अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर, पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् । विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरी अनुसन्धानका क्रममा प्राप्त केही तथ्य र सूचना सामाजिक सञ्जाल, नेताका बोली र सञ्चारमाध्यममा आइरहे । अनुसन्धान नसकिँदै राजनीतिक शक्ति केन्द्रका घरदैलोसम्म पनि यस्ता सूचना पुगे ।
अनुसन्धान नसकीकन यसरी सूचना चुहाउँदा केही मानिस सामाजिक रूपमा दोषी करार भए । सार्वजनिक रूपमा उनीहरूको आलोचना भयो, भइरहेको छ । तर अनुसन्धान प्रतिवेदन भने भिन्न आएका छन् । अनुसन्धानका क्रममा चुहाएका सूचनाभन्दा भिन्न रूपमा प्रतिवेदन आएपछि प्रहरीको भूमिकाप्रति पनि आशंका उत्पन्न भएको छ । शरणार्थी र सुन तस्करी दुवै प्रकरणमा प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएका अनुसन्धान प्रतिवेदनमा भिआइपी आरोपीलाई चोख्याउन खोजेको आरोपसहित टीकाटिप्पणी भइरहेको छ । प्रहरीले भने दुवै प्रकरणमा अनुसन्धान अझैं पूर्ण नभएको जनाउँदै आफ्नो बचाउ गरिरहेको छ ।
शरणार्थी प्रकरण अनुसन्धानक्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका बाबु–छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना प्रहरीबाटै सार्वजनिक भयो । पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक हुँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै गृहजिल्ला अर्घाखाँचीको एउटा सार्वजनिक कार्यक्रममा थिए, जहाँबाट उनले केही सञ्चारकर्मीसँग अनुसन्धानमा सघाउने प्रतिक्रिया दिए ।
पक्राउ पुर्जी जारी भएकै दिन सभामुख घिमिरेसँगै अर्घाखाँचीबाट बुटवल झरेका रायमाझी दोस्रो दिन त्यहींबाट फरार भए । उनका छोरा सन्दीप भने पक्राउ परे । टोपबहादुर भने ११ दिनपछि काठमाडौंबाट पक्राउ परेका थिए । उनको पक्राउमा भएको ढिलाइले अनुसन्धान केहीदिन प्रभावित बन्यो । प्रहरीले रायमाझी बाबुछोराविरुद्ध पक्राउ पुर्जीको सूचना नचुहाएको भए यस्तो हुँदैनथ्यो होला ।
प्रहरीले शरणार्थी प्रकरण अनुसन्धानक्रममा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका बाबुछोरा र थापाकै छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना चुहायो ।
पक्राउ नगर्दै सूचना चुहाएका कारण प्रतीक थापा र राईका छोरा निरज हालसम्म फरार छन् । उनीहरू दुवैजना फरार हुँदा अनुसन्धान प्रभावित भएको स्वयं प्रहरी अधिकारी बताउँछन् ।
‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरण संगठित अपराध हो, जुन तह–तहमा हुन्छ । अपराधका विभिन्न तह अनुसन्धान गर्दा प्रतीक थापा र निरज राई संलग्नता हुन सक्ने देखियो । उनीहरू पक्राउ पर्दा अपराधको अर्को तह खुल्न सक्थ्यो,’ अनुसन्धानमा खटिएका प्रहरीका एक अधिकारी भन्छन्, ‘व्यक्तिसँग हुने प्रमाणले अनुसन्धानका तहलाई जोड्छ । त्यसैले उनीहरू फरार हुँदा अनुसन्धान प्रभावित भएको वा अपूर्ण रहेको मान्न सकिन्छ ।’
शरणार्थी प्रकरणमा अनुसन्धान चलिरहँदा प्रहरीले आरोपी केशव दुलाल र नेपाल सरकारका तत्कालीन सचिव टेकनारायण पाण्डेबिचको वाट्सएपमा भएको संवादको ‘स्क्रिन सट’, हिरासतमा रहेका आरोपितले नेपाली कांग्रेसका नेत्रीहरू आरजु राणा देउवा र मञ्जु खाणलाई रकम दिएको भनिएको अडियो टेप, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नीदेखि केही पूर्वसचिवलाई रकम दिएको बताएको भन्ने सूचना पनि चुहायो । यस्ता सूचना चुहिएपछि राजनीतिक वृत्मा ठुलै तरंग आएको थियो ।
