१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

किन आइरहेछन् भारतीय सुटर

काठमाडौं- कमलादी क्षेत्रमा बुधबार दिउँसो अचानक गोली चलेपछि ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोली गोलीको आवाज आएको स्थानतिर दौडियो । त्यही बेला २ युवा ज्याक डेनिस डान्सबाट निस्किएर भागेपछि प्रहरीले पिछा ग¥यो । प्रहरीले केहीबेरमै दुवै जनालाई पक्राउ ग¥यो र गोली चलाउने उनीहरू नै रहेको पुष्टि भयो ।

भारत पन्जाबका जसवीर सिंह र शरदेवेन्द्र सिंहको साथबाट एउटा आधुनिक पेस्तोल, ४ वटा म्यागजिन र ५१ राउन्ड गोली बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीहरुको साथबाट एउटा आधुनिक पेस्तोल, ४ वटा म्यागजिन र ५१ राउन्ड गोली बरामद भएको छ ।
सोधपुछका क्रममा उनीहरू दुवै भारत पन्जाबका जसवीर सिंह र शरदेवेन्द्र सिंह रहेको खुल्यो । ती भारतीय नागरिक रक्सौलबाट भैरहवा हुँदै मंगलबार बेलुका काठमाडौं भित्रिएर हेरिटेज प्जालामा बसेका थिए ।
होटलमा प्रहरीले उनीहरुले प्रयोग गरेको सेतो रङको पिबी १० एफएस ७४४९ नम्बरको मारुती सुजुकी कार फेला पा¥यो । गाडीमा केही उपहार थिए ।
५१ राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ परेको सूचना आएलगत्तै अन्तरदेशीय अपराध हेर्ने प्रहरीको विशेष ब्युरो र संगठित अपराध हेर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली कमलपोखरी वृत्त पुगेको थियो ।
बरामद हतियार ७.६५ आकारको गोली लाग्ने अटोमेटिक पेस्तोल रहेकाले दुवै जना  व्यावसायिक सुटर भएको आशंकामा विशेष ब्युरोको टोलीले दुवैलाई नियन्त्रणमा लिएर गयो ।
बरामद पेस्तोलमा ‘आर एफ आई अ स नी’ लेखिएको छ । भारतीय रक्षा मन्त्रालयअन्तर्गतको राइफल फ्याक्ट्री इसापुरको आधिकारिक वेबसाइट ‘आरएफआई डट एनआइसी डट आइएन’ मा  उक्त फ्याक्ट्रीबाट उत्पादित पेस्तोलमा पनि यस्तै लेखिएको भेटियो । यस्तो चिह्न भएको पेस्तोल भारतीय सुरक्षा अधिकारीले प्रयोग गर्छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार दुवै भारतीय नागरिक भैरहवाबाट मंगलबार बिहान नेपाल प्रवेश गरेका थिए । उनीहरू हेरिटेज प्जालामा कोठा लिएर बसेका थिए । उनीहरु संगठित योजनाअनुसार हतियारसहित नेपाल आएको प्रहरी निष्कर्ष छ ।
‘नक्कली भारतीय नोट कारोबार र पाकिस्तानसँग सम्पर्क देखिएकाको हत्याका लागि यस्तै प्रकृतिका भारतीय सुटर नेपाल आउने गरेका छन्,’ अनुसन्धानमा संलग्न उच्च स्रोतले भन्यो, ‘हतियारको प्रकार र गोलीको संख्या हेर्दा उनीहरू ठूलै योजनासहित नेपाल आएको देखिन्छ ।’
बिल विवादले दुर्घटना ट¥यो
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्यापछि काठमाडौंका चोकचोकमा प्रहरी परिचालन बढाइएको थियो । गोली चलेको स्थाननजिकै प्रहरीले सर्च एन्ड सिल अप्रेसन चलाएकाले हतियारसहितका भारतीय भाग्न असफल भए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार मंगलबार होटलमा बसेका दुवै भारतीय बुधबार दिउँसो होटल नजिकैको ज्याक डेनिस डान्सबारमा गएका थिए ।
बारमा पुगेलगत्तै उनीहरुले बियर मगाए । केही समयपछि उनीहरुले युवती पठाउन भने । रेस्टुरेन्टका कर्मचारीले दुई युवती बोलाइदिए ।
उनीहरूले दुवै युवतीसँग बसेर बियर पिए । दुवै भारतीयले युवतीलाई आफूसँगै होटलमा जाने प्रस्ताव गरे । युवतीहरुले १० हजार मागेपछि दुवै भारतीय रिसाएका थिए ।
युवतीसँग पैसाको कुरा नमिलेपछि उनीहरूले रेस्टुरेन्टको बिल मागे । रेस्टुरेन्टले २२ हजारकोे बिल पठाएपछि दुवै थप रिसाए ।
स्रोतका अनुसार त्यहाँ उनीहरूले आफूहरू प्रहरी भएको बताएका थिए । लवजले दुवै भारतीय भएको खुलिसकेको थियो । प्रहरी नै भए पनि बिल तिर्नुपर्छ भन्दै रेस्टुरेन्टका दुई बाउन्सर उनीहरु नजिक पुगेका थिए । दुवै पक्षबीच विवाद बढ्यो । भारतीय नागरिकले पेस्तोल निकाल्न खोज्दा एक्कासि पड्किएको थियो ।
‘रेस्टुरेन्टका कर्मचारीले धम्क्याउँदै चक्कु देखाएपछि आफूहरूले पनि उनीहरूलाई तर्साउन पेस्तोल निकालेको ती भारतीयले बताएका छन्,’ अनुसन्धान स्रोतले भन्यो, ‘उनीहरुले गोली लोड भएको पेस्तोल निकाल्दा अकस्मात् पड्किएको देखिन्छ ।’

