नेपाल पत्रकार महासंघले नागरिक दैनिक र यसका भगिनी प्रकाशनलाई बन्द गराउन नेपाल रिपब्लिक मिडियामा तालाबन्दी गरेको छ।
महासंघका पदाधिकारीको नेतृत्वमा बुधबार बिहान नागरिक दैनिक, रिपब्लिका दैनिक, नागरिकन्युज र माई–रिपब्लिका अनलाइनको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया लिमिटेडको कार्यालयमा तालाबन्दी गरिएको हो। तालाबन्दीबाट दैनिक काममा असर पर्ने भएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा ताला खोलिएको थियो।
नेपालको लोकतान्त्रिक आन्दोलनको पक्षमा निरन्तर लाग्दै आएको एउटा सञ्चारमाध्यमको कार्यालयमा यसरी तालाबन्दी गरिनु आफैंमा दुःखद पक्ष हो।
कुनै पनि प्रकाशन संस्था अवरुद्ध गर्न नहुने महासंघको विधानविपरीत नेपाल रिपब्लिक मिडियामाथि आक्रमण गरिएको हो। महासंघले पत्रकारिताको विकासमा योगदान गर्नेभन्दा पनि नेपाल रिपब्लिक मिडियामा काम छाडिसकेका कर्मचारीको विषयलाई लिएर धर्ना, तालाबन्दी र प्रकाशन संस्थाविरुद्ध नाराबाजी गर्ने काममा अगुवाइ गरेको छ।
पारिश्रमिक वा अन्य कुनै सुविधाको विषयमा कार्यरत कर्मचारीभन्दा बाहिरका व्यक्तिहरूले कार्यालयमा आक्रमणको प्रयाससमेत गरेको नेपाल रिपब्लिक मिडियाले जनाएको छ। मिडियाका अनुसार कार्यरत पत्रकार तथा कर्मचारीले कामलाई निरन्तरता दिइरहेको अवस्थामा बाहिरबाट आएर प्रकाशनमा अवरोध गर्न खोज्नु निन्दनीय छ।
आफ्नो संस्थामा कार्यरत कर्मचारीभन्दा बाहिरका व्यक्तिहरूले कार्यालयमा तालाबन्दी गरेको भन्दै नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष शोभा ज्ञवालीले उक्त कदमप्रति आपत्ति जनाएकी छिन्। ‘नेपालको कानुनअनुसार चलेको सञ्चारगृहमा तालाबन्दी गर्नु संविधानको मूल भावना र मर्मविपरीत छ। यसले संविधानको उल्लंघन गरेको र जनतालाई सूचनाको हकबाट वञ्चित गर्न खोजेको प्रष्ट छ’, ज्ञवालीले भनिन्।
मिडियामा कार्यरत कर्मचारीमध्ये एकाधले काम छाडेको र उनीहरुलाई पुनः काममा फर्कन गरेको आग्रहलाई समेत बेवास्ता गरेको ज्ञवालीले बताइन्। ‘कम्पनीले कसैलाई जबरजस्ती निकालेको छैन, जो बाहिर बस्नुभएको छ उहाँहरुलाई काममा आउन भनिएको छ’, उनले भनिन्। ज्ञवालीका अनुसार पत्रकार महासंघका नाममा गरिएको यस्तो कार्यले मिडियामा काम गरिरहेका कर्मचारीलाई समेत मानसिक तनाबमा पारेकाले यस्तो निन्दनीय कार्य रोकिनुपर्छ। कतिपय विषय कानुनी प्रक्रियामा गएकाले कानुनी प्रक्रिया र विधिबाट समाधान खोजिनुपर्नेमा महासंघका नामबाट गरिएको गैरकानुनी कार्यले चिन्तित बनाएको अध्यक्ष ज्ञवालीले बताइन्।
महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य नेतृत्वको टोली नेपाल रिपब्लिक मिडियाको कार्यालयमा तालाबन्दी गर्न आएको थियो। मिडिया व्यवस्थापन पक्षले स्थानीय प्रशासन र प्रहरीको रोहबरमा कार्यालयमा लगाइएको ताला खोलेर दैनिक कामकाज सञ्चालन गरेको छ।
महासंघका तर्फबाट उपाध्यक्ष आचार्य, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, कोषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्य सविता शर्मा (गोरखापत्र दैनिक) लगायतका पदाधिकारी ताला लगाउने कार्यमा सहभागी थिए।
नेपाल रिपब्लिक मिडियाले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र कानुनअनुसार सेवा सुविधा दिइरहेको अवस्थामा महासंघका नामबाट गरिएको तालाबन्दी निन्दनीय भएको जनाएको छ। मिडियाका अनुसार, महासंघसँग गरिएको सम्झौता विषयमा पत्राचार गरी समाधान खोज्दासमेत बेवास्ता गरिएको छ र कतिपय विषय कानुनी प्रक्रियामा छन्। पत्रकार महासंघको नेतृत्वमा केही दिनयता कहिले धर्नामा बस्ने, कहिले सिक्का उठाएर दिने र कहिले तालाबन्दी गरेर निर्वाचनका बेला निरन्तर सक्रिय रहेको प्रकाशनका काममा अवरोध गरी नागरिकको सूचनाको हकमा बन्देज लगाउन खोजिएको छ।
प्रकाशित: १५ माघ २०८२ ०७:१६ बिहीबार





