१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरूका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर घर भई हाल काठमाडौं महानगरपालिका नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ तथा पोखरा महानगरपालिका-१० घर भई नयाँ बसपार्क बस्ने शुभेक्षा गुरुङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

उनका अनुसार पक्राउ परेको उक्त समूहले हालसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरी त्यसबाट उनीहरूले १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको खुलेको तथा हालसम्म २२ जना पीडित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएका छन्। विभिन्न व्यक्तिका फेसबुक आइडी ह्याक गरेर उनीहरूले म्यासेन्जरबाट म्यासेज गरी ई-सेवा र खल्ती जस्ता वालेटमा पैसा हाल्न लगाई ठगी गर्ने गरेका थिए।

त्यसमा सीमान्तले आइडी ह्याक गर्ने गर्थे भने अमन्तले विभिन्न बहानामा रकम माग गर्ने, शुभेच्छा तथा अनुपको काम भनेको वालेटमा आएको रकम झिक्ने काम रहेको र रोहनले भने उनीहरूलाई सीमकार्ड उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

पक्राउ परेकालाई ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: १ भाद्र २०८० ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App