किन आइरहेछन् भारतीय सुटर
भारत पन्जाबकै मनमितसिंह भाटिया केन्द्रीय कारागारभित्र हतियारसहित प्रवेश गरी युनुस अन्सारीमाथि गोली चलाउन खोज्दा पक्राउ परेका थिए । लाजिम्पाटमा मारिएका जमिम साह र घन्टाघरअगाडि मारिएका फैजान अहमदको हत्यामा भारतीय सुटर संलग्न रहेको यी घटनाको अनुसन्धानमा गठित उच्चस्तरीय आयोगको अनुसन्धानमा खुलेको थियो ।
पछिल्ला दिनमा पनि हतियारसहित काठमाडौं आएका भारतीय सुटर पक्राउ पर्ने गरेका छन् । असोज २२ मा प्रहरीको विशेष ब्युरोले भारतीय नागरिक दीपकुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई हतियारसहित बौद्धबाट पक्राउ गरेको थियो ।
नेपालका एक व्यवसायीको हत्याको योजना बनाएर उनीहरु नेपाल आएको दाबी गरिएको थियो । दुवै जनालाई अनुसन्धानपछि ब्युरोले महानगरीय प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको थियो । उनीहरूलाई कसले नेपाल पठाएको थियो र उनीहरुले ‘टार्गेट’ गरेका व्यवसायी को हुन् भन्ने अझै खुलेको छैन ।
अधिकांश यस्ता घटना नेपालका सुरक्षा निकायको ध्यान नियमित सुरक्षाभन्दा अन्य प्रकृतिको सुरक्षामा खटिएका बेला हुने गरेको छ । अहिले नेपालमा चुनावको तयारी भइरहेको छ । अधिकांश सुरक्षाकर्मी निर्वाचन सुरक्षा तयारीमा केन्द्रित छन् । यस्तो बेला भारतीय आपराधिक समूहले ठूलै योजनासहित ती दुवै युवालाई नेपाल पठाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
यी दुई जना पक्राउ परेको घटनाको शृंखलाले भने अनुसन्धानको जिम्मेवारी लिएको प्रहरी अधिकारी आफैं सशंकित देखिए । गम्भीर प्रकृतिको आपराधिक योजनासहित आएका अनुभवी अपराधी सकेसम्म रेस्टुरेन्टलगायतका स्थानमा गएर मदिरा सेवन नगर्ने, विवाद नगर्ने र परिस्थितिवश कुनै विवाद भए घटना मिलाएर सो स्थानबाट सुरक्षित स्थानमा जान्छन् ।
‘यी दुवै भारतीयले घटना मिलाउनुको साटो उल्टो आक्रोशित भएर हतियार निकालेको खुल्यो । संगठित आपराधिक समूहमा रहेर काम गर्ने अनुभवी सुटरले प्रायः यस्तो गल्ती गर्दैनन्,’ एक प्रहरी अधिकारीले भने, ‘हतियारको संख्या र हतियारको प्रकृतिले नेपाल घुम्न आएका पर्यटक देखिएन । ती युवाले मदिरा पिएपछि नसाको सुरमा आक्रोश नियन्त्रण गर्न नसकेको हुन सक्छ ।’

प्रकाशित: १६ कार्तिक २०७४ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App