८ असार २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषधको जालोमा जेलिँदै मधेस

गत बिहीबार सीमावर्ती भारतीय सहर जयनगरको मधवापुरको २९३ नम्बर पिलरनजिक खिरोदनी टोलबाट सीमा सुरक्षा बल (एसएसबी) ले गाँजासहित धनुषाका दुईजनालाई समात्यो। समातिनेमा धनुषा तुलसियाहीका नन्दकिशोर महतो र विजय यादव थिए। एसएसबीका अनुसार उनीहरू नेपालबाट भारततिर गाँजा ओसार्ने पेसेवर हुन्।  

त्यस्तै अघिल्लो साताकै मंगलबार जयनगर थानाअन्तर्गत सीमावर्ती बेतौन्हाको एक घरमा छापा मारेर एसएसबीले ठुलो परिमाणमा लागुऔषध र मदिरासहित सोही ठाउँका पप्पु यादवलाई समात्यो। उनले सीमावारिपारि अवैध रूपमा मदिरा र लागुऔषधको कारोबार गर्दै आएको एसएसबीले जनाएको छ। उनको घरबाट एसएसबीले ब्राउनसुगर ६३.९५ ग्राम, हसिस १७.२९ ग्राम, लागुऔषध सिरप १२०५ बोतल, लागुऔषध ट्याबलेट २७९५ पत्ता र नेपाली मदिरा बरामद गरेको जनाएको छ।

एसएसबीको ४८औं बाहिनी जयनगरका कमान्डेन्ट गोविन्द सिंह भण्डारीका अनुसार तस्करीविरुद्ध सीमा क्षेत्रमा बढाइएको सक्रियाताका कारण भारतबाट नेपाल र नेपालबाट भारततर्फ लागुपदार्थ, लागुऔषध र मदिराका कारोबारी पक्राउ पर्ने क्रम बढेको छ। यसैगरी गत शनिबार पर्सा प्रहरीले शरीरमा टेपले बेरेर लागुऔषध वीरगन्ज भित्र्याउने क्रममा ३ भारतीयलाई पक्राउ गर्यो। पक्राउ पर्नेमा भारत बिहार रामगढवाका ४० वर्षीय हेमताज आलम, २० वर्षीय अजितकुमार मलाह र इमतिहान आलम थिए। भारतीय बजार रक्सौलबाट वीरगन्जतर्फ पैदल आइरहेका तीनैजनालाई वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा जाँच गर्दा शरीरमा सेतो टेपले बाँधेको अवस्थामा लागुऔषध नुरफिन र डाइजेपाम (सुई) पाइएको थियो। पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीकाअनुसार अजितको साथबाट ४ सय ७९ एम्पुल, हेमताजको साथबाट ४ सय ८० एम्पुल र इमतिहानको साथबाट ४ सय ७९ एम्पुल लागुऔषध सुई बरामद भएको हो। तीनैजनालाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको छ।  

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो पनि फैलँदो छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागु औषधको भुमरीमा फसिरहेको छ।

गत शुक्रबार पर्साको ठोरी गाउँपालिकाबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई समात्यो। शंकास्पद रूपमा भारतबाट नेपालको सुवर्णपुर बजारतर्फ आउँदै गरेका ठोरी गाउँपालिका–३ का १९ वर्षीय सचिन लामा र १६ वर्षीय किशोर ठोरी–५ सुवर्णपुर वर्णमाला स्कुल नजिकबाट पक्राउ परेका थिए। उनीहरूको झोलामा लागुऔषध नाइट्राभेट १० लेखिएको नाइट्राजेपाम ३ सय १४ पिस ट्याबलेट फेला परेको थियो।  

त्यस्तै किशोरले लगाएको ज्याकेटमा गाँजाजस्तो देखिने ५० ग्राम फेला परेको थियो। दुवैजनालाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।  

त्यस्तै गत शनिबार रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित क्यान्टिन बजारबाट प्रहरीले १६ केजी गाँजासहित एकजनालाई समात्यो। क्यान्टिन बजारका ५० वर्षीय पूर्णबहादुर तामाङ गाँजासहित घरबाटै पक्राउ परेका थिए। उनको भान्साबाट झोला र ड्रममा लुकाइराखेको अवस्थामा ४ पोका (१६ केजी) गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी आइतबार सिरहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी हुँदै भारतीय सहर लदनीयामातर्फ लागुऔषध गाँजा लैजादै गरेका ६५ वर्षीय फुदन पासवानलाई प्रहरीले पक्राउ गरयो। केही व्यक्ति गाँजा बोकेर भारततर्फ जान लागेको सूचना पछ्याउँदै पुगेको प्रहरीले पासवानलाई पक्राउ गरे पनि बाँकी उम्कन सफल भए।  

गत असार २७ गते सप्तरीको सुरुंगा नगरपालिका–१ पन्ध्रकठ्ठेबाट सोही ठाउँका अनोजकुमार केसी र घनश्याम राउतलाई लागुऔषधसहित प्रहरीले समात्यो। स्पास्मोप्राक्सिभोवा प्लस ट्याबलेट २२४ थान, डाइलक्स डिसी १५९ बोतल र २ सय ग्राम गाँजासहित केसी र राउतलाई पक्राउ गरिएको हो।  

