काठमाडौं – गरिब तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि दिइने करिब ५ करोड २० लाखको छात्रवृत्तिबारे लक्षित वर्ग नै बेखबर रहेको देखिएको छ । लक्षित विद्यार्थीसम्म जानकारी पुग्न नसक्दा छात्रवृत्तिको पूर्ण सिटको लागि आवदेन आउन नसक्दा गरिब तथा विपन्न विद्यार्थी लाभान्वित हुन सकेका छैनन्।
सरकारले सार्वजनिक विद्यालयबाट एइई परीक्षा दिई कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने ५ सय विद्यार्थीका लागि वार्षिक ७० लाख र स्नातकमा जुनसुकै विषय अध्ययन गर्ने २ हजार ५ सय विद्यार्थीका लागि वार्षिक ४ करोड ५० लाखको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ । सो छात्रवृत्ति व्यवस्थापन गर्ने विद्यार्थी वित्तीय सहयोग कोष विकास समीतिका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले राजधानीमा गत साता आयोजित पत्रकार सम्मेलनमा सरकारले गरिब तथा विपन्न वर्गका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिए पनि सूचना व्यापक हुन नसक्दा लक्षित विद्यार्थीले लाभ उठाउन नसकेको जानकारी दिए।
कक्षा ११ र ११ तथा स्नातक तहको लागि सरकारले ५ करोडबढीको छात्रवृत्तिको व्यवस्था थरे पनि सूचनाको अभावमा वर्षेनी ४० प्रतिशत छात्रवृत्ति खेर गइरहेको छ।
सरकारले यस वर्ष कक्षा ११ का विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीका लागि वार्षिक १४ हजार र स्नातकमा जुनसुकै विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि वार्षिक १८ हजार छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको हो । ‘कक्षा ११ मा ५ सय विद्यार्थी र स्नातकका २ हजार ५ सय विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ,’ कार्यकारी निर्देशक ढुङ्गेलले भने, ‘तर छात्रवृत्ति विद्यार्थी पाउन सरकारी विद्यालयबाटै अध्ययन गरेको हुनुपर्छ । गत वर्ष सूचनाकै अभावका कारण कक्षा ११ र स्नातकमा ४० प्रतिशत छात्रवृत्ति खेर गयो।’
‘गत वर्ष कक्षा ११ मा करिब ३ सय र स्नातकमा करिब २ हजारले मात्र छात्रवृत्ति प्राप्त गरे,’ ढुङ्गेलले बताए, ‘लक्षित विद्यार्थीले फारम नै भरेनन्।’
यो वर्ष पनि छात्रावृत्तिको लागि आवेदन दिने समय सीमा कात्तिक मसान्तसम्म रहेको छ । विद्यार्थीले सम्बन्धित जिल्ला शिक्षा कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड र बोर्डका क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सक्ने व्यवस्था कोषले गरेको उनले जनाए।
‘राष्ट्रिय परीक्षा बोर्डको विराटनगर, लहान, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज, दाङ, धनगढी र डडेलधुराका क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सकिने छ,’ निर्देशक ढुङ्गेल भने, ‘साथै विद्यार्थीलाई एसइई परीक्षाको आवेदन भरेसँगै स्कुलबाटै कक्षा ११ का लागि छात्रवृत्ति भराउने निर्देशन पनि दिइएको छ ।’ त्यस्तै यसै वर्षदेखि स्नातका लागि कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीसँग विद्यालयहरूले छात्रवृत्ति फारम भराउने व्यवस्था पनि कोष गरिसकेको उनले जनाए।
विद्यार्थीले भरेको तथ्यांकका आधारमा कोषले प्रमाणीकरण पछि छात्रवृत्ति उपलब्ध गराउने गर्छ । ‘छात्रवृत्तिका लागि योग्य भएमा कोषले विद्यार्थीको मोबाइलमै छनोट भएको सन्देश पठाउने छ,’ ढुङ्गेलले भने, ‘कक्षा ११ मा छनोट भएको विद्यार्थीको छात्रवृत्ति रकम विद्यार्थीको बैंक खातामै पठाइने व्यवस्था छ ।’ उनका अनुसार कक्षा ११ मा छात्रवृत्तिको लागि छनोट भएका विद्यार्थीहरूले कक्षा १२ मा पनि छात्रवृत्ति पाउने छन् ।
प्रकाशित: १९ कार्तिक २०७४ ०५:४३ आइतबार