१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पोखरा–मुग्लिन राजमार्गः दुर्लभ चराको उठिवास

बिस्तारको क्रममा रहेको पोखरा–मुग्लिन सडक खण्ड। फाइल तस्बिरः नागरिक

एशियाली विकास बैंकको ऋण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन अन्तर्गत पोखरादेखि आँबुखैरेनीसम्म (८२ किलोमिटर) खडक खण्ड चक्ल्याउने काम शुरु भईसकेको छ। त्यसका लागि राजमार्गको सडक खण्डभित्र पर्ने रुखविरुवा हटाई चक्ल्याउन थालिएको छ। अहिले बिस्तारको काम भईरहेको छ। सडक विस्तारको कामले चरा चुरुंगीको बासस्थान भने प्रभावित बनाएको छ।  

जैविक विविधतामा नेपालको एउटा मुख्य भुगोल चितवन–अन्नपुर्ण परिदृश्य अवस्थित पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्ड र त्यस आसपासको क्षेत्र लोपोन्मुख तथा विश्वमै दुर्लभ गिद्ध र अन्य सिकारी चराको महत्वपूर्ण बासस्थान तथा विचरण क्षेत्रको रुपमा रहेको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए। यो क्षेत्र बसाईसराई गर्ने चराको विश्वमै परिचित मध्य एशियाली उडानमार्ग समेत रहेको उनले बताए।  

समाजले सडक विस्तारको काम अघि र सडक विस्तारको क्रममै यो क्षेत्रको चराचुरुंगीको अवस्थाको बारेमा अध्ययन गरेको थियो। २०७९ पुसदेखि २०८० जेठ महिनासम्म अध्ययन गरिएको थियो। जाडो याममा गुँड बनाउने र त्यस समयमा बसाइसरि आउने चरा र गर्मी याममा गुँड बनाउने तथा बसाइसरेर आउने चराहरुका प्रजाती, तिनको संख्या, संरक्षण अवस्था र ती चाराको मुख्य बासस्थान तथा विचरण क्षेत्रको पहिचान गर्नु अध्ययनको मुख्य लक्ष्य रहेको उनको भनाई थियो।  

सडक खण्ड र आसपासका करिव २ किलोमिटर क्षेत्र समेतलाई समेटी महत्वपूर्ण बासस्थान क्षेत्र, फोहर फाल्ने स्थान, गौशाला र गिद्ध संरक्षण केन्द्रका साथै सडकमा प्रत्येक पाँच किलोमिटरको दुरीमा कम्तीमा ३० मिनेट बसेर र पुरै सडक खण्डमा बिस्तारै पैदल तथा गाडीमा (गाडीको गती २० किलोमिटर प्रतिघण्टा भन्दा कम) हिडेर अध्ययन गरी प्रतिवेदन तयार पारिएको उनको भनाई थियो। 

मुग्लिन–पोखरा सडक स्तरोन्नति क्षेत्रमा गरिएको अध्ययनको क्रममा कुल १६९ प्रजातीका चरा ८ हजार ७ सय ६४ को संख्यामा अभिलेख गरियो। ती मध्ये आवासीय प्रजाती ११० थिए। ‘बसाईसरार्ई गरी आउने ५९ प्रजातीका थिए,’ उनले पोखरामा आयोजित कार्यक्रममा तथ्यांकसहित आफनो अध्ययन प्रतिवेदन सुनाए। जाडोयाममा गरिएको सर्वेक्षणमा १३७ प्रजातिका चराहरु अभिलेख गरिएको थियो। अभिलेख गरिएको मध्ये सात प्रजातिका चरा विश्वमै दुर्लभ प्रजातिका थिए। विश्वमै दुर्लभ प्रजातिका अति संकटापन्न अवस्थामा सानो खैरो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध र बगाले बगेडी छन्।

संकटापन्न अवस्थाका सेतो गिद्ध र गोमायु महाचील थिए। संवेदनशिल अवस्थाको हिउँदे आगन्तुक कैलो टाउके हाँस पनि अभिलेख गरिएको उनले सुनाए।  गर्मीयाममा गरिएको सर्वेक्षणमा १२१ प्रजातिका चराहरुको अभिलेख संकलन भएको थियो। ६ प्रजातिका चराहरु विश्वमै दुर्लभ प्रजातिका थिए। राष्ट्रिय रुपमा संकटापन्न १३ प्रजातिका साथै २४ प्रजातिका क्षेत्र सीमित प्रजाति अभिलेख भएका थिए।  

