२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

केहीदिनदेखि अविरल परेको वर्षा कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन्। उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा परेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए।

उनका अनुसार चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापको राजेन्द्र थापा, शुली पराजुली, रमेश पराजुली, अच्युत पराजुलीका घर पहिरोको उच्च जोखिममा परेका छन्। ताथली हनुमान चोकका तीन घर र ताथली सौडोलको गिरीटोलका छ घर पहिरोको उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ। ताथली सौडोलकै देवी उच्च माध्यमिक विद्यालय पनि पोहिरोको जोखिममा परेको प्रमुख खत्रीको भनाइ छ।

पहिरोको जोखिममा परेका घर संरक्षणका लागि नगरपालिकाले टोलीनै खटाएको उनले जानकारी दिए। 'नगर क्षेत्रमा पहिरोको जोखिममा परेका घरको विवरण सङ्कलन भइरहेको र स्थानीय तहबाट सूचना प्राप्त हुनासाथ नगरपालिकाले प्राविधिकसहितको विपद् व्यवस्थापन टोली खटाउने काम भइरहेको छ', प्रमुख खत्रीले भने।

उनका अनुसार विपद् व्यवस्थापन टोलीले पहिरो निरीक्षण गरी सडक तथा घर बस्ती जोगाउन आवश्यक पहल तत्कालै सुरु गर्ने गरेको छ। नगरपालिकाले पीडितलाई तत्कालै त्रिपाल, प्लास्टिक बोरा, पाइप वितरण गर्ने तथा पहिरो रोकथामका लागि आवश्यक कार्य गरिरहेको उनको भनाइ छ। दीर्घकालीन समस्या समाधानका लागि नगरपालिकाले टेवा पर्खाल लगाउने काम पनि गरिरहेको उनको भनाइ छ।

प्रमुख खत्रीले नगरपालिकाले विपद् राहत कोषका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट छुट्याइएको जानकारी दिए। विपद् रोकथाम अन्तर्गत पूर्वतयारीका लागि रु ६५ लाख ५० हजार, विपद् व्यवस्थापनका लागि रु तीन करोड ६५ लाख ५० हजार र नगरपालिकासँगको समन्वयमा आइसेट नेपालले रु ३६ लाखको कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ।

नगर प्रमुख खत्रीले भने, 'नगरपालिका र वडामा विपद् व्यवस्थापन समिति गठन गरेका छौँ, विपद्सम्बन्धी अभिमुखिकरण, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनासम्बन्धी कार्यशाला सम्पन्न गरेका छौँ।' उनले राहत सामग्रीदेखि आधारभूत खोजउद्वार सामग्री भण्डारण गरिएको पनि जानकारी दिए। नगर प्रहरी र प्राविधिकसहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको साथै स्थलगत निरीक्षण र तत्काल सहायता वितरण पनि भइरहेको उनको भनाइ छ।

नगरपालिकाका विपद् व्यवस्थापन विज्ञ दिनेश थापाले समुदायमै उद्धारकर्ता टोलीको तयारी गर्ने, नगर प्रमुखको उद्देश्य अनुसार विपद् जोखिम नक्शाङ्कन तथा विश्लेषण गर्ने काम भइरहेको बताए। साथै विपद् न्यूनीकरणका लागि योजना बनाउने, समुदायको सङ्कटासन्नता र क्षमताको विश्लेषण गरी रणनीतिक कार्य योजना एवं विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने र स्थानीय उत्थानशील कार्यढाँचा बमोजिम विपद् उत्थानशील नगरपालिका बनाउने अभियान पनि सुरु भएको उनको भनाइ छ।

सूर्यविनायक-१० चित्तपोलको बस्ती पनि पहिरोको जोखिममा परेको छ। नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाका अनुसार चित्तपोल, गुण्डु र सिफाडोल क्षेत्रका बस्ती पहिरोको उच्च जोखिममा परेको बताए। पहिरोको जोखिममा परेका नौ घरका लागि पहिरो रोकथामका लागि सामग्री पठाइएको उनको भनाइ छ। साथै स्थलगत निरीक्षण गरी आवश्यक सहयोग पनि भइरहेको साथै नगरपालिकाले उद्धार टोली तयारी अवस्थामा राखेको समेत उनले जानकारी दिए।

सूर्यविनायककै घ्याम्पेडाँडा रानीकोट सडकमा दैनिक पहिरो जाँदा रानीकोटका पर्यटकीय बस्ती जोखिममा परेका छन्। काभ्रेपलाञ्चोक पनौती कुशादेवीबाट आउने सडकमा सवारी आवागमन पनि अवरुद्ध भएको होटल व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले जानकारी दिए। रासस

प्रकाशित: १० भाद्र २०८० १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App