१५ लाखभन्दा बढी रकमसहित नक्कली नोटको कारोबार गरेको अभियोगमा इटहरी प्रहरीले दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।
प्रहरीले संखुवासभा पाँचखपन नगरपालिका वडा नं. ५ का विवेक राई र संखुवासभा मकालु वडा नं. ६ का अजय राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेका साथबाट प्रहरीले नक्कली १५ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ। प्रहरीले तीन वटा मोबाइल पनि बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय इटहरीमा आयोजित पत्रकार सम्मेलनमा इटहरीका डिएसपी टेकबहादुर कार्कीका अनुसार सुरुवातमा विवेकलाई इटहरी वडा नं. ६ को हटिया लाइनबाट पक्राउ गरी थप केरकार गर्दा इटहरी वडा नं. ३ बाट अजय पक्राउ परेका हुन्।
दुवैलाई जिल्ला अदालत सुनसरीबाट सात दिने अनुसन्धानका लागि म्याद थप गरिएको छ। डिएसपी कार्कीले अहिले प्रारम्भिक अनुसन्धानकै चरणमा रहेकाले गर्दा नक्कली नोटको गिरोहमा ठुलै समूह सक्रिय भएको अनुमान गरिएको छ।
‘इटहरीमा पक्राउ पर्नेको प्रारम्भिक अनुसन्धानबाटै काठमाडौंमा पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘यही ढंगले गिरोह पक्राउ पर्दै जाने हो भने ठुलै समूह होला।’ उनले अहिले अनुसन्धानकै क्रममा रहेकाले गर्दा विस्तृत भने केही खुल्न नसकेको जनाए।
प्रहरीका अनुसार नक्कली नोट झट्ट हेर्दा फोटो कपी पेपरमा प्रिन्ट गरेजस्तो देखिन्छ। तर, प्रिन्ट पनि हाई क्वालिटीको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताए। ‘नक्कली नोटको प्रिन्ट पूर्वमा नगरेर काठमाडौंतिरै गरेको हुनुपर्छ भन्ने लागेको छ,’ उनले भने।
पछिल्ला ट्रेन हेर्ने हो भने नक्कली नोट कारोबारी विशेष गरी दसैँको समयमा बढी मात्रमा हुने गरेको छ। यसअघि पनि दसैँको समयमा सुनसरीका विभिन्न स्थानबाट नक्कली नोटको कारोबार गर्ने समूह पक्राउ परे पनि त्यसमा संलग्न अरु समूह भने पक्राउ पर्न सकेको छैनन्। तर, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपिन रेग्मीले भने नक्कली नोटको कारोबारी गर्नेको विस्तृत अनुसन्धान गरेर विगतका घटनाक्रमलाई पनि अनुसन्धान गर्ने जिकिर गरे।
दसैँको समयमा बढी आर्थिक कारोबारबढी हुने भएकाले यतिबेला कारोबारीहरु सक्रिय हुने गरेको प्रहरीको दाबी छ।
प्रकाशित: ६ आश्विन २०८० ०९:४३ शनिबार




-600x400.jpg)
