८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

पाइलैपिच्छे ठगिन्छन् वैदेशिक रोजगारीका आकांक्षी

बिदेसिनेहरूकाे कथा

नुवाकोटका राजु पाठक बाँया र बंगाली नागरिक मोहम्मद अली (दायाँ)

वैदेशिक रोजगारीका आकांक्षीलाई पाइलैपिच्छे ठगी गर्नेहरू जतासुकै भेटिन्छन्। रोजगारी सेवासम्बन्धी जानकारी दिने भरपर्दो निकायको अभावमा ठगहरूले सिधासादा व्यक्तिलाई ठग्ने गरेका छन्।

नक्कली भिसा देखाउँदै फलानाको आइसक्यो, तपाईं किन पछि पर्ने भन्दै ठगहरूले सर्वसाधारणलाई अल्मल्याउँछन्। ‘अब खुसीको दिन आयो’ भन्दै लाखौं रूपैयाँ असुल्छन्। वेदेशिक रोजगगारीका आकांक्षीलाई के थाहा विदेश जान भन्दै देखाइएका कागजात सबै नक्कली हुन् भनेर? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न नसकेपछि मात्र छाँगाबाट खसेजस्तो अवस्थामा पुग्छन् उनीहरू। युवालाई विभिन्न प्रलोभनमा पारी नक्कली भिषा र नक्कली श्रमस्वीकृतसमेत बनाएर ठगी गरेका घटना प्रशस्त छन्।

बंगाली नागरिक मोहम्मद अलीसँग मिलेर नुवाकोटका राजु पाठकले नक्कली भिषा र श्रमस्वीकृति बनाएर युवालाई ठग्दै आएका छन्। यी दुईले युरोप तथा अन्य विभिन्न मुलुकमा राम्रो सेवासुविधा र तलब हुन्छ भन्दै रामेछापका देवराज तामाङबाट ३ लाख २० हजार रूपैयाँं उठाएको पाइएको छ। त्यस्तै ललितपुरका सुवास सिलवालबाट अजरबैजान पठाइदिने भन्दै एक लाख रूपैयाँभन्दा बढी लिएका छन्।

एजेन्टहरूले भिसा आइसकेको भन्दै तामाङ र सिलवालजस्ता थुप्रैलाई ठगी गरेका छन्। तामाङका अनुसार, अजरबैजानको एक चर्चित कम्पनीमा काम गर्न पठाइदिने भनेर उनीहरू पैसा लगेका थिए। ‘पिर गर्नु पर्दैन,’ तामाङ र सिलवाललाई उनीहरूलाई उद्धृत गर्दैै भने, ‘हामीले सबै चाँजोपाँजो मिलाइसकेका छौं। त्यहाँ हाम्रो आफ्नै कम्पनी जस्तो ठाने हुन्छ। साउन ११ गतेको भिषा आएको छ। अब बाँकी पैसा पनि ल्याउनुस् र बिदेसिँदा चाहिने सरसामान पनि किन्नु।’

बंगाली नागरिक मोहम्मद अलीसँग मिलेर नुवाकोटका राजु पाठकले नक्कली भिषा र श्रमस्वीकृति बनाएर युवालाई ठग्दै आएका छन्।

वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारीलगायत उच्च ओहोदाका व्यक्तिहरूलाई देखाउँदै पाठकले वैदेशिक रोजगारीका अन्य आकांक्षीलाई पनि ठग्दै आएको खुलेको छ। भण्डारीसँग खिँचेको तस्बिर देखाएर उनले अरूलाई प्रलोभनमा पारेका हुन्।

सिलवालले भने मागेजति पैसा नबुझाएले पाठक र मोहम्मदले दिनदिनै पैसा बुझाउन ताकेता गरेको बताए। पाठकलाई उद्धृत गर्दै सिलवालले भने, ‘अजरबैजानका लागि अरू नेपालीको भिषा आइसक्यो। अरू विदेश लाग्छन्। तिमीचाहिँ ट्वाँ पर्दै बस्नु। विदेश जाने भए पुरै पैसा बुझाऊँ।’

यसरी एजेन्टले सिधासादा युवालाई विदेश पठाउने भन्दै ठग्दै आएका छन्। विशेषगरी रोजगारीका लागि लालायित युवालाई उनीहरू मनपेट पाएर एजेन्टले सहजै प्रलोभनमा पार्छन्।

पाठक र मोहम्मदले वैदेशिक रोजगार सघंका अध्यक्ष भण्डारीलगायत अन्य व्यक्तिहरूसँग खिचेको फोटो देखाउँंदै लाखौं लाख पैसा उठाउदै आएको पीडितहरू बताउँछन्।

