१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तरकारी खेतीबाट २५ लाख रुपैया बढी आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले तरकारी खेती गरेर वार्षिक रूपमा २५ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन्।

डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन्। दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको बताए। उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ।

मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, सुर्खानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए।

‘केही महिनाअघि हरियो धनियाँ र सागपात मात्रै दुई लाख रुपैयाँ बढीको बिक्री भएको छ’, उनले भने, ‘वर्षमा १० लाख रुपैयाँ बढीको काउली मात्रै बिक्री हुने गरेको छ।’

उत्पादित तरकारी महेन्द्रनगर बजार पुर्‍याएर बेच्दै आएको उनले बताए।

खड्का वडाका एक्ला व्यावसायिक तरकारी खेती गर्ने किसानका रूपमा रहेका छन्। तरकारी खेती सम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरूका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताए। त्यसरी सिकेको सीपलाई निरन्तरता दिंदै आएको उनको भनाइ थियो।

‘कुनै निकायबाट तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन’, खड्काले भने, ‘गर्दै जाँदा सिकिंदो रहेछ। तालिम नलिए पनि तरकारी खेतीमा अरूभन्दा कम छैन। यसैबाट जीविकोपार्जन भएको छ।’

किसान परियोजना-२ बाट एउटा सिंचाइका लागि बोरिङ र सुदूर पश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उनले बताए।

‘तरकारी खेतीका लागि अन्य अनुदान पाइन्छ भन्छन् त्यो पनि पाएको छैन, आफ्नै सीप र पौरखमा तरकारी खेतीलाई अगाडि बढाउँदै आएका छौं’, उनले भने।

तरकारी खेतीबाट आएको आम्दानीले १२ जनाको संयुक्त परिवारको जीविकोपार्जन भएको जनाउँदै खड्काले पक्की घर समेत बनाएको बताए।

‘छोरा, बुहारी, म र श्रीमती बिहानदेखि साँझसम्म तरकारी बारीमा काम गरिरहेको हुन्छौं’, उनले भने, ‘खेतीमा सिंचाइ गर्ने, गोडमेल गर्ने, तरकारी टिप्ने र बजारसम्म लगेर बेच्ने कार्यमा व्यस्त हुन्छौं।’

तरकारी खेती गर्नुअघि खड्काले स्वामित्वको जग्गामा अरू किसानले झैं धान, गहुँ खेती  लगाउँथे। परिवारका लागि वर्षभरि खान पनि मुस्किलले पुग्ने गर्दथ्यो। घर खर्च चलाउन १५ लाख रुपैयाँसम्म ऋण लागेको उनले बताए।

‘सुरुआतमा एक कट्ठा जग्गामा तरकारी खेती गर्‍यौं। २५ हजार रुपैयाँ आम्दानी भयो, धानगहुँभन्दा निकै आम्दानी हुने भएपछि तरकारी खेतीको क्षेत्रफल बढाउँदै लग्यौं’, खड्काले भने, ‘आम्दानी बढ्दै गयो, घर खर्च चलाउन लिइएको ऋण तिर्न भ्यायौं।’

केही वर्षदेखि जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेपछि आम्दानी थप बढ्न थालेको उनको भनाइ थियो।  

प्रकाशित: २५ भाद्र २०८० ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App