२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

टासी लामा र हस्त गौतम।

दोलखाकी सरिता भुजेलको परिवारले चार वर्षअघि एक म्यानपावर कम्पनीलाई ३० लाख रूपैयाँ बुझाए पनि अहिलेसम्म विदेश जाने साइत जुरेको छैन। काठमाडौंको सिनामंगलस्थित विस एचआर सोलुसन म्यानपावरका सञ्चालक तुल्सीप्रसाद श्रेष्ठले सरिताबाट जापान पठाइदिने भन्दै १० लाख र उनकै दिदीका दुई छोराबाट अमेरिका पठाइदिने भन्दै २० लाख लिएका थिए।

 यसरी उक्त म्यानपावरमा पैसा फस्नेमा सरितासहित ४३ जना छन्। विभिन्न मुलुक पठाउने भनी उनीहरूबाट ४ करोड रूपैयाँ असुलिए पनि कसैले अहिलेसम्म उड्न पाएका छैनन्।

‘सञ्चालकहरू तुल्सीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामीलगायतले जापानका लागि भाषा पढ्नुपर्दैन भन्दै पैसा लिएको आज करिब चार वर्ष हुन लाग्यो। पैसा कमाउन विदेश जान खोज्दा ऋणको ब्याज तिर्दै यहीँ बस्नुपरेको छ,’ सरिताले भनिन्।

जापान जाने आशामा ठुलो रकम फस्दा घरपरिवारका सबैजना टाढिन थालेको गुनासो उनले गरिन्। ‘गरिबका लागि १० लाख रूपैयाँ ठुलो रकम हो। त्यति धेरै पैसा एकैचोटि देखेकी पनि थिइनँ,’ उनले भनिन्, ‘आज त्यही पैसाले दिनप्रतिदिन मार्दै छ। पैसाले मान्छेलाई पोल्दो रहेछ। हरेक दिन ऋण दिएका साहु घर आइपुग्छन्, सबैका सामुन्ने थर्काउँछन्।’

त्यही ऋणका कारण पतिसँग कलह हुने गरेको उनको भनाइ छ। ‘घरमा सानो छोरो छ। उसलाई छोडेर कहाँ जाऊँ?’ उनले भनिन्, ‘त्यही पैसाकै कारण पतिसँग छुट्टिनुपर्ने अवस्था आएको छ, सधैं झगडा भइरहन्छ। ब्याज कसरी तिरूँ, छोरालाई कसरी पढाऊँ, आफ्नो कमाइ छैन।’ विदेश जाने मोहले ठगीमा परेकाले राहदानी नै च्यातेर फ्याँकिदिने सोचमा आफू पुगेको बताउँदै उनले भनिन्, ‘यसले गर्दा नै त हो, यत्रो बबन्डर मच्चिएको।’

सञ्चालक श्रेष्ठको भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘जापान जान २६ लाख चाहिन्छ। पुरै सेटिङमा जापान पुग्ने हो। त्यहाँ पुगेपछि पैसा त कति हो कति। तिम्री दिदीका छोराहरूलाई पनि सहजै अमेरिका पुर्‍याउँछौं।’ सञ्चालक श्रेष्ठले मिठो तरिकाले पैसा लिएर अहिले साह्रै नमिठो स्थितिमा पुर्‍याएको भन्दै उनले गुनासो गरिन्।

जापान पठाउन नसकेको अवस्थामा पैसा फिर्ता माग्दा उल्टै नमिठो वचन बोलेको उनले बताइन्। सञ्चालक श्रेष्ठ र पुलामीको नमिठो बोली सम्झिँदै उनले भनिन्, ‘पैसा पूरा पनि दिएकै थिइनौं अनि कसरी जापान पुगिन्छ? अब पोल्यान्ड जाने भए पठाइदिन्छु। अब जापान जान सम्भव छैन। धेरै फोन नगर्नू। त्यही पैसा पनि फस्ला? चुप लागेर बस्नू, काम हुन्छ। काम भएन भने पैसा फिर्ता गरौंला।’