नेपालमा अभिलेख भएका नौ प्रजातीका गिद्ध मध्ये सात प्रजातीका गिद्ध उक्त क्षेत्रमा पाईने तथ्यांक छ।  प्रजनन् गर्ने चार प्रजातिका गिद्धका गुँडहरुको खोज तथा अनुगमन पनि गरिएको उनले बताए। तनहँुका दुई स्थानमा रहेका छाडा पशुचौपाया व्यवस्थापन र गिद्ध संरक्षण स्थल र कास्कीको घाँचोकमा रहेको ‘जटायु रेष्टुरेन्ट’ क्षेत्रमा पनि अध्ययन तथा अनुगमन गरिएको पोखरा पंक्षी समाजले जनाएको छ। अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रमा पर्ने पोखराका नौ तालहरुमा पनि चरा सर्वेक्षण गर्नुका साथै स्थानीयसँग छलफल गरिएको थियो।  

अध्ययनले तनहँुको मस्र्याङ्दी जल विद्युत परियोजनाको जलाशय क्षेत्र, डुम्रे नजिकैका सिमलका रुख र मस्र्याङ्दी नदी क्षेत्र, शिशुवा भतेरीको गौरक्षा केन्द्र, दमौली पुल क्षेत्र चराको लागि महत्वपूर्ण क्षेत्रको रुपमा पहिचान गरिएको छ। तनहँु शुक्लागण्डकीको गाछेपानी देखि पोखरा कास्कीको बिजयपुर खोलासम्मको सडक आसपासको क्षेत्र दुर्लभ गिद्धको महत्वपूर्ण बासस्थान र विचरण क्षेत्र भएको अध्ययनको निष्कर्ष छ। सडक स्तरोन्नतिको बेला र सडक सञ्चालनका क्रममा सावधानी अपनाउनु पर्नेमा जोड पंक्षी समाजको छ। रुखहरु ढाल्नु भन्दा पहिले अनुगमन गर्नुका साथै चराको प्रजनन समय भन्दा बाहिरको समयमा काटनुपर्नेमा जोड दिइएको छ।  

पोखरा पंक्षी समाजले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ८९२ भन्दा बढी प्रजातिका चराहरु पाईन्छन्। नेपालमा विश्वमा पाइने चराका प्रजातिमा भने करिव ९ प्रतिशत हिस्सा ओगट्छ। यसले नेपालको उच्च जैविक विविधताको पुष्टि गर्ने पोखरा पंक्षी समाजका अध्यक्ष घिमिरेको भनाई थियो। उनका अनुसार खासगर नेपाल वर्षभरी नै यहि बस्ने आवासीय प्रजातिका साथसाथै मौसम अनुसार बसाईसराई गरी आउने चराहरुको पनि उत्तम आश्रयस्थल हो।

हिउँद याममा जाडो छल्न वर्षेनी करीव १ सय ५० प्रजातिका चराहरु उत्तरी मुलुकहरु रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउछन। यसैगरी करिव ५० प्रजातिका वटुवा चराहरु जाडो याममा नै नेपालको बाटो हुदै दक्षिणाी मुलुक भारत, पाकिस्तान र श्रीलङ्का जाने गर्दछन। जाडो सकिदै गर्दा दक्षिणी मुलुकहरु र अफ्रिकासम्म बाट ६२ प्रजातीका ग्रिष्मकालीन आगन्तुक चराहरु बच्चा कोरल्न नेपाल आईसकेका हुन्छन।

 यी चराहरु असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन । ग्रीष्मकालीन आगन्तुक चराहरुको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भुमी हुन। यसरी नेपालमा हिउदँमा आउने हिउँदे आगन्तुक र बसन्त ऋतुको आगमनसगैं आउने ग्रीष्मकालीन आगन्तुक गरी पाहुना चराहरुको आउने र जाने क्रम वर्षभरी नै निरन्तर चलिरहन्छ।  

नेपालबाट हाल सम्म सात प्रजातिका चराहरु लोप भैसकेका छन् भने १७३ प्रजातिका चराहरु राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा छन्। विश्वमै दुर्लभ मानिएका ४२ प्रजातिका चराहरु नेपालमा पाईन्छन् । नेपालमा बासस्थान विनाशले नै ८६ प्रतिशत चराहरु संकटापन्न अवस्थामा पुगेका छन् जसले नेपालको बिग्रदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरुको ह्रासलाई जनाउँछ। तर पछिल्ला दशकहरुमा खासगरी मानवीय क्रियाकलापहरुको परिणाम स्वरुप बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नास, अवैध चरा शिकार तथा व्यापार, वातावरण अमैत्री ठुला भौतिक संरचना निर्माण बदलिदो तापमान र मौसम परिवर्तन जस्ता कारणहरुले थुप्रै प्रजातिका चराहरुले संकट झेलिरहेका छन्।  

प्रकाशित: १ श्रावण २०८० ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App