४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चोकचोकमा राखिएका सालिक एकमहिना भित्र व्यवस्थापन गरिने

पोखराको पृथ्वीचोकमा लखन थापा र पृथ्वीनारायण शाहको सालिक राख्ने विषयमा सधैंजसो विवाद हुदैं आएको छ। चोकमा जनआन्दोलन अघि पृथ्वीनारायण शाहको पूर्णकदको सालिक थियो। अहिले त्यहाँ लखन थापाको सालिक छ।त्यही सालिकको विषयमा सधैंजसो विवाद हुदैं आएको छ।

वर्षेनी हुने विवादले दीर्घकालीन समाधान निकाल्न नसकेकै अवस्थामा पोखरा महानगरपालिकाको अगुवाईमा बसेको सर्वदलीय सर्वपक्षीय भेलाले चोकका सालिक व्यवस्थापन गर्ने निर्णय गरेको छ।

पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकको व्यवस्थापन गर्ने निर्णय गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सडकमा रहेका सालिक महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण र व्यवस्थापन गर्ने निर्णय गरेको हो।

तत्कालीन महानगर प्रमुख मानबहादुर जिसीले समेत सालिकलाई पोखरा—१८ सराङकोटको जामुनबोटस्थित शहीद पार्कमा व्यवस्थापन गर्ने निर्णय गरेका थिए। तर तत्कालीन समयमा महानगरका मगर समुदायको चर्को विरोधपछि लखन थापाको सालिकलाई शहीद पार्कमा सार्ने कामले पूर्णता पाउन सकेको थिएन।

२०६२/२०६३ को दोस्रो जनआन्दोलनसँगै तत्कालीन माओवादीको भातृ संगठन वाईसिएलका कार्यकर्ताले पृथ्वीनारायण शाहको पूर्णकदको सालिकलाई तोडफोड गरेर भत्काएका थिए। त्यसपछि नेपाल मगर संघले अर्ध कदको लखन थापाको सालिक स्थापना गरेका थिए। अर्ध कदको सालिकलाई निकालेर संघले थापाको पूर्णकदको सालिक स्थापना गरेका हुन्।

त्यही स्थानमा पृथ्वीनारायण शाहकै सालिक स्थापना हुनुपर्ने आवाज राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्दै आएको छ। तर मगर संघले भने प्रथम शहीद थापाको सालिक हटाउन नदिने अडान राख्दै आएका थिए । सालिककै विषयमा बहस चलेपछि पोखरा महानगरपालिकाले सर्वदलीय सर्वपक्षीय बैठक बोलाएको हो। सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण.व्यवस्थापन गर्ने निर्णय गरियो।’ निर्णय अनुसार एक महिना भित्र सडकमा रहेका सबै सालिकको व्यवस्थापन गरिनेछ।

साथै बैठकले साबिकको पृथ्वीचोक हालको लखनचोकमा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडि राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय समेत गरेको छ। पोखरा महानगरपालिकाले पोखरामा चोकहरूमा रहेका सालिकहरूको व्यवस्थापन पोखरा १८ स्थित विभूति पार्कमा गर्दै आएको छ।

पोखराका चोकहरूमा रहेका सालिकहरूको स–सम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको महानगर प्रमुख आचार्यले बताए। ‘अहिले पोखराको ट्राफिक व्यवस्थापन समेत अरू कुरालाई ध्यान दिँदै अब सडकका बीचमा सालिक राख्न सक्ने अवस्था छैन,’ उनले भने, ‘यस सम्बन्धमा सम्बन्धित सरोकारवालासँग छलफल गरेर, आवश्यक प्रक्रिया पुरा गरेर सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन छिट्टै गर्नुपर्नेछ।’

पोखरा महानगरपालिकाले निर्माण गरेको सहिद तथा विभूति पार्कमा बाजागाजा सहित सम्मानपूर्वक सबै सालिकहरूको व्यवस्थापनका लागि सबै सरोकारवाला सहमत रहेको उनको भनाई थियो। उनका अनुसार एक महिना भित्र आवश्यक छलफल तथा परामर्श गरी सालिकको व्यवस्थापन गरिनेछ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नु भन्दा पनि व्यवस्थित ढंगले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने स्पष्ट पारे।  विवादको शान्तिपूर्ण समाधानमा जोड दिदैं उनले दीर्घकालीन रूपमा सडकमा सालिक रहन्नन् भन्ने कुराको जानकारी हुदाँहुदैँ पनि क्षणिक रुपमा सडकमा राख्ने विषयको वकालत गर्नु उपयुक्त नहुने जिकिर गरे। राष्ट्रले मानेका व्यक्तिहरूको सम्मान गर्नु नागरिकको दायित्व हुने भएकाले सम्मानित व्यक्तिहरूको सालिक व्यवस्थापनको विषयलाई स्वार्थसँग जोड्न नहुने बताए।

बैठकमा सहभागी दलका प्रमुख तथा प्रतिनिधिहरूले सडकमा रहेका सालिकहरूको उचित व्यवस्थापनमा ऐक्यबद्धता जनाएका छन्। सडकको बीचमा सालिक राख्दैमा उनीहरूको योगदानको सम्मान नहुने भन्दै एकीकृत रूपमा सबै सम्मानित व्यक्तिहरूको प्रतिमा व्यवस्थापनमा दलहरूले जोड दिए। सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूले सालिकको विषय साझा अपनत्वको रूपमा सम्मानजनक व्यवस्थापन हुनु आवश्यक रहेको औँल्याएका थिए। सामाजिक रूपमा कायम सद्भावलाई खलल पुर्‍याउने काम कोही कसैबाट हुन नहुने भन्दै उनीहरूले एक महिना भित्र सबै सालिकहरूको व्यवस्थापन विभूति पार्कमा गर्ने विषयमा सहमति जनाएका हुन्।

प्रकाशित: २७ श्रावण २०८० १०:११ शनिबार

सालिक पोखरा व्यवस्थापन