२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

अछेतेका घरटहरा भत्काइँदै

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्ड अझै सम्पन्न हुन सकेको छैन ।

दश वर्षदेखि बागलुङ खण्डका सडकमा कालोपत्र सुरु गरिए पनि अझै सम्पन्न हुन नसकेको हो । निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घरटहराहरूले समेत समस्या बनाएका छन् । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किमी सडक पर्छ ।

यसका लागि हाल लोकमार्ग निर्माणका लागि अछेते बजारका घरटहरा हटाइने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी तथा इन्जिनियर पवन सुवेदीले यसका लागि हाल मूल्याङ्कन भइरहेको बताए ।

बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमी सडकमा अहिले कालोपत्रका लागि पाँचौँ पटक म्याद थप्न लागिएको छ ।अन्तिम पटकलाई म्याद थप गर्नेगरी निर्माण कम्पनी काममा फर्किएपछि सडक चौडा पार्न घरटहरा भत्काउनु अघि क्षतिपूर्ति दिनका लागि मूल्याङ्कन भइरहेको हो । सुवेदीका अनुसार अछेतेमा पाँच परिवारका आठ वटा घरटहरा भत्काउन लागिएको हो ।  

यसअघि गत असार १९ गतेको सरकारको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ती दिएर घरटहरा भत्काउने निर्णय गरेको थियो । ‘लोकमार्ग विस्तारमा घरटहरा परेमा मात्रै क्षतिपूर्ति दिने व्यवस्था छ, मन्त्रिपरिषद्को निर्णयपछि मात्रै हामीले काम अगाडि बढाएका हौं, अहिले भत्काउने घरहरूलाई सङ्केत गर्ने, कच्ची वा पक्की छुट्याउने र क्षतिपूर्ति दिने रकम मूल्याङ्कन गरिरहेका छौं,’ सुवेदीले भने ।

बागलुङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको क्षतिपूर्ति व्यवस्थापन समितिले सहायक प्रजिअ चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घरटहरा भत्काउने प्रायोजनमा उपसमिति बनाइएको छ ।रासस  

प्रकाशित: ७ आश्विन २०८० ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App