१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीमा पीडितभन्दा पीडक धेरै

दम्पतीको ठगी धन्दा

मिलन पोखरेल र पत्नी रेवता सिंखडा। तस्बिर: नागरिक

नेपालीलाई विदेशमा रोजगारी दिलाउने नाममा विभिन्न स्वरूपमा ठगी भइरहेको छ। सुनसरीको इटहरीका मिलन पोखरेल र उनकी पत्नी रेवता सिंखडाले दुबई पठाउने भन्दै लाखौं असुलेको पीडितहरूको गुनासो छ।

हाल यी दम्पती संयुक्त अरब इमिरेट्स (युएई) मा बस्छन्। इटहरी, धरानका र हेटौंडाका १० जना युवालाई चिनेजानेका पोखरेल दम्पतीले वैदेशिक रोजगारीको बहानामा ठगी गरेका छन्। युएईको दुबईमा राम्रो कम्पनीमा काम लगाइदिने प्रलोभनमा हेटौंडाका २५ र २८ वर्षीय युवा, धरानका ३३ वर्षीय युवालगायत अन्यसँग समेत जनही ४ लाख ५० हजार रूपैयाँ असुलेका थिए।

वैदेशिक रोजगारीको खोजीमा भौंतारिरहेका पीडितलाई सहयोग गर्नुको साटो विभिन्न प्रलोभनमा लाखौंलाख असुल्ने नियत राख्नेहरू जताततै भेटिन्छन्। दुबई जाने सपना बोकेकाहरूले मिलनकी पत्नी रेवता सिंखडाको बैंक खातामा मोटो रकम हालिदिएको पीडित युवकहरूको भनाइ छ। दुबईमा राम्रो काम हुन्छ भनी लाखौंलाख लिएर घर न घाटको बनाएको सबै पीडितको एउटै भनाइ छ।

नेपालीलाई विदेशमा रोजगारी दिलाउने नाममा विभिन्न स्वरूपमा ठगी भइरहेको छ। सुनसरीको इटहरीका मिलन पोखरेल र उनकी पत्नी रेवता सिंखडाले दुबई पठाउने भन्दै लाखौं असुलेको पीडितहरूको गुनासो छ।

देशभित्र रोजगारी नपाएपछि बेरोजगार भएर बस्नुभन्दा विदेश नै जानु उचित लागेर बिदेसिने तयारी गरेका धरानका युवक दलालको प्रलोभनमा परी ऋण काढेको पैसा फसाए। पतिपत्नीलाई नै दुबई जाने भनी मोटो रकम बुझाएको ती धराने युवकले बताए।

‘विदेश जाने सपनाले विभिन्न एजेन्टलाई गरेर करिब १० लाख डुबाइयो। पहिलो दलाली इटहरीका मिलन पोखरेल र रेवता सिंखडा दुवैजनाले दुबई पठाउँछु भन्दै ४ लाख ५० हजार लिएका थिए,’ उनले भने, ‘४/५ महिनाअघि पोखरेल र सिंखडाले दुबईको भिसा आयो भने। त्यहीअनुसारले दुबईका लागि उडान भर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि मात्र आफू ठगिएको थाहा भयो।’ नक्कली भिसा र श्रम स्वीकृति बनाउँदै लाखौंलाख लिएको ती युवकको गुनासो छ।

त्यसरी दुबईका लागि ऋण गरेर लिएको मोटो रकमको ब्याजले आकाश चुलिँदै थियो। दुबई जान लिएको ऋणको ब्याज तिर्न पैसा नभएपछि ती युवकले फेरि बिदेसिने सपना बुने। उनी भन्छन्, ‘एकपटक त लाखौं लाख रकम फसाइहालियो। त्यो फसेको पैसा उठाउन वैदेशिक रोजगार विभागमा उजुरी दिएको महिनौं हँुदा पनि ती दलालहरू छाती फुलाएर हिँडेका छन्। तर त्यस्ता ठगी गर्ने दलालीलाई विभागले कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिँदैनन्। उजुरी दिएको वर्षौं पुगे पनि हामीले अझै न्याय पाएका छैनौं। यसरी कति दिन चल्ने भनेर फेरि दुबई जाने योजना बुन्दै गर्दा दुबईमा आफ्नी दिदीसँगै काम गर्ने अर्का एजेन्टको फन्दामा परियो।’

