वृद्ध भत्ता लिन पैदल गाउँपालिका जाँदै गरेका चूमनुब्री-२ गोरखाका चेवाङ दोर्जी भिरबाट लडेर अचेत अवस्थामा छन्। उनी लडेको स्थान मनास्लु संरक्षण क्षेत्र भित्र परेकाले समयमै उद्धार गर्न अप्ठेरो भएको छ।
उक्त क्षेत्रका प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईले सोमबार दिउँसो फेसबुकमा एक स्ट्याटस लेख्दै संरक्षण क्षेत्र भएकाले दाेर्जीको समयमै उद्धार गर्न नसकिएको बताएका छन्।
‘दाेर्जी भिरबाट लडेर अचेत हुनुहुन्छ। यो मनास्लु संरक्षण क्षेत्रमा पर्छ। यो निषेधित क्षेत्र हो। यसको औचित्य मान्छे मार्नु हो। उद्धार अनुमति पाउन के गर्नु पर्ला ?’ सांसद बजगाईले फेसबुक मार्फत हारगुहार मागेका छन्।
उनले अगाडी भनेका छन्, ‘हैरान पार्छौ निकम्मा नियमनकारी ! कसलाई चाहिएको हो निषेधित क्षेत्र चीनलाई कि नेपाललाई?।’ सांसद बजगाईले आफूले दाेर्जीको उद्धारका लागि सम्बन्धित कार्यालयमा बारम्बार आग्रह गर्दा पनि नमानेको जानकारी दिएका छन्।
मनास्लु गोरखा र मनाङ जिल्लाको भूभागमा फैलिएको छ। याउ उत्तरमा छिमेकी राष्ट्र चीनसँग सिमना जोडिएको छ भने पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ।
प्रकाशित: ८ आश्विन २०८० १०:३९ सोमबार





-600x400.jpg)