८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

गाँउमा नदी पस्ने डरले रातभर जाग्राम

कपिलवस्तुको यशोधरा गाउपालिका– ८ खोरियामा नदीले कटान गरेको क्षेत्र। तस्बिर: किरणमान बज्राचार्य/नागरिक

कपिलवस्तुको बाणगंगा नदीको किनारमा रहेका ३ गाउँबासीहरु विगत ढेड महिना देखि रातभरी जाग्राम बस्ने गरेका छन्। कपिलवस्तु नगरपालिका १० अकबरपुर, महराजगंज नगरपालिका– १० हदौना र यशोधरा गाउपालिका– ८ खोरिया गाउका मानिसहरु गाउँमा नदी बस्ने त्रासले रातभरी जाग्राम बस्ने गरेका हुन्। उनीहरु कती खेर गाउँमा भेल पस्ने हो भनेर खोलामा बाढी हुदा रातभर जाग्राम बस्ने गरेका हुन।

गाउँसंगै सटेर बाणगंगा नदी बग्न थाले पछि दक्षिणी पश्चिमका ती गाँउका बासिन्दाको जीवनयापन संत्रासमय बनेकोे छ। जिल्लाको महाराजगंज नगरपालिको ८ कजरहबो कजरहबा र सिंग्रहा तथा वडा नम्बर १० को हर्दौना र करईलिया तथा कपिलवस्तु नगरपालिका १० को सौराहाको अकबरपुर, यशोधरा गाउपालिका– ८ खोरिया गाँउका बासीन्दाको जीवन संत्रासमय बनेको छ।

गाउँलाई सुरक्षित गर्न नदीमा विभिन्न ठाउमा बनाइएको पक्की तटबन्ध (ठोक्कर) नदीले भत्काउदै बगाई लगे पछि अहिले गाउँ बगाउने खतरा बढेको हो। उत्तर पूर्वबाट आएको बाणगंगा नदी र पश्चिम दक्षिणबाट आएको सोतबा नदीले घरेको चार गाउका वासिन्दा बर्षेनी कटान र डुवानको समस्याबाट पिडित हुदै आएका छन्। नदीका कारण ५० बिघा खेत गुमाएको यशोधरा गाउपालिका– ८ खोरियाका जमिरल्लाह मुसलमानले नदी कटान आफनो लागि अभिसाप बनेको बताए। विगत ढेड महिना देखि आफूहरु रातभरी जाग्राम बस्ने गरेको उनले बताए। ‘पालैपाले गरी पहरेदारी गर्छौ’ उनले भने। ‘भएको खेत जति सबै नदीले खायो, थोरै मात्र बाँकी छ परिवारको गुजारा चलाउन पनि मुस्किल बनेको छ’ उनले दुःखी हुदै भने। नदीले २५ बिघा खेत बगर बनाए पछि पीडामा रहेको अनारुल हाजीले नदीले गर्दा गाउलाई नै गरिब बनाएको बताए। ‘उर्भर जमिन जति सबै नदीले बालुवा बनायो, खान लागउ पनि समस्या परेको छ’ उनले भने।

बनाइएको तटबन्ध भत्काउन थाले पछि गाउलेहरु त्रसित बनेका छन्। नदीको बहाव बस्ती तर्फ च्याप्दै गए पछि गाउलेहरु डराएका हुन्। तटबन्ध नरहेको दक्षिण तर्फ नदीले धमाधम कटान गर्न थालेको छ। ‘तटबन्ध नभएको ठाउमा नदीले कटान गर्दै गाउँ तिर धकेल्न थालेको छ’ स्थानीय राम मिलन कोरीले भने, ‘चाडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ खोरिया गाउँमा ढाई सय जति परिवारको बसोबास छ। कजरहवा र सिंग्रहा गाउका दुई सय बढी परिवारको तीन सय विघा भन्दा बढी जमीन सो नदीले बगर र बालुवमा परिणत गरेको स्थानियवासिन्दाहरु बताउँछन्।