एजेन्ट मिलनको भनाइ उद्धृत गर्दै ती पीडित युवकले भने, ‘श्रम स्वीकृति र भिसा सबै ठिक छ। अब दुबई आएर हामीसँगै एउटै कम्पनीमा काम गर्ने हो। अब ढुक्क हुनू।’ जसोतसो दुबई पुगिए पनि सबै नक्कली कागजातमा भिजिट भिसा रहेको र आफू ठगिएको दुबई पुगेपछि मात्र थाहा पाएको उनले बताए।

देशभित्र रोजगारी नपाएपछि बेरोजगार भएर बस्नुभन्दा विदेश नै जानु उचित लागेर बिदेसिने तयारी गरेका धरानका युवक दलालको प्रलोभनमा परी ऋण काढेको पैसा फसाए।

‘यहाँ काम पनि गर्न पाइएको छैन। भिजिट भिसामा आएको म्याद पनि सकियो। अहिले दुबई सरकारले दिनप्रतिदिनको जरिवाना चढाइरहेको छ। न नेपाल आउन सकिएको छ, न त यहाँ काम गर्न नै। ती दलाललाई पैसाको कुरा गर्दा उल्टै मार्ने धम्की दिइरहेको छ,’ उनले भने।

यसरी अवैध विज्ञापन, फेसबुक लगायत सामाजिक सञ्जालबाट, फोन सम्पर्क वा चिनजानीका हिसाबले जोकोहीले पनि व्यक्तिको राहदानी लिने, काम गर्ने–गराउने भनी रकम असुल गर्ने प्रवृत्ति छ। तर पछि उक्त काम नगर्ने वा विदेश पठाइसकेपछि पनि तोकेको सेवा, सर्त र सुविधा उपलब्ध नगराई अलपत्र पार्ने वा फिर्ता हुन बाध्य बनाउने गरेको छ।

गरिब तथा बेरोजगार युवाहरू दलालहरूको प्रलोभनका कारण ठगिनेहरूको संख्या धेरै छ। अहिले वैदेशिक रोजगारीमा ठगी गर्ने र ठगिने प्रक्रिया सामान्यझैं भएको छ। नेपालमा ठगी कतिपयका लागि आयआर्जन गर्ने प्रमुख स्रोत बनेको छ। वैदेशिक रोजगार ठगीमा संलग्न समूहले अपेक्षा नगरेको तलबसुविधा र कल्पना नगरेको मुलुकको नाम देखाएर युवालाई ठग्ने गरेको पाइएको छ। उपत्यकामा सक्रिय दलालहरूले वैदेशिक रोजगारीको ठगीलाई पेसाकै रूपमा अपनाउने गरेका छन्।

धरानका युवकजस्तै हेटौंडाका अर्का युवक पनि करिब वर्ष दिन पुग्न लाग्दासम्म पनि वैदेशिक रोजगारीमा जान पाएका छैनन्। न त ऋण काढेर ती दलाललाई दिएको पैसा नै फिर्ता आएको छ। हेटौंडाका युवक भन्छन्, ‘पैसा पहिल्यै जम्मा गर्न लगाए। भनेकै बेला ऋण काढेर भए पनि दियौं तर अहिले केहीलाई विदेश पठाएर बिचल्लीमा राखेका छन् भने केहीलाई विदेश पठाएकै छैनन्। पर्ख भन्दै आलटाल गरेको वर्ष दिन हुन लाग्यो।’

