७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

महिला उद्यमीका सामग्री बजारीकरण गर्न तिज महोत्सव

नेपालगन्जका महिला उद्यमीले तयार पारेका सालका टपरी । तस्बिर: गणेश/नागरिक <br>

नेपाली महिलाको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा पश्चिम नेपालका बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा भड्किला तिज विशेष कार्यक्रम भइरहेका छन्।दिदीबहिनीहरूले केही रुपैयाँ संकलन गर्ने र भड्किलो तरिकाले दर खाने कार्यक्रम गर्दै आएका छन्।यो खालको संस्कृतिले एकातर्फ खर्चमा बढवा दिएको छ भने अर्कोतिर बिस्तारै मौलिक तिजको रौनक हराउँदै गएको छ।

यही भीडमा पश्चिमको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जका केही महिला नेतृहरूले महिलाहरूले उत्पादन गरेका घरेलु उत्पादनको बजारीकरण र प्रदर्शनका लागि तिज महोत्सव तथा हस्तकला प्रदर्शनी गर्न थालेका छन् । उनीहरूको प्रमुख उद्देश्य भनेको महिलाहरूले उत्पादन गरेका उत्पादनको बजारीकरण हो । महिलाहरूले भड्किलो गरेर मात्र तिज मनाउँदैनन्, व्यावसायिक प्रवर्द्धनमा पनि तिजलाई सदुपयोग गर्छन् भन्ने सन्देश दिन खोजेका छन् । ‘बजारको कमी र प्रचारप्रसारका कारण कयौँ महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाउन सकेका छैनन्,’ नारी विकास केन्द्रकी अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद मीना श्रेष्ठले भनिन्, ‘यस महोत्सवले केही हदसम्म महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गर्ने छ।’

उक्त महोत्सवको आयोजना नारी विकास केन्द्रले गर्न थालेको हो। भदौ २२ गतेदेखि सञ्चालन हुने उक्त महोत्सव २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। नेपालगन्जको रामलीला मैदानमा हुने महोत्सवमा २५ वटा स्टल हुने तिज महोत्सव तथा हस्तकला प्रदर्शनकी संयोजक सुशीला गौतमले जनाइन् । ‘२५ वटा स्टलमा फरक फरक खालका उत्पादन हुनेछन्,’ उनले भनिन्, ‘एक स्टलसँग मिल्दोजुल्दो गरी स्टल गराउँदैनौ । २५ वटा स्टलमा फरक फरक खालका घरेलु उत्पादित सामग्री हुनेछन्।’ महिला उद्यमीहरूबाट उत्पादित वस्तुहरूको प्रचारप्रसार र प्रवद्र्धन गर्ने गराउने, महिला उद्यमीबिच स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी लगानीको अवसर सिर्जना हुने उनको भनाइ छ । ‘वस्तु उत्पादन नयाँ प्रविधिहरू बारे जानकारी गराउने। पर्यटन, उद्यम सूचना प्रविधि तथा सांस्कृतिक क्षेत्रमा भएका गतिविधिहरूको जानकारी गाउने महोत्सवको उद्देश्य हो,’ उनले भनिन्, ‘महिला उद्यमीबाट उत्पादित निकासी योग्य वस्तुहरूको पहिचान प्रवर्द्धनमा सहयोग पु¥याउने छौ ।’

महिलाहरूबाट उत्पादित वस्तुहरू र उपभोक्तासँग प्रत्यक्षरुपमा परिचित गराउने र बिक्री वितरणमा सहयोग पुग्ने नारी विकास केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले जनाइन् । ‘उद्यमशीलमा लाग्न महिलाहरूलाई प्रेरित गर्ने र तिज गीत सङ्गीतका माध्यमबाट महिलालाई उद्यमी बन्ने सन्देश दिन्छौँ ।’ यसबाट तिज पर्वको मौलिक सांस्कृतिक जगेर्ना हुने उनको भनाइ छ।

महोत्सवमा स्टल र प्रवेश शुल्क निःशुल्क गरिएको छ । महिलाले उत्पादन गरेका सामग्रीको सहज बजारीकरण र प्रचारप्रसारका लागि निःशुल्क स्टल र प्रवेश शुल्क नलिइने आयोजकले जनाएको छ।

 


 

प्रकाशित: २१ भाद्र २०८० ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App