२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नयाँ प्रविधिको प्रयोग: इटाभट्टामा धुवाँ सेतो, इटा रातो

इटाभट्टाबाट ‘कालो’ धुवाँको मुस्लो उडिरहेको देखिरहेका हामीलाई सेतो धुवाँ मात्रै फाल्ने इटाभट्टा पनि हुन्छ भन्दा पत्यार नलाग्न सक्छ। पोखरा इको रेड व्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इटाभट्टाबाट भने सेतो धुवाँ मात्रै फालेको देखिन्छ।

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन भएका कारण यसले अन्य परम्परागत इटाभट्टाले जस्तो कालो धुवाँ फाल्दैन।

नेपाल इटा उद्योग व्यवसायी महासंघको तथ्यांक अनुसार देशभर एक हजार दुई सयको हाराहारीमा इटाभट्टाहरू छन्। ती सबै इटाभट्टाहरू भन्दा पोखरा इको रेड ब्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इटाभट्टा आधुनिक हो।

पोखरा इको रेड ब्रिक्स प्रालिका टेक्निकल इन्जिनियर कृष्णभक्त दुवालका अनुसार यो इटाभट्टाबाट कहिले पनि कालो धुवाँ निस्कँदैन। ‘यो भट्टाले धुवाँ सेतो इटा चाहिँ रातो निकाल्छ, उनले नागरिकसँंग भने।

उनका अनुसार यस्ता आधुनिक इटाभट्टामा एक हजारदेखि एक हजार एक सय डिग्री सेल्सियसमा होम म्यान क्लिनभित्र पोलेर इटा पकाइन्छ। यही कारण यसका इटा रातो हुने गर्दछन् तर धुवाँ भने सेतो मात्रै अर्थात् प्रदूषणविहीन धुवाँ मात्रै फाल्छ। रातो इटालाई गुणस्तरीय इटा मानिन्छ। बताइए अनुसार यो प्रविधिबाट इटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्दछ। मेसिनले इटा पार्नेदेखि इटा निकाल्नेसम्मको सबै काम गर्छ। अन्य इटाभट्टाहरूमा इटा पार्ने काम मानिसबाट हुने गर्दछ।

यो प्रविधिबाट इटा उत्पादन गर्दा हरेक समयमा कारखाना सञ्चालन गर्न मिल्छ। इटा घाममा राखेर नभई आफैं सुक्ने गरी बनाइने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इटा बनाउन सकिने भएको हो।

अन्य सामान्य इटाभट्टाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्दछ। प्रत्येक वर्ष मंसिरमा सुरु भई वैशाख महिनामा उद्योग बन्द हुने गर्दछ। जेठ असारदेखि पानी पर्न थाल्ने  भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्दछन्।

पोखरा इको रेड ब्रिक्स प्रालिले भक्तपुरको जगातीस्थित भक्तपुर इटा तथा टायल उद्योग प्रालिले जस्तै १२ महिना नै सञ्चालन गर्न सकिने उद्योग हो। नेपालमा पहिलादेखि चल्दै आएका दुई वटा चाइनिज इटा उद्योग थिए, भक्तपुर जगातीस्थित भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग। तीमध्ये अहिले ललितपुरको हरिसिद्धिस्थित इटा तथा टायल उद्योग बन्द भइसकेको छ। यता भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ। चाइनिज प्रविधिबाट भक्तपुरमा चाइनिज इटा उत्पादन हुँंदै आए पनि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएर यस्तो इटाभट्टा सञ्चालन हुन नसकेको बताइएको छ।

बंगलादेशी विज्ञलाई झिकाएर निकै समयदेखि काम गराइ यस्तो आधुनिक उद्योग सञ्चालन गर्न सफल भएको कम्पनीले जनाएको छ। अटोमेटिक मेसिन मेड क्लिन ब्रिक्स (इटा) विज्ञलाई काम गराइ यस्तो प्रविधि भिœयाउन सफल भएको कम्पनीको भनाइ छ।

इटाभट्टाका कारण वातावरण प्रदूषण बढेको चर्काे आलोचना सबैतिरबाट भइरहेको छ। यही आलोचना थेग्न इटा उद्योगीहरूले यो वर्ष ढिलो गरी अर्थात् माघ १ गतेदेखि मात्रै इटाभट्टामा फायरिङ (इटाभट्टामा इटा पोल्न आगो लगाउने काम) गर्ने भएको नेपाल इटाभट्टा व्यवसायी महासंघका सदस्य एवं भक्तपुर इटाभटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले जनाए।

पुस माघ महिनामा काठमाडौं उपत्यमा हुस्सु आउने र तराईमा शीतलहर चल्ने भएकाले यो वेला इटाभट्टाबाट निस्कने धुवाँले बढी प्रदूषण हुने भन्दै उद्योगीहरूले यो वर्ष पहिलाका वर्षहरूमा भन्दा एक–दुई महिना पछाडि मात्रै अर्थात् हुस्सु र शीतलहर कम हुने समय माघदेखि मात्रै फायरिङ गर्ने निर्णय गरेको ह्योम्बाले जनाए। तथापि नेपाल सरकारले भने फागुन महिनामा मात्रै फायरिङ गर्न अनुरोध गरेको थियो।

प्रकाशित: २६ पुस २०८१ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App