उक्त म्यानपावरबाट ठगिने सरितालगायत सबै पीडितका आआफ्नै कथा छन्।

वैदेशिक रोजगारीको आशा देखाई सोलुसनका सञ्चालक श्रेष्ठले ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार उक्त म्यानपारका सञ्चालक श्रेष्ठको नेतृत्वमा परिचालित लालबहादुर पुलामी, अमृत श्रेष्ठ र कर्मचारी रमेश कोइराला भनिने फणिन्द्र कोइरालासमेतको मिलेमतोमा करोडौं रकम उठाइएको हो।

सञ्चालक श्रेष्ठलगायतले ४३ जना पीडितलाई पोल्यान्ड, क्रोएसिया, जापान, कतार, अमेरिकालगायत देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रत्येकबाट लाखौं ठगी गरेको पाइएको हो।

विभिन्न देश पठाउने भन्दै झुटो आश्वासन दिएर विस एचआर सोलुसन म्यानपावरले ४३ जनालाई ठगी गरेको विभागका सूचना अधिकारी कविराज उपे्रतीले बताए। ‘बेरोजगार युवाहरूलाई त्यस म्यापावरका सञ्चालक श्रेष्ठलगायतले विभिन्न देश लाने आश्वासन देखाएर पैसा असुलेका छन्,’ उनले भने, ‘उनीहरूबाट ठगी भएको रकम सानो छैन, झन्डै चार करोड। म्यानपावरविरुद्ध ४३ जना पीडितले विभागमा उजुरी पहिल्यै दिएका थिए। त्यसतर्फ हाम्रो ध्यानाकर्षण भएको छ।’

पीडितहरूलाई न्याय दिलाउने प्रयास भइरहेको सूचना अधिकारी उप्रेतीले बताए।

विभागका अनुसार उक्त म्यानपावर कम्पनीले विदेश पठाउने भन्दै लिएको करोडौं रकम ती पीडितलाई फिर्ता समेत गरिएको छैन। यसरी कानुनविपरीत कार्य गरेको हुँदा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको विस एच सोलुसन प्रालिका सञ्चालकलगायत ठगीमा संलग्न अन्य व्यक्तिहरूलाई पनि सोही ऐनबमोजिम सजाय हुने विभागको भनाइ छ।

साथै म्यानपावरको इजाजतपत्र समेत खारेज गरी सोही ऐनको दफा ४४ बमोजिम पीडित ४३ जनासँग असुलेको कुल रकम र सोको ५० प्रतिशतले हुन आउने जरिवाना सोही म्यानपावरबाट तिराउन लगाइने पनि विभागको भनाइ छ।

असोज २ गते मात्रै पीडितहरूलाई जरिवाना भराई पाऊँ भनी मागदाबी लिई वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष अभियोगपत्र दायर गरिएको विभागका सूचना अधिकारी उपे्रतीले जानकारी गराए।

ठगीमा पर्नेहरू सरिता भुजेल, दिनेश बोगटी, प्रेमकुमार बस्नेत, ईश्वर केसी, बिर्जु महर्जन, सुजाता फुयाँल, पर्शुराम बस्नेत, मायाकुमार लुङवा, सुसन त्यात, आनन्द अधिकारी, पारस अवाले, वर्षा सेढाईं, नकुल बस्नेत, दोर्जे शेर्पा, युद्धवीर अधिकारी, राजु कार्की, सुमन थापा छन्।

त्यसैगरी प्रकाश अवाले, पुष्परत्न शाक्य, कपिल रोका, ओमकृष्ण खत्री, कविकुमार लामा, हरिचन्द्र अधिकारी, सुमन अधिकारी, विज्ञान दाहाल, रमेश आचार्य, राकेकुमार भट्टराई, श्यामनरेश साह हलुवाई, सन्तोष योङ्या, शिव राई, जीवन वसेल, खगेन्द्र बसेल, अमर सुनार, सोनी लामा, कृष्ण महर्जन लगायत अरू आठजना उक्त म्यानपावरबाट ठगीमा परेका हुन्।

प्रकाशित: ६ आश्विन २०८० ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App