१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चितवनको जलविरे झरनाः दशैँ गन्तव्य (फोटो सहित)

चितवनको जलविरे झरना(लामो झरना)का बारेमा केही बर्षअघि सम्म अधिकांशलाई जानकारी थिएन्।प्रचार प्रसारको कमी र पूर्वाधारको विकास नहुँदा लामो झरना गुमनाम जस्तै बनेको थियो।

आजभोलि भने जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येमा यो झरना पर्दै आएको छ।दशैँ बिदाको सदुपयोग गर्दै टाढा टाढाबाट आएर मनोरम दृश्यमा पर्यटकहरु रमाइरहेका भेटिन्छन्। काठमाण्डौँदेखि दशैँमा घुम्न निस्केकी चन्द्रकला जोशी शुक्रबार आफ्नो परिवारसंग लामो झरनामा टहलिरहेकी थिईन्।‘म पहिलो पटक आएकी हुँ । यति राम्रो लामो झरना रैछ।मन नै आनन्द आउने,’ झरनाका फोहरा देखाउँदै उनले भनिन्, ‘यहाँ आउँदा वित्तिकै आनन्द महशुस हुने रैछ।’

लामो झरना इच्छाकामना गाउँपालिका–६ स्थित जलविरेमा पर्दछ । नाराणगढ–मुग्लिन सडकखण्ड देखि एक किलोमिटर माथि रहेको झरनामा पर्यटकको चहल पहल बढेको छ। नवलपरासी (वर्दघाट सुस्तापूर्र्व) स्थित चोरमाराकी कल्पना महत्तो टिकटकमा झरना देखेर घुम्न आएकी हुन्। यहाँ आएपछि राम्रो लागेको उनले सुनाइन्।‘पहिलेदेखि नै टिकटकबाट झरनाको बारेमा थाहा पाएकी थिएँ।आउने समयमा गाह्रो भयो,’ उनले भनिन् ‘यहाँ आएपछि राम्रो लाग्यो सित्तल छ।’  

प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गरेको पाइन्छ । जलविरे मन्दिरबाट करिव २० मिनेटमा हिडेर पुग्न सकिने यहाँ लामो छाँगाबाट झरेको पानीका फोहरा र त्यसबाट आउने शीतल, पानीका र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याउने गरेको छ।

 दशैँको छुट्टी पारेर घुम्न निस्केका नवलपुरका राजेश चौधरी लामो झरनामा आएपछि मन नै हर्षित भएको बताउँछन् । ‘नारायणगढ–मुग्लिन सडकखण्ड भएर धेरै पटक हिडियो । यस ठाउँको बारेमा थाहा थियो।तर यहाँ पहिलोपटक आएको हुँ,’ छाँगाबाट बगेको लामो पानीका फोहरा देखाउँदै चौधरीले भने, ‘परिवार सहित दशैँ मनाउन आएको हो।’

चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्न पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ।जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरे झरना १०२ मिटरको छ।यो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ र मुग्लिनबाट नारायणगढतर्फ सात किलोमिटरको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ।

 मुख्य राजमार्गबाट निजकै पर्ने हुनाले यस राजमार्गमा यात्रा गर्नेहरु उक्लेर प्रकृतिक दृश्यमा रमाइरहेका हुन्छन् । त्यसैमध्येका एक थिए बुटवलका सुदिप पोख्रेल।‘म फोटोग्राफर हो । काठमाण्डौँदेखि दशैँमा घर बुटवल हिँडेका थियौँ । यस राजमार्ग यात्रा गर्दा झरनामा आएर खिचेर जाउँ भन्ने हुन्छ,’उनले भने ‘१५ मिनेट मात्र भएर पनि घुम्न जाऔँ भनेर आएका हौँ।’  

पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढ्दै गएको छ । दशैँको समयमा दैनिक तीन सयभन्दा बढी पर्यटक घुम्न आउने गरेको जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । ‘यहाँ सामान्य दिनमा पनि दैनिक डेढ सयको हाराहारीमा पर्यटक घुम्न आउनुहुन्छ।

 यो दशैँमा दैनिक तीन सयको हाराहारीमा आउनुभएको छ,’उनले भने ‘पिकनिक तथा भ्रमण गु्रपसमेत आउनुहुन्छ। यस झरनामा विशेष गरेर बैशाख महिनामा बढी पर्यटक आउने गर्दछन्।सो बेला एकै दिन एक हजार पाँच सयको हाराहारीमा टिकट बिक्रि भएको उनले जानकारी दिए।  

झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ। झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २९ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यहाँ प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लिने गरिएको छ। स्थानीय र विद्यार्थीबाट २० रुपैयाँ प्रतिव्यक्ति लिने गरेको गाउँपालिकाले जनाएको छ।

लामो झरनाको विकासका लागि तीन तहका सरकारबाट पूर्वाधार निर्माणका काम भएका छन्। झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ।सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन्।यहाँ आउने पर्यटकलाई बास बस्नको लागि झरना भन्दा माथिको याक्राङ गाउँमा होमस्टे समेत निर्माण गरिएको छ।  

प्रकाशित: ४ कार्तिक २०८० १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App