नदी कटान र डुबानका कारण तीन पटक सिंग्रहा गाउ सर्नु परेको दुखेसो पोख्दै स्थानीय वासिन्दा कुमारे यादवले भने ‘नदीले हाम्रो खेत पनि खायो घर पनि बगायो, अहिले पूरै गाउ टापु बनेको छ,  अविरल वर्षा र बाढी आएको बेला हाम्रो भोक निद्रा नै हराउने गर्छ। ‘नदी  गाउँमा कहिले पस्ने हो जहिले पनि चिन्ताले सताउछ, बर्षायाममा रातभरी सुत्न पाउदैनौ, पालैपालो चौकीदारी गर्छौ।’  सौराहा ९ अकबरपुरका सुर्य गिरीले नदीले दिएको दुःखको विवरण सुनाउदै भने ‘वर्षो देखिको हाम्रो पीडा कसैले सुनुवाई गरेको छैन। ’ नदी कटान सर्दै गाउँ तिर आएको छ।

नदीले गाँउलाई छुन केही मिटर मात्र बाकी छ। अकबरपुरमा नदीले गाँउलेहरुको सय बिघा बढी खेतीयोग्य जमिन बगर बनाएको छ। बाणगंगा नदीले हदौना बासिन्दालाई समेत कटान र डुबानले सताएको छ। हर्दौनाका रमेशबहादुर सिंहले भन,े ‘बाढी आउदा हामीलाई कसरी ज्यान बचाउने त्यही चिन्ताले सताउछ।’ यहाका साढे चार सय घर परिवार नदीको चपेटामा परेका छन्। हर्दौनाको ९० विघा भन्दा बढी खेत नदीले बगर बनाएको छ। बाढीको अति जोखिममा रहेका ती गाउहरुमा जलउत्पन्न प्रकोप, तत्कालीन जिवीस, रेडक्रस लगायतका निकायले तटबन्धको नाममा कराडौं रुपैया लागनी गरे पनि अहिले त्यहाँ नाम निशान छैन। हरेक वर्ष नदी नियन्त्रणको नाममा लगानी हुन्छ, तर समस्या ज्युका त्यु हुन्छ। पंचालयी शासन, बहुदलीय शासन हुदै मुलकु गणतन्त्रमा प्रवेश गरे पनि कुनै पनि सरकारले आफूहरुको समस्या समाधान नगरेको पीडित गाँउलेहरुको दुःखेको छ। सरकार, दल र प्रशासकहरुले मौखिक आश्वासन बाहेक केहि नदिए पछी स्थानियवासी निराश हुंदै भन्छन् ‘, भगवानले बचाए बाच्ने हो नत्र के पो गर्न सकिन्छ र?’

भारतले अनुदान नदिंदा बाणगंगा नदी नियन्त्रणको कार्य अलपत्र  

भारतले सरकारले बाणगंगा नदी नियन्त्रण र संरक्षणका लागि अनुदान दिने घोषणा गरे अनुसारको रकम दिन बेवास्ता गरे पछि अहिले नदी नियन्त्रणको काम अलपत्र परेको छ। भारतले सरकारले अनुदान दिने भने पछि जनता टतबन्ध कार्यालय बुटवलको अगुवाईमा एक बर्ष लगाएर नदीको डिपीआर समेत निर्माण गरेको छ। करिब ६ अर्वको लगानीको डिपीआर तयार गरेर ठेक्का समेत आह्वानको तयारी गरे पनि भारतले घोषणा गरे अनुसारको अनुदान नदिंदा नदी नियन्त्रणको काम अघि बढन नसकेको जनता तटबन्धका प्मुख ईश्वर तिवारीले बताए। अनुदानका लागि नेपाल र भारत सरकारको प्रतिनिधि बिच बस्नु पर्ने संयुक्त बैठक (जेटीआईएफएम ) समेत हाल सम्म हुन नसकेको उनले बताए। ‘भारतीय पक्षले बैठक बस्न नै खोजेका छैनन, त्यसले बाणगंगा नदी नियन्त्रणको काम सुरु नै हुन सकेको छैन’ उनले भने ‘ हामीले डिपीआर बनाएर ठेक्का समेत आवहन गर्ने तयारीमा कुरेर बसको छौ।’  भारतले अनुदान नदिदा सम्म काम सुरु हुन नसक्ने उनले बताए। ६ अर्बको लगानीमा बाणगंगा नदी नियन्त्रणको काम हुने भन्दै खुशी भएका कपिलवस्तुबासी भने अहिले सम्म काम नै सुरु नभए पछि निराश बनेका छन।  

प्रकाशित: ३ भाद्र २०८० १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App