गरिब तथा बेरोजगार युवाहरू दलालहरूको प्रलोभनका कारण ठगिनेहरूको संख्या धेरै छ। अहिले वैदेशिक रोजगारीमा ठगी गर्ने र ठगिने प्रक्रिया सामान्यझैं भएको छ।

आर्थिक रूपमा विपन्न परिवारका ती युवाहरू आफ्नो पीडा बोकेर वैदेशिक रोजगार विभाग पुगेर उजुरी दिएको महिनौं बितिसक्दा पनि विभागबाट कुनै खुसीको खबर आएको छैन। विभागले पनि अहिलेसम्म पीडितलाई न्याय दिलाउन र पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन।

अहिले गन्तव्य मुलुक तथा विभिन्न देशको प्रलोभन देखाएर लाखौं ठगीका घटना बढेको र रकम वैदेशिक रोजगारीका लागि दिइएको भन्ने आधिकारिक प्रमाण नहुँदा पनि कारबाहीका लागि समस्या हुँदै गएको छ।

हिजोआज विदेश पठाइदिन्छु भन्दै पैसा लिने र फरार हुने क्रम बढ्दो छ। प्रमाण नहुँदा न्याय पाउन पनि मुस्किल हुने गरेका कारण विदेश जानका लागि कसैलाई पनि पैसा दिँदा, आइएमई गर्दा होस् या अरू माध्यमबाट दिँदा, वैदेशिक रोजगारीका लागि दिएको भनेर लेख्नुपर्ने विभागका अधिकारीहरूले बताएका छन्।

त्यस्तै वैदेशिक रोजगारीका लागि पैसा दिँदा बैंक खाताबाट बैंक खातामा पैसा पठाउन नहुने र बैंकबाट बैंकमा पठाउँदा लेनदेन हुने र लेनदेनलाई विभागले कारबाही नगर्ने विभागका आधिकारीकीहरू बताउँछन्।

एजेन्ट तथा म्यानपावरको मात्रै भर परेर विदेश जाँदा धेरै जोखिम हुन सक्छन्। कामदार आफैं सचेत नहुने हो भने बाध्यकारी श्रम तथा बेचबिखन र शोषणमा पर्ने सम्भावना धेरै हुने वैदेशिक रोजगार विज्ञहरू बताउँछन्।

अहिले गन्तव्य मुलुक तथा विभिन्न देशको प्रलोभन देखाएर लाखौं ठगीका घटना बढेको र रकम वैदेशिक रोजगारीका लागि दिइएको भन्ने आधिकारिक प्रमाण नहुँदा पनि कारबाहीका लागि समस्या हुँदै गएको छ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा ३ हजार ३५६ वटा उजुरी परेकामध्ये ३५९ वटा मात्रै फस्र्योट भएका छन्। विभागका निर्देशक कविराज उप्रेतीले वैदेशिक रोजगारीका क्रममा परेका उजुरीमध्ये ठुलो संख्याका व्यक्तिगत भएकाले ती उजुरी टुंगो लगाउन समय लाग्ने भएकाले फस्र्योटको संख्या थोरै भएको जानकारी दिए। संस्थागत उजुरीको हकमा कारबाही गर्न पनि सहज हुने तर व्यक्तिगत उजुरीका दोषी पत्ता लगाउनै समय लाग्ने गरेको उनको भनाइ छ।

विभागका अनुसार आव २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको संख्या ३ हजार ३५६ वटा रहेका छन् भने गत आव २०७८/७९ मा वैदेशिक रोजगारीका नाममा परेका उजुरीको संख्या १ हजार ७४२ वटा थिए। दुई आर्थिक वर्षको तथ्यांक विश्लेषण गर्दा पछिल्लो आव २०७९/८० मा वैदेशिक रोजगारीमा हुने ठगीका उजुरी १ हजार ६१४ ले बढेका छन्।

प्रकाशित: २८ श्रावण २०८० ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App