जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई अनुमति बिना कार्यालयको फोटो, भिडियो खिचे कानुनी कारबाही हुने ब्यहोराको सूचना गरेपछि सप्तरीका पत्रकारहरू बिहीबारदेखि आन्दोलित भएका छन्।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधवार सूचना जारी गर्दै बिना अनुमति प्रशासन कार्यालय परिसरको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा सार्वजनिक गरे कानुन बमोजिम कारबाही हुने सूचना जारी गरिएको थियो।
प्रशासन कार्यालय सप्तरीको उक्त सूचना संविधानप्रदत पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीविरुद्ध भएको नेपाल पत्रकार महासंघ सप्तरीले ठहर गर्दै बिहीबारदेखि आन्दोलन सुरु गरेको हो। नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय अगाडिबाट बिहीबार निस्केको पत्रकारहरूको विरोध र्याली राजविराज नगरका विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि एक घण्टा धर्ना दिएको थियो।धर्नापछि आयोजित कोणसभामा पत्रकारहरूले सप्तरीका प्रजिअले संविधानप्रदत पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य गरेकोले कारबाहीको माग गरेका थिए। नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जिल्ला प्रशासन कार्यालयको पछिल्लो सूचनाले स्वतन्त्र रुपमा पत्रकारिता गर्न जिल्लामा असुरक्षा उत्पन्न भएको हुँदा शुक्रवारदेखि थप कडा आन्दोलन गर्ने बताए।
यता, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार स्वतन्त्र प्रेसप्रति आफू प्रतिबद्ध रहेको बताए। उनले भने,पछिल्लो समय जिल्ला प्रशासन आउने जोसुकैले मनपरी फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने होडबाजी चलेपछि बाध्य भएर सूचना जारी गरेका हौँ। प्रेसलाई रोक्ने वा प्रेस स्वतन्त्रता माथि आँच पुर्याउनु हाम्रो बिल्कुलै मनसाय होइन, उनले भने।
प्रकाशित: २५ श्रावण २०८० ०८:५२ बिहीबार