भन्छिन्। 

साना साना भान्जा भान्जी देख्दा क्षेत्रीलाई खुबै माया लाग्यो। एउटा आमाको मन बच्चाहरू देख्दा मन पग्लिने त्यसैले नि नन्दलाई मिर्गौला दिन क्षेत्री तयार भइन्। सुरुमा नन्दलाई मिर्गौला दिन्छु भन्दा क्षेत्रीलाई डर जस्तो लागेको थियो तर अहिले नन्द उठेर हिँडेको देख्दा त्यो डर भागेर खुसी छाएको छ। मरेपछि भन्दा बाच्दा नै सक्ने सहयोग गर्नुपर्ने क्षेत्रीको भनाइ छ।  

शल्यक्रियाको नेतृत्व गरेका प्राडा. मुकुन्दराज जोशी यस्तो केस जटिल नै हुने गरेको बताउँछन्। अपरेसनलाई लिएर के हुने हो भन्ने डर भएपनि सबै जनाको कामले सफल भएको उनी सुनाउँछन्।

‘जुनै पनि अपरेसन गर्नुभन्दा अगाडि अपरेसन के हुने हो भन्ने डर त हुन्छ नै। तर हामीले अपरेसन गर्दा के गर्न हुन्छ हुँदैन भन्ने मनमा राखेका हुन्छौँ। विशेष गरी बिरामीको विश्वास जित्न सक्यौँ, र टिमको राम्रो काम भए अपरेसन सफल हुन्छ’, उनले भने। 

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा असोज २२ गते चितवन भरतपुरकी ३४ वर्षीय सोनाकुमारी थापाको कलेजो र मिर्गौला दुवैको प्रत्यारोपण गरिएको थियो।  

प्रकाशित: १२ कार्तिक २०८० १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App