१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चाडपर्वको बेला गाउँमा नै रमाइलो

फाइल तस्वीर

तनहुँ व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दसैं मनाउन पुर्ख्याैली गाउँ गोरखा गाउँ फर्किए। फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन्।

‘हामी प्रत्येक वर्षको फूलपातीमा  दसैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैं मनाउन रमाइलो छ,’ उनले भने, ‘टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ।’

डा.शाहको परिवार दसैं मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ।

अन्य ठाउँमा रहेका आफन्तहरू पनि दसै मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ। उनले भने, ‘दसैंका बेला सबै आफन्त गाउँमा भेट हुन्छौ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ।’

दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै गए। ‘दसैं गाउँमा रमाइलो हुन्छ, दसैं सकाएर पुनः काममा फर्किन्छु,’ उनले भने।

दसैंका कारण यतिबेला दमौली बजार सुनसान बनेको छ। बजार क्षेत्रका मानिसहरू दसैं मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो।

दमौलीमा पसल चलाउँदै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दसैं मनाउन गाउँ हिंडेपछि यतिबेला दमौली बजार सुनसान छ। अन्य समयमा यातायातको चाप रहने यहाँ दसैंंको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ। यहाँका धेरैजसो पसल बन्द भएका छन्।

मुख्य व्यापारिक केन्द्रहरू दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दसैंले प्रभाव पारेको छ। सर्वसाधारण दसैंंका लागि किनमेल गरेर दसैंं मनाउन व्यस्त छन्।

शुक्रबारसम्म बजारका पसलहरूमा राम्रो व्यापार भए पनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए। उनले भने, ‘शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारदेखि व्यापार व्यवसाय घटेको छ।’

जिल्लाका ग्रामीण भेगहरूमा भने दसैंंको उल्लासमय वातावरण रहेको छ। विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दसैंको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन्।

अन्य समयमा आआफ्नो काममा व्यस्त रहने आफन्तहरूको भेटघाटले ग्रामीण भेगहरूमा छुट्टै रौनक थप्ने भिमाद नगरपालिका-९ का शिवकुमार आलेले बताए। उनले भने, ‘वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाइ चाडपर्वको बेला गाउँमा भेट हुन्छन्।’

प्रकाशित: ६ कार्तिक २०८० ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App