लगातार परेको पानीका कारण सिन्धुलीका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। सिन्धुली हुँदै निर्माण भएको वीपी राजमार्गसँग जोडेर विकट गाउँसम्म पुर्याएका सडक अवरुद्ध भएपछि सदरमुकाम आवतजावत गर्नका लागि सर्वसाधारणहरूलाई निकै कठिनाई भएको छ।
ग्रामीण सडक अवरुद्ध भएसँगै यहाँका गाउँ गाउँका यातायातका साधन सदरमुकामसम्म आवतजावत गर्न सकेका छैनन्।
सिन्धुलीबाट वीपी राजमार्गलाई आधार बनाएर झन्डै दुई दर्जन सडक निर्माण भएका छन् यस्तै मदन भण्डारी राजमार्गलाई आधार बनाएर पनि थुप्रै कच्ची सडक निर्माण भएका छन्।
हिउँद याममा प्राविधिक विनै ठुला ठुला पाखा एक्स्काभेटर लगाएर भत्काईएका सडकहरु वर्षा सुरु भएसँगै बन्द हुने गरेका छन्। हिउँद याममा अधिकांश सडकमा जसोतसो गाडी पुग्छन् तर बर्षामा भने सबै स्थानमा पुग्न सक्ने सम्भावना हुँदैन।
विपी राजमार्गको आडगढीबाट चपौली नागी चालिसे सडक पहिरोका कारण अवरुद्ध भएको छ। सडक स्तरउन्नती सहित कालोपत्रेका लागि ठेक्का लागेको बर्षौ बितिसक्दा समेत सडक निर्माणमा ढिलाइ भएपछि ठाउँ ठाउँमा पहिरो झरेर अवरुद्ध भएको हो।
यसै गरी विपी राजमार्गकै पिपलभन्ज्याङबाट घ्यालेख गाउँपालिका हुँदै काभ्रे जोडिने सडकमा समेत ठाउँ ठाउँमा पहिरोले अवरुद्ध भएको स्थानीयले जनाएका छन्। २४ घण्टादेखि निरन्तर परेको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडकमा जताततै पहिरै पहिरो भएको छ।
जिल्लाको सुनकोसी गाउँपालिका, कमलामाई नगरपालिका, घ्यालेख गाउँपालिका, मरिण, हरिहरपुरगढी यस्तै तीनपाटन गाउँपालिका लगायतका पालिका भित्र पर्ने ग्रामीण सडकहरु अवरुद्ध भएका हुन्।
ग्रामीण सडक अवरुद्ध भएपनि सिन्धुली जिल्लाभित्र पर्ने राष्ट्रिय राजमार्ग सुचारु रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। अविरल वर्षाका कारण मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पुल नजिकै क्षति भएपनि सवारी सुचारु भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।
वर्षाकै कारण विपी राजमार्गस्थित खुर्कोट नेपाथोक खण्डमा माथिबाट लेदो आएर केही बेर अवरुद्ध भएपनि सवारी सुचारु भैसकेको प्रहरीले जनाएको छ। यस्तै मध्य पहाडी पुष्पलाल लोकमार्ग समेत सुचारु रहेको एसपी सिलवालले जानकारी दिए।
‘ग्रामीण सडक केही अवरुद्ध भएका छन्, राजमार्ग सबै सुचारु छन्, उनले भने, निरन्तरको वर्षाले मरिण गाउँपालिकाको एक घरमा क्षति पुगेको रिपोर्ट आएको छ, अन्य स्थान हालसम्म सुरक्षित छ।’
निरन्तर वर्षाका कारण सिन्धुली भएर बग्ने कमलानदी मरिण नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन सम्बन्धित पालिकाका जनप्रतिनिधिहरूले सुझाएका छन्।
प्रकाशित: २३ श्रावण २०८० १०:३८ मंगलबार





-600x400.jpg)