यी प्रतिनिधि घटना मात्र हुन्। मधेस प्रदेशका सीमावर्ती गाउँसहर लागुऔषधको ‘इपिसेन्टर’ बनेको स्थानीय बताउँछन्। गत आवमा मधेस प्रदेशका ८ जिल्लामा लागुऔषधसम्बन्धी ९३७ वटा मुद्दा दर्ता भएका छन्। जसमा एक हजार तीन सय चारजना पक्राउ परेका छन्। पक्राउमध्ये ३४ जना महिला छन्। आर्थिक वर्ष ०७८-०७९ मा पनि यस प्रदेशमा सोही हाराहारीमा लागुऔषधका मुद्दा दर्ता भएका थिए। जसमा एक हजार ३२ जना पक्राउ परेका थिए। आव ०७७-०७८ मा ७१४ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए। जसमा ९९९ जना पक्राउ परेका थिए। आव ०७६-०७७ मा लागुऔषधका ६३३ मुद्दा दर्ता भएकोमा ९६२ जना पक्राउ परेका थिए।  

विगत तीन वर्षमा मधेस प्रदेशमा लागु औषधसहित तीन हजार हाराहारीमा मानिस पक्राउ परेको प्रहरी तथ्यांक छ। जसमा वीरगन्जबाट मात्रै ९२६ जना पक्राउ परेका छन्। यी तथ्यांकले मधेस प्रदेशमा लागुऔषको जालो फैलँदो देखाउँछ। खुला सिमानाका कारण मधेस प्रदेशमा लागुऔषध कारोबारीलाई वारिपारि आउजाउ गर्न सहज छ। लागुऔषध कारोबारीले सञ्जाल नै बनाएर कारोबार चलाइरहेका छन्। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो। भारतीय सहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागुऔषधलाई कारोबारीले मधेसबाट अन्यत्र पठाउँछन्।  

भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षा दृष्टि पुरयाउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारमा हुने खुला बेचबिखनलगायत कारणले मधेस प्रदेश लागुऔषध कारोबारीको अखडा बन्दै गएको हो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला भएर पहाडी जिल्ला र काठमाडौं उपत्यकासम्म लागुऔषध पुरयाइने गरेको प्रहरी स्रोतको भनाइ छ।  

मधेस प्रदेशसभा सदस्य राजकुमार गुप्ता (राजु) लागुऔषधको कुलतले युवा बिग्रिन सक्ने बताउँछन्। ‘लागुऔषध र पदार्थ प्रयोग गर्ने पहिलेभन्दा धेरै बढेका छन्, कारोबारी र कारोबार पनि बढ्दै गएको अवस्था छ’, उनले भने, ‘यो डरलाग्दो र चिन्ताजनक अवस्था हो।’ ज्यादै ठुलो र संगठित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार दुई–चारजना कारोबारी समातेको भरमा तोड्न नसकिने सामाजिक अभियन्ता बताउँछन्। लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट मधेस प्रदेशका सीमावर्ती सहरहरू हुने गरेका छन्। प्रहरीले लागुुऔषधसहित कारोबारीलाई नसमातेको पनि होइन। तर कारोबार घटेको छैन, झन्झन् बढ्दो छ। यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारी बताउँछन्।  

प्रहरी अधिकारीहरूका अनुसार खुला सिमानाका कारण लागुऔषध कारोबार नियन्त्रण चुनौतीपूर्ण बनेको छ। लागुऔषध र पदार्थ कारोबार गरिरहेको अवस्थामा पक्राउ पर्नेमा १३ देखि २५ वर्ष उमेर समूहका मानिस धेरे छन्। तथ्यांक केलाउँदा लागुऔषध–पदार्थ कारोबारी र प्रयोगकर्ता पनि यही उमेर समूहका धेरै छन्।  

लागुऔषध कारोबारीको सञ्जाल भत्काउन शून्य सहनशीलता अपनाएर कारबाही तीव्र पारिएको डिआइजी जनक भट्टराई बताउँछन्। प्रहरीको सक्रियताकै कारण कारोबारी समातिँदै गएको उनी बताउँछन्। गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो पनि फैलँदो छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागु औषधको भुमरीमा फसिरहेको छ। लागुऔषध धन्दामा सीमापारिदेखि वारिका युवाको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। यो गिरोहमा मधेस प्रदेशका मात्र नभई, पहाडी जिल्ला र काठमाडौं उपत्यकाका युवाको पनि संलग्नता भेटिएको पाइएको प्रहरी बताउँछ। एउटा समूह पारिबाट वारिका सहरसम्म ल्याउने, अर्को समूह मधेसबाट पहाडी जिल्लाका सहरसम्म पुरयाउने र अझ अर्को समूह काठमाडौंलगायत ठुला सहरसम्म लागुऔषध पुरयाउने धन्दामा लागेको तथ्य फेलापरेको प्रहरीले जनाएको छ।

वीरगन्ज नाका हुँदै भित्रिएको लागुऔषध देशका अधिकांश ठाउँमा गइरहेको प्रहरी तथ्यांकबाट खुलेको छ। मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार लागुऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले हरेक रणनीति अपनाइरहेको छ तर खुला सीमाका कारण कठिनाइ भइरहेको छ।  

गत आर्थिक वर्षमा मधेस प्रदेशमा गाँजा ५ हजार ६८५ किलो, ब्राउन सुगर ४५५ किलो, चरेस १५४ किलो, हेरोइन ७१५ ग्राम, लागुऔषध डाइलक्स डिसी ५०१९ लिटर, ट्याबलेट ६७ हजार ६२३ पिस, सुई ६५ हजार ३५६ थान बरामद भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०८० ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App