मकवानपुरे साहित्यकार शान्ति प्रिय बन्दना र सहकारीकर्मी बाटुकुमारी योञ्जनलाई जागरुक महिला सम्मान २०८० प्रदान गरिएको छ।
सामुदायिक रेडियो, रेडियो मकवानपुरले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा शनिबार एक कार्यक्रमकाबीच दुई जनालाई जनही नगद १० हजार रुपैयाँसहित जागरुक महिला सम्मान प्रदान गरिएको हो।
साहित्य र सहकारीको क्षेत्रबाट महिला सशक्तीकरणमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।
सम्मानपछि मन्तव्य व्यक्त गर्दै साहित्यकार बन्दनाले रेडियोले गर्दै आएको भूमिकाको प्रशंसा गरिन्। अहिले पनि समाजमा महिला हिंसा र थिचोमिचो कायमै रहेको भन्दै उनले महिलालाई गरिने यस्ता सम्मानले अरुलाई पनि हौसला मिल्ने बताइन्।
रेडियोले स्थापनाकालदेखि नै तीजको सन्दर्भमा दुई महिलालाई जागरुक सम्मान प्रदान गर्दै आएको रेडियोका अध्यक्ष पराजुलीले जानकारी दिए।
प्रकाशित: ३० भाद्र २०८० १५:०९ शनिबार