१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु

‘हाम्रो ठाऊँ, हाम्रो उत्पादन’ भन्ने नाराका साथ महिला उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्न शुक्रवारदेखि इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु भएको छ। महिला उद्यमशीलता प्रदर्शनीको प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरिन्।

प्रदर्शनी उद्घाटनका क्रममा उपसभामुख राना मगरले सरकारले महिला उद्यमीका निम्ति सहज वातावरण बनाउनु पर्ने बताइन्। ‘अहिलेकै अवस्थामा पनि महिला उद्यमीको उपस्थिती राम्रो छ, अझ सरकारले सहज बनाउने हो भने थप राम्रो हुनेछ,’ उनले भनिन, ‘ऐन–कानुन र विधेयक बनाउँदा पनि महिला उद्यमीको हितमा केन्द्रीत हुनुपर्छ।’

नेपाल उद्योग वाणिज्य सङ्घकी केन्द्रीय सदस्य एवम् महिला विभागकी प्रमुख कमला श्रेष्ठले पनि महिला उद्यमीहरूको हित अनुकुल हुने ऐन–कानुन र विधेयक ल्याउन सरकारलाई दबाब दिनुपर्ने आवश्यक रहेको बताइन्। ‘महिलाहरूले चुनौतीका साथ काम गरेर सफलता हात पारेसँगै गर्व अनुभव हुन्छ,’ उनले भनिन, ‘हरेक महिलाले मिहिनेतका साथ अघि बढनुपर्छ, कुनै काममा असफलता हुँदैन्।’ उनले एउटै क्षेत्रका महिला दिदीबहिनीले गरेको उत्पादन टाढासम्म प्रचार गर्न पनि प्रदर्शनीबाट ठूलो उपलब्धी हुने बताइन्।

प्रदर्शनी उद्घाटनका क्रममा सङ्घीय सांसद कल्पना चौधरी र प्रदेश सांसद मीना श्रेष्ठलाई सम्मान गरिएको थियो।  

इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ। जसमा घरेलु, लघु उद्योगबाट निर्मित दैनिक उपभोग्य विविध सामाग्रीहरु, जडिबुटी, हस्तकलालगायत सौन्दर्यसम्बन्धी कला सामाग्रीहरू राखिएका छन्।  

लायन्स क्लबको हलमा रहेको प्रदर्शनीमा उत्कृष्ट र सिर्जनशील उद्यमी तीन जनालाई छनोट गरेर पुरस्कार प्रदान गरिनेछ।उत्कृष्ट एवम् सिर्जनशील उद्यमी छनोट गर्नका लागि पाँच सदस्यीय समिति पनि गठन गरिएको छ।  

प्रदर्शनीमा कुल १४ लाख ३५ हजार रुपैयाँ खर्च हुने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए। प्रदर्शनीमा  ५० हजार अवलोकनकर्ता आउने अनुमान गरिएको छ।

प्रदर्शनीका क्रममा हरेक दिन साँझ सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ। प्रदर्शनीमा आउनेलाई मनोरञ्जनका लागि साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो।  

प्रदर्शनीका लागि इटहरी उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशी प्रदेश उद्योग वाणिज्य सङ्घ, साहारा नेपाल, एन बाईईएफ सुनसरीलगायतको आर्थिक सहयोग रहेको छ ।  

प्रकाशित: १५ भाद्र २०८० १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App