सुन तस्करी प्रकरणमा अनुसन्धान चलिरहँदा पनि यसैगरी सूचनाहरू चुहाइएको थियो । विशेषगरी पक्राउ परेका व्यक्तिहरूको नेकपा माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध, तस्करीका नाइके मानिएका दावा छिरिङ र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीबिच संवाद भएको भन्दै विभिन्न सूचना बाहिरिए । यसले पनि प्रहरीको व्यावसायिक मर्यादामाथि प्रश्न उठेको छ ।
‘यसपटक अनुसन्धानकै क्रममा प्राप्त सूचना छताछुल्ल चुहिएको देख्दा म पनि बढी आश्चर्यमा परेको छु,’ नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल भन्छन्, ‘यसरी सूचना चुहाउनु प्रहरीको गैरव्यावसायिक काम हो । यसले त सरासर अनुसन्धान प्रभावित हुन्छ नि ।’
नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायत भने प्रहरीले अनुसन्धान प्रभावित पार्नेगरी सूचना चुहाएको मान्न तयार छैनन् ।
‘अनुसन्धान प्रभावित हुनेगरी प्रहरीले सूचना चुहाउन्न । चुहाएको पनि छैन,’ उनले भने, ‘प्रवक्तामार्फत आधिकारिक धारणा मात्रै दिन सबै अनुसन्धान अधिकारीलाई निर्देशन छ । कसैले गैरजिम्मेवार भएर सूचना चुहाएको भए कारबाही हुन्छ ।’
शक्तिकेन्द्रदेखि व्यक्तिसम्म सूचना
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यस धन्दामा संलग्न केही राजनीतिक व्यक्तिविरुद्धको सूचना आफूलाई प्राप्त भएको दाबी गरेका थिए । आफूले सूचना प्राप्त गरेका व्यक्तिहरूलाई जोगाएर सरकारले एमालेका नेतालाई फसाउन खोजेको ओलीको आरोप थियो । स्रोतका अनुसार अनुसन्धान चलिरहँदा ती सूचना प्रहरी अधिकारीले नै ओलीसमक्ष पु¥याएका थिए । शरणार्थी प्रकरणमा अनुसन्धान चलिहरँदा त्यससम्बन्धी धेरैजसो सूचना एमालेनिकट वृत्तबाटै सञ्चारमाध्यममा आएका थिए । सुन तस्करी प्रकरणमा पनि यस्तै भयोे ।
सुन तस्करी प्रकरणमा अनुसन्धान चलिहरँदा थुनामा रहेका दावा छिरिङ र अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीबीच ‘विच्याट’ वार्ताको ‘स्क्रिनसट’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हातमा पुगेपछि सञ्चारमाध्यममा आएको थियो । लामिछानेले प्रतिनिधिसभा बैठकमा आफूसँग सुन तस्करी प्रकरणसँग सम्बन्धित प्रमाण रहेको दाबी गरेका थिए ।
स्रोतका अनुसार अनुसन्धान चलिरहँदा प्रहरी अधिकारीहरू नै राजनीतिक शक्तिकेन्द्रसम्म पुगेर सूचना चुहाउने गर्छन् । अनुसन्धान अधिकारीहरूले अनुसन्धानमा भेटिएका सूचना पुष्टि नहुँदै अथवा पुष्टि भइसकेपछि सबैजसो दलका नेतासम्म पुर्याउँछन् । राजनीतिक दलहरूले सूचना प्राप्त गरेपछि आफूअनुकूल अनुसन्धान प्रतिवेदन तयार पार्न दबाब दिने जानकार बताउँछन् । ‘राजनीतिक दलका नेताको हातमा अनुसन्धानमा प्राप्त सूचना पुर्याएपछि उनीहरूले स्वाभाविक रूपमा आफ्ना मान्छेलाई जोगाउन दबाब दिन्छन् । यस्तो दबाबले अनुसन्धान प्रभावित हुन्छ,’ नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) रवि थापा भन्छन्, ‘सूचना पाएपछि अर्को पक्षले पनि त्यस्तै दबाब दिँदा राजनीतिक दाउपेच सिर्जना हुन्छ, हुन सक्छ ।’ नेतृत्व बलियो ढंगले प्रस्तुत हुनसके मात्र अनुसन्धानले सही नतिजा दिने उनी बताउँछन् ।
किन चुहाइन्छ सूचना ?
