१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

बझाङमा भूकम्पः भत्किए घर, उध्रियो सडक

बझाङको तलकोट केन्द्रविन्दु भएर आएको भूकम्पले तलकोट गाँउपालिका र चैनपुर क्षेत्रका स्थानीयका घर भत्किनुका साथै जयपृथ्वी राजमार्ग उध्रिएर आवागमन अवरुद्ध भएको छ।  दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प चैनपुर आसपासमा गएको थियो भने त्यसअघि २ बजेर ४० मिनेटमा तलकोट केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको गएको भूकम्प मापन केन्द्र सुर्खेतको भनाइ छ।

लुम्बिनीका प्रहरी संरचना कर्णाली सारिँदै

तत्कालीन मध्यपश्चिम विकास क्षेत्र हुँदा लुम्बिनी प्रदेशस्थित बाँकेको नेपालगञ्जमा रहेका प्रहरीका संरचना कर्णाली ल्याइदैँ छ। नेपाल प्रहरी विशेष सुरक्षा गण, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी प्रदेश कार्यालय र केनाइल स्कुल प्रदेशमा ल्याउन पूर्वाधार निर्माण र जग्गा प्राप्तिका काम भइरहेको प्रहरीको भनाइ छ।

नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु

मंगलबार सामाजिक सञ्जालमा आफूहरूलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर गरेको विरोध ¥यालीका कारण नेपालगन्जमा तनाव सिर्जना हुँदा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधिलगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थितिलाई नियन्त्रण गर्न कर्फ्यु लागेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ।

सेनाद्वारा मुक्तिनाथ क्षेत्रमा स्वास्थ्य सेवा सहितको विश्रामस्थल निर्माण

नेपाली सेनाद्वारा पवित्र धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण भएको छ। एक रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त बहुउपयोगी नवनिर्मित भवनमा अक्सिजन सिलिण्डर सहितको दुइ शय्याको मेडिकल कक्षसहित अवश्यक मेडिकल उपकरण, औषधी, पुरुष र महिलामैत्री छुट्टाछुट्टै शौचालय, विश्रामका लागि १९ वटा बेन्च र ५० मिटरको दुरीमा हेलिप्याड समेत निर्माण भएको छ।

सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित

मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक बस्दै नबसी सूचना टाँसेर बुधबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ। सोमबार समेत घम्साघम्सीको अवस्था सृजना भएको चिठ्ठा विधेयकको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा निरन्तर विरोध जारी छ।

८० लाख बराबरको लत्ताकपडा बरामद

भारतीय सीमाबाट करिब ६ किलोमिटर दूरीमा सिरहा नगरपालिका ९१८ स्थित तारापट्टीबाट मंगलबार बिहान सशस्त्र प्रहरीद्वारा तस्करीका ७८ पोका अवैध कपडा बरामद गरेको छ। असोज १३ गते ४० लाख र असोज १५ गते २५ लाख बराबरका लत्ताकपडा बरामद गर्दा आज गोठमा लुकाएर राखिएको अवस्थामा ८० लाख रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी भनाइ छ।

निःशुल्क एम्बुलेन्स सेवा

विराटनगर महानगरपालिकाद्वारा सुत्केरी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र न्यून आय भएका नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। दुईवटा एम्बुलेन्समार्फत सेवा प्रदान गर्ने जनाएको महानगरले लक्षित व्यक्तिबाहेक विराटनगर क्षेत्रभित्र सेवा प्रयोग गरेबापत अन्य नगरवासीलाई समेत सहुलियत दरमा सेवा प्रदान गरिने छ।

प्रकाशित: १६ आश्विन २०८० १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App