२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सहकारी पीडित भन्छन्: ‘बचत फिर्ता लिन कहाँ जाऊँ’

सहकारीमा राखेको बचत फिर्ताको माग गर्दै मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सहकारी पीडितहरू। तस्बिर: विनोद सुवेदी/नागरिक

मोरङ बुढीगंगा–३ बाँसवारीकी बुधनी राजवंशीले छोरीको बिहे गर्न सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि उनको छोरीको बिहे नै रोकिएको छ।

बाँसवारी स्थित हुलास मेटलमा तरा जाली बुन्ने काम गर्दै आएकी राजवंशीले छोरीको बिहेका लागि बचत गरेको रकम नपाउँदा छोरीको बिहे नै गर्न नसकेको बताइन्।

छोरीको बिहेका लागि जम्मा पारेको ३ लाख रुपैयाँ सहकारी संचालकहरूले फिर्ता नदिएपछि उनलाई यतिबाेला आपत् आइलागेको छ।

‘मजदुरी गरेर छोरीको बिहेका लागि जम्मा पारेर राखेको पैसा सहकारीले अलपत्र पारेपछि छोरीको बिहे नै रोकियो’ राजवंशीले भनिन् ‘सरकारीले पैसा फिर्ता दिएन भने छोरीको बिहे कसरी गर्ने ?’

राजवंशी मात्रै हैन सहकारीले बचत गरेको रकम फिर्ता नदिँदा मोरङ बुढीगंगा–३ बाँसवारीकै गायत्री सहनी पनि समस्यामा परेकी छिन्।

‘सहकारीले बचत गरेको पैसा फिर्ता दिएन। अहिले त सहकारीको अफिसमा पनि मान्छे भेटिँदैनन्। प्रहरी उजुरी लिंदैन। सहकारी राजिष्टारको कार्यालयले पहिले बचत फिर्ता हुने आश्वासन दिए पनि अहिले बेवास्ता गरिरहेको छ। अब, सहकारीमा राखेको पैसा कसरी फिर्ता लिने’ उनले भनिन्। चिया पसल गरेर थोरै थोरै गरेर बचत गरेको ३ लाख रुपैयाँ सहकारीले अलपत्र पारिदिएको उनले बताइन्।

त्यस्तै मोरङ कटहरी-२ आदर्श नगरमा बमकुमार शर्मा पनि सहकारीले बचत गरेको रकम फिर्ता नदिँदा समस्यामा परेका छन्। कटहरीमा काठको काम गर्दै आएका उनले दैनिक रुपमा सहकारीमा गरेको बचत सहकारीले अलपत्र पारेपछि अब, बचत कसरी फिर्ता लिने भन्ने चिन्ता भएको बताए। 

प्रहरीले उजुरी नलिएको र सहकारी रजिष्टारको कार्यालयले पनि पैसा फिर्ता दिन पहल नगरिदिएकाले अब, बचत रकम फिर्ता लिन कहाँ जाने भन्ने अन्यौल भएको उनले बताए। 

‘पहिले सहकारीका सञ्चालकहरूले पैसा फिर्ता दिने भनेर भने पनि अहिले सम्पर्क विहीन भएपछि पैसा माग्न कहाँ जाऊँ ?’ उनले भने।

विराटनगर १० तीन टोलियाकी ७१ वर्षीय रेणुका रेग्मीले मुद्दतीमा राखेको ८ लाख रुपैयाँ पनि सहकारीले फिर्ता नदिएको बताइन्।

बुढेसकालका लागि जम्मा गरेको रकम सहकारीले अलपत्र पारेपछि आफूलाई ठूलो आपत् आइलागेको रेग्मीको भनाई छ। उनले १५ प्रतिशत व्याज दिने भनेपछि सहकारीको मुद्दतीमा तीन वर्ष पहिले ८ लाख रुपैयाँ राखेकी थिइन्। एक वर्ष व्याज लिए पनि त्यसपछि ब्याजसमेत नपाएको उनको गुनासो छ।

माछापुच्छ्रे सहकारी संस्थाका संचालक अमलेश कुमार कर्ण, संजय थापा (प्रभाकर) अमित कार्की, र राधादेवी लिम्बु बचतकर्ताको सम्पर्कमा छैनन्। सङ्कटग्रस्त सहकारीका बचतकर्ता भने केही नचलेर दसैँको मुखमा आन्दोलित हुँदै सडकमा निस्केका छन्।

प्रदेश सहकारी रजिष्टार कार्यालयले माछापुच्छ्रे सहकारीका ४ मध्ये ३ संचालकको सम्पत्ति रोक्का गरेको छ। सहकारीका संचालक संजय थापाले १ करोड ६० लाख, अमित कार्कीले ४ करोड ७३ लाख, अमलेश कुमार कर्णले १ करोड ४७ लाख र राधादेवी लिम्बुले १ करोड ४४ लाख रुपैयाँ हिनामिना गरेको प्रतिवेदन भने रजिष्ट्रार कार्यालयले नै सार्वजनिक गरेको छ।

विराटनगर महानगरपालिका, मोरङको बुढीगंगा गाउँपालिकाको केही वडा मात्र सहकारीको कार्यक्षेत्र छ। सहकारी ऐन विपरीत सहकारीका संचालकले विराट चौकबाट समेत ६० लाखभन्दा बढी रुपैयाँ संकलन गरेका छन्। मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी बचत कर्ताहरूले बचत गरेको रकम पाउनु पर्ने माग गर्दै अबको आन्दोलन जिल्ला प्रशासन कार्यालय अगाडी केन्द्रित गर्ने बताएका छन्।

प्रकाशित: २३ आश्विन २०८० १५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App