पूर्वडिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले अनुसन्धान नसक्दै महत्त्वपूर्ण सूचना चुहाउनुको मुख्य कारण संगठनमा कार्यसम्पादन मूल्यांकन पारदर्शी र प्रभावकारी नहुनु हो । ‘प्रहरीमा बढुवा हुन वा राम्रो ठाउँमा सरुवा मिलाउन शक्तिकेन्द्रनिकट हुनैपर्ने बाध्यता छ,’ उनले भने, ‘अर्कातिर ठुला प्रकरणमा शक्तिकेन्द्रहरूले पनि सूचना खोजिरहेका हुन्छन्, जसबाट आफ्नो रणनीति तय गर्न सकियोस् । यस्तो अवस्थामा सूचना दिँदा प्यारो भइन्छ भन्ने सोच्ने गैरजिम्मेवार अधिकारीले सूचना चुहाउँछन् ।’ पछिल्लो समय प्रहरीमा बढेको ‘सेलिब्रिटी सेन्ड्रोम’ ले पनि सूचना चुहाउने काम गरिरहेको मल्लको बुझाइ छ । उनी भन्छन्, ‘यहाँ लोकप्रियताको भुत सबैमा चढेको छ । प्रहरी अधिकारीहरूमा पनि काम गरेको क्रेडिट पाउनुपर्छ, त्यसका लागि प्रचार गर्नुपर्छ भन्ने छ । यसले पनि महत्त्वपूर्ण सूचना चुहिरहेको देखिन्छ ।’ यसबाहेक सञ्चारकर्मीबाट आफ्नो कमजोरी लुकोस् भन्ने स्वार्थले निकटता राखेको अवस्थामा पनि अनुसन्धान प्रभावित पार्ने खालका सूचना चुहिने गरेको मल्लको बुझाइ छ ।
पूर्वएआइजी विज्ञानराज शर्मा अनुसन्धानका क्रममा सूचना चुहिनु र अनुसन्धान प्रभावित हुुनुमा प्रहरीको मात्रै दोष नहुने ठान्छन् । ‘अनुसन्धान प्रभावित हुनेगरी सूचना चुहिनु अपराध अनुसन्धानमाथिको अपराध हो । यो क्षम्य विषय होइन,’ उनी भन्छन्, ‘तर यसमा प्रहरीको मात्रै दोषभन्दा अलि पूर्वाग्रही भइन्छ । अनुसन्धानमा सुरूदेखि नै जोडिने सरकारी वकिल, अदालतसम्मबाट पनि सूचना चुहिन्छ ।’ कसैको दबाबमा अनुसन्धानमा ‘मिसलिड’ हुने अवस्था देखिए वा अनुसन्धानका क्रममा आफूले भेटेको तथ्यको क्रेडिट लिन पनि कुनैकुनै अनुसन्धान अधिकारीले सूचना चुहाउन सक्ने बताउँछन् ।
प्रकाशित: ३१ भाद्र २०८० ००:२५ आइतबार