२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको संख्या बढ्दो रहेको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांक अनुसार जिल्लामा डुबेर मृत्यु हुनेको संख्या दुई सय २८ रहेको छ। यसमा एक सय  ७४ पुरुष र ५४ महिला छन्। डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका अन्तर्गत छन्। तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१,  तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ।

यसैगरी बबईका नौ, दंगीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँचपाँच, बंगलाचुलीका तीन तथा  जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आव २०७९/८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ। आव २०७८/७९ मा ६३ जना, आव २०७७/७८ मा ५५, आव २०७६/७७ मा ३७ र आव २०७५/७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्यांक छ।

डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना छन्। प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका बताए। घोराही-९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बंगलाचुली गाउँपालिका वडा नं.७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये अधिकांश लापर्वाहीका कारण भएको जनाएको छ। पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए।

‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर अधिकांश डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापर्वाहीका कारण भएको देखिएको छ, उनले भने, ‘पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दा जान्दै केही हुँदैन भनेर आफैंले ज्यान गुमाएको अवस्था छ।’

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए। साथीहरूको लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएका छन्।

उनले भने,‘डुबेर अकालमा ज्यान गुमाउने युवाको संख्या जिल्लामा धेरै छ। युवा जोश देखाउँदै लापर्वाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन्।’ खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ।

प्रकाशित: १० श्रावण २०८० ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App