२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निर्माण व्यवसायीको आरोपः सरकारले नै हामीलाई लुट्यो

नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन्।  

शुक्रवार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन्। कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले गरेका गल्तीहरु सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए। उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरु खारेज नगरे देशमा निर्माण व्यवसायीहरुको आन्दोलन थप चर्किने चेतावनी दिए। कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो की ठेक्का पट्टामा लाग्ने हो? भन्दै प्रश्न गरे। उनले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने बताए। उनले निर्माण व्यवसायीहरु प्लेकार्डमा मात्रै एकत्रित हुने नभइ जुनसुकै बेलामा एकत्रित हुनुपर्ने बताए। उनले छिटो काम सम्पन्न गर्नेकुरामा सबै निर्माण व्यवसायीहरु लाग्नुपर्ने बताए। उनले लामो ग्याप गरेर भुक्तानी नरोक्न सरकारलाई सुझाव दिँदै उनले प्रत्येक महिनाको ग्याप राखेर रकम भुक्तानी गर्न आग्रह गरे।

बिरोध कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरु सरकारबाट नै ठगिरहेको आरोप लगाए। उनले सरकारको काम निर्माण व्यवसायीहरुले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने बताए। उनले निर्माण व्यवसायी नेपालको मुहार फेर्ने जमात भएकाले बाटोमा खडा हुने अवस्था बाध्य नबनाउन चेतावनी दिए। उनले सिंहदरबार, बालुवाटार, शितलनिवास निर्माण व्यवसायीहरुले नै निर्माण गरेको भन्दै निर्माण व्यवसायीहरुका माग पूरा गर्न आग्रह गरे।  

बिरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्कीले ढुंगामाटोसँग खेल्ने निर्माण व्यवसायीहरुलाई सडकमा आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग आग्रह गरे। उनले निर्माण व्यवसायीहरुलाई परेको दुःख सबैको दुःख भएकाले निर्माण व्यवसायलाई अघि बढाउन माग गरेको बताए। उनले सरकारले आफ्ना मागहरुको अन्देखा गरिएको आरोप लगाउँदै सरकारले माग पूरा नगरे देशभर निर्माण ठप्प बनाउने चेतावनी दिए।  

बिरोध कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष रमेश शर्माले निर्माण व्यवसायीहरुका सम्पूर्ण माग जायज रहेकाले पूरा गर्नुपर्ने बताए। उनले आन्दोलन गरेको ६ दिन भइसक्दासमेत सरकारले आफ्ना मागप्रति चासो नदिएको भन्दै अर्को चरणको आन्दोलन चर्काउने चेतावनी दिए। उनले देशभर रोलर, एक्सभेटरहरु सडक बन्द गर्नेगरी तेर्स्याएर बिरोधमा उत्रिने चेतावनी दिए। उनले सरकारले निर्माण व्यवसायीहरुका माग पूरा गरेपछि मात्रै निर्माणका कामहरु अघि बढ्ने बताए।  

बिरोध कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गनुपूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपनि माग सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए। उहाँले असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिवद्धता जनाएपनि सोअनुसार कार्यान्वयन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले अघिल्ला सरकारले गल्ती गरेका हुन् भनेर गल्ती नसच्याइकन वर्तमान सरकार पन्छिन नपाउने बताए। उनले देश विकासका लागि सरकार सच्चन आवश्यक रहेको भन्दै बजेट दिन नसक्ने आयोजनाहरु खारेज हुनुपर्ने माग राखे।

निर्माण व्यवसायीहरुले बजेट बिनाका आयोजनाहरु खारेज गरी मूल्य समायोजन गर्नुपर्ने, एकमुष्ठ म्याद थप गर्नुपर्ने बताए।  

प्रकाशित: १९ श्रावण २०८० ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App