काठमाडौं, कात्तिक २२ –काठमाडौं महानगरपालिकाले वर्षा सकिएलगत्तै भित्री सडकका खाल्डाखुल्डी पुर्ने काम सुरु गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ का विभिन्न स्थानमा भइरहेको सडक निर्माणको अवलोकन गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले सेतीओपी मार्ग कामनपा–३२ मा भइरहेको सडक निर्माणबारे जानकारी लिएका थिए ।
वर्षाको समयमा खाल्डाखुल्डी पुर्दा दीर्घकालिन नहुने हुनाले कामपाले हिउँदको समयमा सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने कामलाई तीव्रता दिन थालेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । 'अहिले नरदेवी र कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको छ । कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने आठ मिटरभन्दा कम चौडाइका सडक विस्तार र स्तरोन्नतिका लागि भनेर ८० करोड बजेट छुट्याएको छ,'उनले भने ।
८० करोडमध्ये २५ करोड साना सडकको खाल्डा पुर्नको लागि र बाँकी ५५ करोड काठमाडौंका अन्य सडक निर्माणको लागि खर्च गरिने उनले जनाए । कामपाका अनुसार मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुर्ने काम सकेर कालोपत्रे गर्न सुरु गर्ने योजना रहेको छ । सडक निर्माणको काम वर्षाको समयमा भन्दा हिउँदमा सहज हुने भएको हुनाले काम सुरु गरेको छ ।
प्रकाशित: २२ कार्तिक २०७४ ०७:५३ बुधबार