२६ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

इटहरीमा सिटी सफारी चालकद्वारा यातायात कार्यालय घेराउ

बिना बिमा सिटी सफारी नवीकरण गर्न माग राख्दै मंगलबार यातायात व्यवस्था कार्यालय कोशी प्रदेश इटहरी परिसरमा प्रदर्शन गरिएको छ।

सिटी सफारी चालक तथा व्यवसायीद्वारा यातायात कार्यालय परिसरमा चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरुले बिमा कम्पनीलाई पोसाउने काम बन्द गर्न माग राखेका थिए। प्रदर्शनका कारण केही बेर यातायात कार्यालय परिसरमा तनाव सिर्जना हुन पुग्यो।

कानुन अनुसार सिटी सफारी नवीकरण गर्न बिमा अनिवार्य छ, चालक अनुमति पत्र नभएको खण्डमा सवारी चलाउन अनुमति छैन। तर सिटी सफारीको हकमा भने चालक अनुमति पत्र नभएकाहरुले पनि सफारी चलाउन पाउँछन्।

सफारीको नवीकरण गर्दा अनिवार्य बिमाको नियम भएकाले उनीहरु बिमा पनि गर्छन् तर परि आएको खण्डमा बिमामा हकदावी भने गर्न पाउँदैनन्। साथै बिमा रकममा असमानता र रकमको १३ प्रतिशत मात्रै सरकारलाई जाने र हकदाबी नलाग्ने गरी बाँकी रकम भने बिमा कम्पनीको पोल्टोमा जाने नीतिका कारण आफूहरु मार्कामा परेको अखिल नेपाल यातायात मजदुर संघका कुमार तामाङ बताउँछन्।

यातायात कार्यालय घेराउ पछि एक साताभित्रमा नीतिगत निर्णयमा सुधार गर्न पहल गर्ने यातायात व्यवस्था कार्यालय कोशी प्रदेशका प्रमुख राजकुमार गुप्ताले आश्वासन दिएपछि घेराउ स्थगित भएको हो।

‘आशा गरौँ, एक साताभित्रमा हाम्रा माग पुरा हुनेछन्, नत्र फेरि आन्दोलन चर्काउनेछौ,’ एकीकृत टेड्र युनियन महासंघ केन्द्रीय कमिटी सदस्य सरिता कार्कीले भनिन्।

अखिल नेपाल ट्रेड युनियन कोशी प्रदेशका अध्यक्ष टीका प्रसाईँले  आवश्यकता भन्दा ज्यादा सिटी सफारीको आयात गर्ने तर नीति निमार्णमा ध्यान नदिनाले वर्तमानमा समस्या निम्तिएको बताए। 

‘न्यून आय भएका र पूर्ण साक्षर नभएका चालकले सफारी चलाउने हुँदा यसका लागि विशेष व्यवस्था गरेर लाइसेन्स वितरण गर्नुपर्छ,’ उनले भने।

यातायात व्यवस्था कार्यालय कोशी प्रदेशले भने कानुनभन्दा तलमाथि केही गर्न नमिल्ने जनाएको छ। बिमाको विषय आफ्नो क्षेत्राधिकारको विषय नभएको साथै राजश्व पनि आफूलाई नआउने भएका कारण समस्या समाधानका लागि मन्त्रालयमा कुरा राख्न बाहेक केही गर्न नसक्ने कार्यालय प्रमुख गुप्ता बताउँछन्।

‘बिमा नगरीकन सिटी सफारी दर्ता गर्न मिल्दैन, अब उनीहरु बिना बिमा पनि दर्ता गर्नुपर्छ भन्छन्, त्यो त माग नै भएन,’ उनले भने, ‘ऐन–कानुन विपरीत त चल्न भएन नि ?’ कोशी प्रदेशमा २० हजार हाराहारी सिटी सफारी रहेको यातायात कार्यालयले जनाएको छ।

इटहरी वडा नं. ४ मा रहेको यातायात व्यवस्था कार्यालय कोशी प्रदेशमा सिटी सफारी चालक र व्यवसायीद्वारा बिमा बिनै नवीकरण गर्न माग राखेर प्रदर्शन गदै। तस्बिरः नागरिक

प्रकाशित: २ श्रावण २०८० ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App