‘वैदेशिक रोजगार संघका अध्यक्ष भण्डारीसँग सोधपुछ गर्दा उनले बंगाली नागरिक मोहम्मद अलीलाई नचिनेको बताएपछि हामी चकित भयौं। आफूहरू फसेको र अजारबैजानका लागि आएको भनिएको भिषा र श्रमस्वीकृति नक्कली भएको खुल्यो,’ पीडितहरूले भने।

नुवाकोटका राजु पाठकले बंगाली नागरिक मोहम्मद अली (दायाँ) सँग मिलेर नक्कली भिषा र श्रमस्वीकृति बनाई युवालाई ठग्दै आएको पाइएको छ।

सरकारी आधिकारिक निकायको सम्पर्कमा नआईकन कामका लागि विदेश जान खोज्नेलाई एजेन्टहरूले विभिन्न प्रलोभन देखाएर ठग्ने गरेका छन्। वैदेशिक रोजगारीका आकांक्षीले यथार्थ थाहा नपाईकन एजेन्टलाई विश्वास गरेर पहिल्यै पैसा दिन्छन्।

महिनौं कुर्दा पनि उड्न नपाएपछि ठगिएको भन्दै सुरक्षा निकायमा पुग्छन्। तर कतिपय अवस्थामा उनीहरूले एजेन्टको हतमै नगद दिएका हुन्छन्। यस्तो अवस्थामा पीडकसँग पैसा बुझाएको प्रमाण नहुँदा उनीहरूले कानुनी उपचारससमेत खोज्न सक्दैनन्।

वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरू बढ्दै गएका छन्। उजुरी फस्र्योट संख्या भने न्यून छ। विभागका अनुसार वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएको भन्दै आर्थिक वर्ष २०७९/८० मा ३ हजार ३५६ वटा उजुरी परेकोमा ३ सय ५९ वटा मात्रै फस्र्योट भएको छ। विभागका निर्देशक कविराज उप्रेतीले वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएको भन्दै परेका उजुरीमध्ये ठूलो संख्या व्यक्तिगत भएकाले टुंगो लगाउन समय लागेको बताए।

सरकारी आधिकारिक निकायको सम्पर्कमा नआईकन कामका लागि विदेश जान खोज्नेलाई एजेन्टहरूले विभिन्न प्रलोभन देखाएर ठग्ने गरेका छन्।

संस्थागत उजुरीको हकमा कारबाही गर्न पनि सहज हुन्छ तर व्यक्तिगत उजुरीमा दोषी पत्ता लगाउन समय लाग्ने उनले बताए। विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीका नाममा ठगिएको भन्दै १ हजार ७४२ वटा उजुरी परेका थिए। यी दुई आर्थिक वर्षको तथ्यांक विश्लेषण गर्दा ठगिने क्रम बढ्दो छ।

आर्थिक वर्ष २०७९/८० मा परेका ठगीका उजुरीमध्ये २ हजार ६६४ वटा व्यक्तिगत र ६ सय ४२ वटा संस्थागत थिए। व्यक्तिगत उजुरीमध्ये एक हजार २२६ विभागमा र एक हजार ४ सय ३५ वटा उजुरी प्रहरीसमक्ष परेका थिए।

विभागका अनुसार एक वर्षको अवधिमा विभागमा परेका संस्थागत र व्यक्तिगत उजुरीमा करिब १ अर्ब १५ करोड रूपैयाँ माग दाबी गरिएको छ। संस्थागत उजुरीतर्फ १ करोड ६८ लाख ७९ हजार दाबीसहितको उजुरी परेकोमा एक करोड १३ लाख १५ हजार क्षतिपूर्ति भराएको विभागले जनाएको छ।

विभागका अनुसार एक वर्षको अवधिमा विभागमा परेका संस्थागत र व्यक्तिगत उजुरीमा करिब १ अर्ब १५ करोड रूपैयाँ माग दाबी गरिएको छ।

व्यक्तिगततर्फका उजुरीमा १० करोड २३ लाख ५६ हजार क्षतिपूर्तिसहित मिलापत्र गराएको विभागले जनाएको छ। यस्तै प्रहरीमा परेका १ हजार ४ सय ३५ वटा उजुरीबाट करिब २ करोड क्षतिपूर्ति भराएको जानकारी विभागले दिएको छ।  

प्रकाशित: २४ श्रावण २०८० ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App