१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनः निर्माण थालियो

गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ।

समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ। घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र मनकारी व्यक्ति जुटिरहेका छन् भने मुस्ताङवासीले विपदमा परेका कागबेनीवासीको व्यवस्थापन र पुनःनिर्माणमा श्रमदान गरिरहेका छन्।

गण्डकी प्रदेश सरकारले बाढीपीडित बनेका नागरिकलाई राहत सामग्रीसहित उद्धार, उपचार र पुनः स्थापनाको काम गर्न सुरु गरेको छ। घरबारविहीन भएका कागबेनीवासीको दिनचर्या असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन, उपकरण तथा सवारी साधनका लागि प्रदेश सरकारले इन्धन लगायतका सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए।

त्यसैगरी प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्यांकेट पठाउने, बाढीपहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षण लगायतका काम गरिरहेको उनले बताए।

कागबेनीको पुनःनिर्माणका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, फरकफरक स्थानीय तह, जिल्ला समन्वय समिति लगायतले काम गरिरहेका अध्यक्ष गुरुङले बताए।

स्थानीय नागरिकसँगै सुरक्षाकर्मी पनि कागबेनीवासीको पुनःस्थापनाका लागि दैनिक रूपमा खटिरहेका छन्। स्थानीय जनप्रतिनिधिसहित सांसद् बसेर बाढीपीडितका लागि गर्न सकिने विकल्पबारे योजना बनाउने र सोहीअनुरूप अघि बढ्ने काम भइरहेका उनले बताए।

राहत तथा उद्धारमा आआफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि संघ, प्रदेश र स्थानीय सरकार मातहतका निकाय लगायत सबै सरकारी तथा गैरसरकारी संघसंस्था, देशविदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ।

आर्थिक सहयोगका लागि वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रभु बैंकमा रहेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता’को खाता नं. २०८०१५१४१२७००२२१ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ।

बाढीले कागबेनीका २९ घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ। दुईपांग्रे १६ र चारपांग्रे दुईवटा गरी १८ सवारीसाधन, एउटा एक्स्काभेटर, कागबेनी-माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेबल पक्की पुल, कागबेनी-तिरी जोड्ने एउटा झोलुङे पुल, तीनवटा काठेपुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

यसैगरी गाउँपालिकाको ४ नं वडाको वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्रसमेत बगाएको छ।

प्रकाशित: ३ भाद्र २०८० ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App