१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दसैँमा टीका लगाउनेहरूको चहलपहल बढ्यो

नेपालीहरूको महान चाड विजया दशमी मनाउन आफन्तहरूकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ।  

आज दसैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम शुरु भएसँगै काठमाडौँ उपत्यकाका सडकमा चहलपहल बढ्न थालेको हो।  

काठमाडौं उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरूकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरू सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ।  

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ।  

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ।  

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ। आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो। यसैले आजको दिनलाई विजयको प्रतिकका रुपमा पनि लिइन्छ।  

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ।

प्रकाशित: ७ कार्तिक २०८० ०९:०२ मंगलबार

विजया दशमी काठमाडौं सडक सर्वसाधारणको चहलपहल