१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिरो पीडितका लागि राहत संकलन र वितरण तीव्र

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका बाढी तथा पहिरो पीडित एवम् प्रभावितका लागि साढे ११ लाख हाराहारी रकम संकलन गरेको छ।

केन्द्रका सल्लाहकार तथा नेपाली सेनाका अवकासप्राप्त उपरथी अनन्तबहादुर थेबेको अगुवाई र पहलमा ११ लाख ४० हजार ५ सय ४९ रुपैयाँ संकलन भएको ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिए।

सरोकार केन्द्रका पूर्व अध्यक्ष चित्रगुप्त साँवाका अनुसार थेबेले आफ्नो पहल र अगुवाईमा संकलन भएको रकम तीनकिस्ता गरेर सरोकार केन्द्रलाई हस्तान्तरण गरेका छन् । पहिलो पटक ३ लाख ६४ हजार १ सय ५ रुपैयाँ,दोस्रो पटक ५ लाख १ सय ८८ रुपैयाँ र तेस्रो पटक २ लाख ७६ हजार २ सय ५६ रुपैयाँ हस्तान्तरण भएको केन्द्रले जनाएको छ ।

सरोकार केन्द्र पेशा व्यवसायको सिलसिलामा ताप्लेजुङबाट उपत्यका गई बसोबास गर्नेहरुद्धारा गठित निकाय हो । सुरुमा ताप्लेजुङ सरोकार केन्द्र मात्र क्रियाशिल रहेकोमा विगत केहि समय देखि ताप्लेजुङ समाज काठमाडौं पनि स्थापित भई क्रियाशिल छ । यता ताप्लेजुङको सिदिङ्वाका पहिरो पीडित तथा प्रभावितहरुलाई १५ लाख ९० हजार ६ सय ५० रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ । समृद्ध सिदिङ्वा नागरिक एकता समाज र बिपद् सहयोग अभियान सिदिङ्वाको अगुवाईमा संकलित उक्त रकम सिदिङ्वाका ७ वटै वडामा पुगेर बितरण गरिएको यसका अभियान्ता मध्येका एक राजकुमार बाँनियाले जानकारी दिए । यसअघि कलाकार कृष्ण कडेंल नेतृत्वमा आएको ‘इन्द्रेणी’ टोलीले सिदिङ्वाका पहिरो पीडितलाई ४ लाख २० हजार रकम हस्तान्तरण गरेको थियो ।

 सिदिङ्वाका पहिरो पीडितलाई सिदिङ्वा गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाले समेत यसअघि राहत रकम हस्तान्तरण गरिसकेका छन् । उता ताप्लेजुङ प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)बाट निर्वाचित सांसद खगेनसिंह हाङ्गामको समन्वयमा संकलन भएको २ लाख १० हजार रुपैयाँ बराबरको राहत रकम सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावितलाई बितरण गर्न थालिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति समेतको समन्वयमा उक्त राहत रकम बितरण गरिएको फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष समेत रहेका युवा नेता क्षितिज सुनुवारले जानकारी दिए । 

यसअघि मैवाखोला गाउँपालिकाका पहिरो पीडितहरुलाई प्रदेश सांसद हाङ्गामकै समन्वयमा संकलन भएको रकमबाट राहत बितरण गरिएको हाङ्गामको सचिवालयले जनाएको छ । हाङ्गामले आगलागी पीडितद्धय मेरिङदेन गाउँपालिका वडा नं ४ लिङतेपका दिलकुमार लोङ्वा र वडा नं ५ थुकिमाका फिपराज श्रेङ्चोङ्वाङलाई जनही ५ हजार बराबरको राहत सामाग्री बितरण गरेका छन् । यसअघि प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको सहयोगमा नेकपा एमाले मैवाखोला गाउँ पालिका कमिटीले मैवाखोलाका पहिरो पीडित तथा प्रभावितलाई राहत दिएको जनाएको छ । 

यस्तै ताप्लेजुङका पहिरो प्रभावितहरुका लागि राष्ट्रि युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे र युवा संघको सुनसरी जिल्ला कमिटीको अगुवाईमा संकलन भएको राहत रकम युवा संघ ताप्लेजुङमार्फत पहिरो प्रभावितलाई बितरण गरिने युवा संघ ताप्लेजुङका इञ्चार्ज गोपाल न्यौपानेले जानकारी दिए । गत जेठ अन्तिम साता देखि असारको पहिलो साता सम्म परेको बर्षा र त्यसपछिको बाढी पहिरोबाट ताप्लेजुङका अधिकाँस क्षेत्रमा प्रभाव पारेको छ। सिदिङ्वा गाउँपालिकामा मात्रै ३ जनाको मृत्यु भएको छ भने एकाघरका ३ जना अझै बेपत्ता छन्। 

प्रकाशित: १४ श्रावण २०८० ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App